माइक्रोबसमा देखिएको परदेशीका प्रेम

सन्जिता देवकोटा

पहिलोपटक म एक्लै लामो यात्रामा निस्केको थिएँ । परदेशीका अनुभव बटुल्न काठमाडौंबाट सुनसरी निस्कँदै गर्दा उत्साहित पनि थिएँ ।‘ल है ४३८९ आइपुग्यो । पुलमुनी छ, छिटोछिटो गएर चढिहाल्नुस है’  ४३८९ नम्बरको माइक्रोबसका सहचालक परैबाट चिच्याउँदै साकिरा माइक्रोबसको काउन्टरमा आए । 

अघिल्लो दिन टिकट काट्न जाँदा ६ बजे नै कोटेश्वर आइपुग्नु भनेका थिए । त्यसैले म बिहानको ६ नबज्दै कोटेश्वर पुगेर त्यही ४३८९ नम्बरको माइक्रोबस कुरिरहेको थिएँ । झण्डै डेढ घण्टा कुर्नुपर्दा मलाई दिक्क लागिसकेको थियो । कुरा गर्ने पनि पनि कोही थिएनन् । 

कोटेश्वरबाट माइक्रो ग्वार्कोतर लाग्यो । बालकुमारी पुलमा रोकियो । पुलमा तीनजना युवा र दुईजना युवती उभिइरहेका थिए । उनीहरु पनि सायद म जस्तै बिहान ६ बजेदेखि माइक्रोबस कुरिरहेका थिए । 

उनीहरु सबैको हातमा एक एकवटा सुटकेस थिए । चालक र सहचालकले बल्लबल्ल उचालेर त्यसलाई छतमा मिलाए । गाडी कोटेश्वरबाट पूर्व लाग्यो । माइक्रोबसको एक नम्बरको सिट थियो मेरो । नजिकैको सिटमा ती युवाहरु थिए । उनीहरुसँगै उभिएका दुईजना युवतीको सिट त्यसको लगत्तै पछाडिको परेछ । गाडी गुडेपछि उनीहरु गफिन थाले ।

तीनमध्येका एक युवा बोले, ‘कान्छी तिमी त्यता म यता ।’ सँगैका अर्को युवाले थपे, ‘तिमीलाई छाडेर विदेश जान पनि मन थिएन, अहिलेपनि पछाडिको सिटमा राख्न कहाँ मन छ र ?’ तेस्रोले प्याच्च उनी बोले, ‛काखैमा राखन त । कसले रोकेको छ र ?’

बसमा अरु यात्रु नभएको झैं गरी उनीहरु आफ्नै सुरमा गफ गर्न थाले । उनीहरुको कुरा सुन्दा थाहा भयो, तीन जना युवा कुवेतको एउटै कम्पनीका काम गर्दा रहेछन् । उनीहरु कुवेत गएको झण्डै वर्ष दिन पुग्न लागेछ । कम्पनीसँग छुट्टि मिलाएर नेपाल आएका रहेछन् । अनि पछाडि सिटमा बसेका दुई युवती चाहिँ उनीहरु मध्ये दुईजनाका प्रेमिका रहेछन् । 

उनीहरुले  प्रेमिकालाई गाउँ देखाउन लैजाँदै थिए, सायद । युवतीहरु बेलाबेलामा हाम्रो गोरखा यस्तो उस्तो भनेर कुरा गर्थे । उनीहरु गोरखाका रहेछन् भन्ने अन्दाज लगाउन गाह्रो भएन । म र उनीहरु मध्येकै एकजना युवा बेलाबेलामा उनीहरुको कुरा सुनेर मुस्कुराउँथ्यौ। उनीहरु आफ्नै संसारमा रमाएर कुरा गरिरहेका थिए । तर अघिल्लो र पछाडिको सिटबाट गफ गर्न उनीहरुलाई असहज भैरहेको थियो । मलाई पनि उनीहरुको छेउमा बस्न अप्ठेरो लागिरहेको थियो ।

