तेह्रथुममा बाहिरी जिल्लाबाट कुखुरा आयात गर्न नपाइने

तेह्रथुम, भदौ २७ – तेह्रथुमका बजारमा स्थानीय व्यवसायीले उत्पादन गरेका कुखुरा खपत नभएपछि मासु व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा आयात गर्न नपाउने भएका छन् । 

मासु व्यवसायीले जिल्ला बाहिरबाट कुखुरा ल्याएर बिक्री गर्दा जिल्लामै उत्पादन भएका कुखुरा बाहिरी जिल्ला पठाउनु परेको भन्दै जिल्लाका कुखुरापालक किसानले स्थानीय उत्पादनलाई प्राथमिकता दिन माग गरेका हुन् । 

मंगलबार कुखुरापालक व्यवसायीले इटहरीबाट खरिद गरेर ल्याउँदै गरेका कुखुरा बोकेको गाडी रोकेपछि जिल्ला प्रहरी कार्यालयको संयोजनमा कुखुरापालक किसान र मासु व्यवसायीबिच छलफल भएको हो । छलफलबाट जिल्लामा उत्पादन भएका कुखुरालाई पहिलो प्राथमिकता दिएर किनबेच गर्ने सहमति भएको कुखुरापालक व्यवसायी संघका जिल्ला अध्यक्ष योगेन्द्र गड्तौलाले बताउनुभयो ।

‘जिल्लामै उत्पादित कुखुराले जिल्लाको माग धान्छ, त्यसैले हामीले यहाँ हुर्काएका कुखुरा बाहिर पठाउनु भन्दा यही खपत हुने बनोस् भनेर हामीले यस्तो गरेका हौँ’ अध्यक्ष गड्तौलाले भन्नुभयो । 

मासु व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा ल्याइदिएपछि आफूहरुको उत्पादन खपत नभएको कुखुरापालकहरुको गुनासो छ । कुखुरापालक व्यवसायी संघका अनुसार जिल्लामा अहिले झण्डै दुई हजार बढी कुखुरा किसानका फार्ममा थन्किएका छन् । जिल्लामा जिउँदो कुखुरा किन्दा व्यवसायीले प्रति के.जी २ सय ३० रुपैयाँ तिर्नुपर्छ । बाहिरी जिल्लाबाट कुखुरा ल्याउँदा प्रति केजी २० रुपैयाँ फाइदा हुने भएकाले बाहिरबाट कुखुरा ल्याएको मासु व्यवसायीले बताएका छन् । अहिले तेह्रथुममा फ्रेस मासु प्रति केजी ३ सय ५० रुपैयाँ रहेको छ ।