यी हुन धेरै नाफा बटुल्ने स्मार्टफोन

काठमाडौँ — बजारमा धेरैथरी स्मार्टफोन छन् । तर, ती सबैले ग्राहकलाई आकर्षित गर्न सक्दैनन् । केही स्मार्टफोन यस्ता छन् जो धेरैको रोजाईमा पर्छन् र यसले निर्माता कम्पनीलाई पनि मालामाल बनाएको छ । कुन मोडलका स्मार्टफोनबाट कम्पनीले बढी नाफा कमाए होलान् ? 

 

सन् २०१७ को पहिलो चार महिनाको कारोबारको आधारमा काउण्टर पार्क नामक अनुसन्धान कम्पनीले तयार गरेको एक रिपोर्टमा भनिएको छ– स्मार्टफोन बजारको कूल नाफाको ९० प्रतिशत १० स्मार्टफोनले कमाए । ती स्मार्टफोन कुनकुन हुन् ?

 

उक्त रिर्पोटअनुसार फोन बेचेरै धेरै नाफा कमाउने कम्पनी एप्पल हो । एप्पलको आइफोन एक्स विश्वको सबैभन्दा बढी नाफा कमाउने फोन हो । यसले स्मार्टफोन उद्योगको कूल नाफाको ३५ प्रतिशत एक्लैले कमाउँछ । सन् २०१७ को पहिलो चौमासिकको प्रतिवेदन बनाइरहदा यो फोन बजारमा आएको दुई महिना मात्र भएको थियो ।

धेरै नाफा कमाउने फोनको दोस्रो नम्बरमा पर्छ–आइफोन एट । यसले विश्व बजारको १९ दशमलव १ प्रतिशत नाफा एक्लौटी कमाउँछ । एप्पलले आइफोन एट, आइफोन एट प्लस र आइफोन एक्स सन् २०१७ मा सँगै बिक्री सुरु भएको हो ।

 

१५ दशमलव २ प्रतिशत हिस्सासहित एप्पलकै आइफोन एट प्लस धेरै नाफा कमाउने फोनको तेस्रो स्थानमा छ ।

 

एप्पलको सन् २०१६ मा सार्वजनिक गरेको आइफोन सेभेन चौथो स्थानमा छ । यो फोनले कूल नाफाको ६ दशमलव २ प्रतिशत हिस्सा ओगटेको छ ।

 

एप्पलको ठूलो डिस्प्ले भएको आइफोन सेभेन र सेभेन प्लस ५ औँ नाफामूलक स्मार्टफोन मोडल हुन् । यी फोनले कूल नाफाको ५ प्रतिशत हिस्सा ओगट्छन् ।

 

छैटौं स्थानमा सामसुङ कम्पनीको नोट एट छ । यसले स्मार्टफोन उद्योगको कूल नाफाको ३ दशमलव ९ प्रतिशत हिस्सा ओगटेको छ ।

सातौं स्थानमा आइफोन सिक्स छ । यो फोनले बजारको कूल नाफाको १ दशमलव ८ प्रतिशत नाफा एक्लैले कमाउँछ ।

 

सामसुङ कम्पनीको एस एट प्लस धेरै नाफा कमाउने स्मार्टफोनको सूचीमा आठौं नम्बरमा छ । यसको नाफा स्मार्टफोन बजारको कूल नाफाको १ दशमलव ७ प्रतिशत छ ।

 

आइफोन सिक्स एस नवौं स्थानमा छ । सन् २०१५ मा सार्वजनिक भएको यो फोनले कूल नाफाको १ दशमलव ६ प्रतिशत हिस्सा ओगटेको छ ।

 

एप्पलको सानो स्क्रिन भएको आइफोन र आइफोन एसई पनि धेरै नाफा कमाउने स्मार्टफोन हुन् । यो सूचीको दशौं स्थानमा छ । यी फोनले बजारको कूल नाफाको शून्य दशमलव ९ प्रतिशत नाफा कमाउँछन् ।