मैले सोचेँ, बरु पछाडि सिटका युवतीसँग बस्ने ठाउँ साट्छु । उनीहरुलाई सँगै बस्न भनें । मेरो कुरा भुईँमा खस्न नपाउँदै पछाडि सिटमा बसेका युवतीहरु उठेर अगाडि आए । मेरै छेउका एक परदेशी पनि म सँगै पछाडिको सिटको आए । अब माइक्रोको सिट नम्बर १, २, ३ र ४ नम्बरमा उनीहरु दुई जोडी भए । स सँगै आफ्नो साथी पनि पछाडिको सिटमा गएपछि दुईजनाले जिस्काए, ‘हाम्रो सँगै तेरो पनि जम्ने भो ।’  उनीहरुको कुराले म रिसाइन । किनकी मलाई उनीहरुको कुरा सुन्नु थियो । 
सुनसरीको इनरुवाका उनीहरु कुवेतमा निर्माणको क्षेत्रमा काम गर्दा रहेछन् । तीनैजना बाल्यकाल देखिका मिल्ने साथी पनि रहेछन् ।  मसँगै रहेका युवालाई सोधें, ‘तपाईंको चाहिँ कान्छी छैनन् ?’

उनले मुस्कुराउँदै भने, ‘मेरो त गाउँकै हुन ।’ अनि फेरि बोले, ‘के गर्नु माया बसेपछि यस्तै हो । परदेशबाट धेरै बोल्न पनि भ्याइनन् । नेपालमै आएको बेला त ....।’
उनको कुरा सुन्दा बुझियो, स्कुलदेखिकी प्रेमिका गाउँमा उनलाई कुरिरहेकी थिइन् । माइक्रो सिन्धुलीको बाटोमा बिस्तारै गुड्दै थियो ।  युवतीसँगै यात्रा गरिरहेका दुई परदेशीलाई गाडीको गतिसँग वास्ता थिएन । तर मेरो छेउको सिटमा बसेका अर्का परदेशी आतुर थिए । उनी गाडी चालकसँग सोधिरहन्थे, ‘दाई बल्ल यहाँ आइपुगियो कतिबेला पुगिएला त ?’ चालकको जवाफ एउटै थियो, ‘साँझ नपर्दै पुगिन्छ भाइ ।’ सप्तकोशी तर्दा घाम डुबिसकेको थियो । फोनबाटै उनीहरुले प्रेमीकालाई बासको व्यवस्था मिलाईदिए । 

उनीहरु सुनसरीको झुम्का भन्ने ठाउँमा ओर्लिए । ‘भोलि बिहान सात बजे है कान्छी,’ प्रेमिकासँग बिदा मागे । बेलुका सात बजे माइक्रो इटहरीको बसपार्कमा रोकियो । म सँगै दुई युवती पनि ओर्लिए । उनीहरु प्रेमीले व्यवस्था गरिदिएको होटलको खोजीमा लागे । म पनि आफ्नो बाटो लागे । 

उनीहरु जस्तै धेरै परदेशीका प्रेमिका पनि यही दिनको प्रतिक्षामा होलान । तर सबैले कहाँ यस्तो अवसर पाउँछन र ? हिजोआज परदेशीले पनि विदेश गएपछि घरकी श्रीमतीको माया मार्ने अनि परदेशीका श्रीमतीले पनि श्रीमान विदेश गएपछि अर्कै सुर कस्ने क्रम बढ्दो छ । 

मलाई परदेशमा उनीहरुले भोगेका सुख, दुःखका कुरा सोध्न मन थियो । तर उनीहरुको यो पललाई बिगार्न मन लागेन । नाम पनि सोधिन । परदेशीका पीडा सुन्न योजना बनाएर हिँडेकी मैले अर्का परदेशीको खुसीलाई अनुभव गर्दै यात्रा गर्न पाएँ । unn.com.np