पत्रकारहरुलाई अलैँची, अदुवा, चिया र दुग्ध जन्य उत्पादन समाचार तथा अध्यनको विषय वन्ने

तेह्रथुम, २१ भदौ (5 सेप्टेम्वर २०१७) ।

तेह्रथुमका सन्चारकर्मीहरुले कृषि क्षेत्रसँग सम्बन्धित सवाल र गतिविधिहरु लाई प्राथमिकताका साथ समाचारको विषय वस्तु बनाउने प्रतिवद्धता जनाएका छन् । जिल्लाका स्थानीय तथा राष्ट्रिय सञ्चार गृहमा कार्यरत पत्रकारहरुलाई तेह्रथुमको सदरमुकाम म्याङलुङ्गमा मंगलबार आयोजित तालिम कार्यक्रममा कृषि क्षेत्र र त्यसमा पनि मुख्यतः अलैँची, अदुवा, दुध र चियासँग सम्बन्धित सवालहरु समाचारको विषय वस्तु बनाउने बताए । उक्त्त एक दिने तालिम कार्यक्रम ILO को सहयोगमा संचालित Advocacy for Rights and Good Corporate Governance (UNNATI-Inclusive Growth Programme अन्तरगत समृद्ध तेह्रथुमका लागि अभियान द्धारा संचालित रेडियो तेह्रथुम ९२.४ घाहर्ज तेह्रथुमले आयोजना गरेको थियो ।

जिल्लाको मुख्य उत्पादनको रुपमा रहेको अलैँची, फष्टाउँदै गरेको अदुवा र चिया खेती तथा किसानको दैनिकीसँग जोडिएको दुध र दुग्धजन्य बस्तुको गुणस्तरीय उत्पादन, बजारीकरण र प्रवर्धनका लागि पत्रकारहरुले खोज तथा विश्लेषणात्मक समाचार संकलन र सम्प्रेषण गर्ने बताए ।

कार्यक्रममा सहभागी सन्चारकर्मीले जिल्लाको अर्थतन्त्रमा महत्वपुर्ण हिस्सा राख्ने यी उत्पादनको गुणस्तरीय उत्पादन र बजारीकरणमा ध्यान दिए समृद्धिका आधार बन्न सक्ने बारे सहजिकरण गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले खोज तथा विश्लेषणात्मक पत्रकारिताका बारेमा सहजिकरण गर्नु भएको थियो  ।

खोज पत्रकारिताको महत्व, खोज गर्ने विषयबस्तुको पहिचान, खोज गर्ने तरिका, समाचार संकलन, लेखन लगायत विषयमा कार्यक्रममा छलफल भएको थियो । पत्रकार झाले सहभागी सन्चारकर्मीलाई कृषिजन्य बस्तुहरु नै यहाँको पहिचान भएको बताउँदै ती नै बस्तुहरुको पर्वर्द्धन गरेर जिल्लाको पहिचान बनाउन भूमिका निर्वाह गर्न सुझाब दिनुभयो ।

उहाँले अलैँची, अदुवा, चिया र दुधको उत्पादनको अवस्था, समस्या, किसानका कुरा, मजदुरका कुरा, ती बस्तुको खेती, उत्पादन गर्ने किसानको अवस्था, बजारीकरणका समस्या, राज्यले गरिरहेको वेवास्ता लगायतका बारेका समाचारहरु नआउनु दुःखद भएको बताउनुभयो ।

उहाँले जिल्लाका सन्चार माध्यमलाई त्यस्ता बस्तुहरुको प्रवर्द्धन गरेर जिल्लाकै पहिचानको रुपमा स्थापित गर्न समेत भन्नु भयो । अर्न्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सहयोगमा उन्नति परियोजना अर्न्तर्गत समृद्ध तेह्रथुमका लागि अभियान द्धारा संचालित रेडियो तेह्रथुम ९२.४ मेघाहर्ज को आयोजनामा संचालन भएको उक्त तलिम कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्धव तिम्सीना सहित जिल्लाका ३५ जना सन्चारकर्मीहरु सहभागी थिए ।

आइएलओको सहयोगमा सन्चालित उन्नति परियोजनाले तेह्रथुम सहित पुर्वका सात जिल्लामा अलैँची, अदुवा, चिया र दुधका क्षेत्रमा काम गरिरहेको छ । जिल्लामा अलैँची, अदुवा, चिया र दुग्ध उत्पादनसँग सम्बन्धित  संयुक्त्त रास्ट्र संघीय विश्वव्यापी संन्निकटताका सिद्धान्तका आधारमा सवालहरुको पहिचान गरी व्यवस्थापनको लागि बहस र पैरवी गर्दै समाधानको बाटो खोज्न पत्रकारहरुको भुमिका रहेको र यसको लागि कार्यक्रमले सहकार्य गर्ने समृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम संयोजक लक्ष्मीनारायण मिश्रले बताउनुभयो । कार्यक्रम समृद्ध तेह्रथुमका लागि अभियानका अध्यक्ष महेन्द्रप्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।