किन जान चाहँदैनन् १६२ स्थानीय तहमा बैंक ?

काठमाडौं, २९ असार । देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा शाखा खोल्न तयार नभएका हुन् ।

७ सय ४४ स्थानीय तहमध्ये हालसम्म ३ सय ३२ मा मात्रै ‘क’ वर्गका बैंक पुगेका छन् । त्यसमध्ये २ सय ५० तहमा बैंकका शाखा खोल्न वाणिज्य बैंकहरू तयार देखिएका छन् ।

तर, बाँकी १ सय ६२ स्थानीय तहमा भने तत्काल वाणिज्य बैंकका शाखा पुर्‍याउन असम्भवप्रायः रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बताए ।

तराई–मधेसमै  बैंक जान चाहेनन्
वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले तयार पारेको सूचीअनुसार बैंकहरू जान नचाहेको स्थानीय तह सबैभन्दा बढी प्रदेश नं। २ मा रहेका छन् । प्रदेश नं। २ का ५५ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू तयार नभएको संघले जनाएको छ । २ मा कुल १ सय २७ स्थानीय तहमध्ये ३७वटामा शाखा पुगिसकेका छन् । बाँकी ९० मध्ये ३५ मा वाणिज्य बैंकहरू शाखा खोल्न तयार छन् । तर, ५५ वटामा भने शाखा खोल्न तयार छैनन् ।

नगरपालिकामै  जान चाहेनन्
क वर्गका बैंक जान नचाहने स्थानीय तहको सूचीमा एउटा नगरपालिकासमेत रहेको छ । धनुषाको विदेह नगरपालिकामा कुनै पनि वाणिज्य बैंक शाखा खोल्न तयार छैनन् । आवश्यक पूर्वाधार नभएको भन्दै उनीहरू त्यहाँ शाखा खोल्न तयार नभएका हुन् । नयाँ पत्रिकामा खबर छ ।