स्थानीय तहमा कृषक समुह संघ गठन

तेह्रथुम । राष्ट्रिय कृषक समुह महासंघले जिल्लाका कृषक समुहहरुलाई एकिकृत गरी सक्रिय बनाउन पहल थालेको छ । केही महिना अघिमात्रै जिल्लामा गठन भएको महासंघले जिल्लाका सबै स्थानीय तहहरुमा समेत गाउँ तथा नगर महासंघ गठन गरी कृषक समुहहरुलाई सक्रिय बनाउन थालेको हो ।

महासंघमा आवद्ध गराएर किसानका पक्षमा वकालत गर्ने र सम्बन्धित स्थानीय तहहरुलाई किसानमुखी कार्यक्रम सन्चालन गर्न सहयोग पु¥याउने ध्येयले सबै नगरपालिका र गाउँपालिकाहरुमा पालिकास्तरीय महासघ गठन गर्न थालिएको जिल्ला अध्यक्ष पुरुषोत्तम तिम्सीनाले बताउनुभयो ।

शनिबार कृषक समुह, कृषक सहकारी र जलश्रोत समितिका प्रतिनिधिहरुको एक भेलाले म्याङलुङ्ग नगरस्तरीय राष्ट्रिय कृषक समुह संघ गठन गरेको छ । किसान तेजप्रकास आँपागाईको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा विजयप्रसाद सुवेदी, सचिवमा मिना श्रेष्ठ, सहसचिवमा भानुकुमारी बस्नेत र कोषाध्यक्षमा टठबहादुर तिम्सीना रहनुभएको छ ।

यस्तै सदस्यहरुमा डम्बरबहादुर तामाङ, सानु रसाइली, पवित्रा पौडेल, तिलबहादुर श्रेष्ठ, भक्तबहादुर बाँनियाँ र होमकुमारी खापुङ रहनुभएको छ । जिल्लाका अन्य स्थानीय तहरुमा समेत यथासिघ्र किसान समुह संघ गठन गरिने राष्ट्रिय कृषक समुह महासंघ जिल्ला समितिका सचिव अविन्द्र श्रेष्ठले बताउनुभएको खबर गुराँस न्युज डट कममा प्रकाशित छ । जिल्लामा २ नगरपालिका र ४ गाउँपालिकाहरु रहेका छन् ।