उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा, चीन र रुसले पनि सहमति जनाए

भदौ २७ – संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ । गएको हप्ता गरेको छैटौं तथा अहिलेसम्मकै ठूलो परमाणु परीक्षणपछि उत्तर कोरियामाथि नयाँ कडा प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्तावमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भएको थियो । अमेरिकाको पहलमा तयार भएको नयाँ प्रतिबन्धको प्रस्तावमा सुरुमा चीन र रुसले सहमति जनाएका थिएनन् । तर अन्ततः चीन र रुसले पनि प्रतिबन्ध प्रस्तावको पक्षमा भोट दिएपछि उत्तर कोरियामाथि प्रतिबन्ध थप कडा पार्ने सम्बन्धी प्रस्ताव १५–० ले पारित भएको हो । नयाँ प्रतिबन्ध अनुसार अब उत्तर कोरियाबाट कोइला, लिड तथा सि फुड निर्यात बन्द गरिने छ । गएको हप्ता प्रस्ताव गरिएको प्रतिबन्ध प्रस्तावका केही कडा प्रावधान हटाएपछि त्यसमा सहमति जुटेको हो । सुरुमा उत्तर कोरियामा इन्धन (तेल) पठाउन बन्द गर्ने तथा नेता किम जोङ–उनको सम्पत्ति फ्रिज गर्ने प्रस्ताव गरिएको थियो । तर चीन र रुसको आपत्तिपछि यसलाई हटाइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियसँग व्यापार गर्दै आएका देशसँग अमेरिकाले व्यावसायिक सम्बन्ध तोड्ने चेतावनी पनि दिनुभएको थियो । उत्तर कोरियाले हाइड्रोजन बमसहितको परमाणु परीक्षण गर्दा कोरिया प्राद्विपमा तनाव बढेको छ । यसले अमेरिकामाथि पनि सुरक्षा खतरा बढेको भन्दै अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध कडा बनाउनु पर्ने बताउँदै अएको थियो ।

परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियाले यसअघि पनि संयुक्त राष्ट्रसंघको प्रतिबन्ध खेप्दै आएको छ । नयाँ प्रतिबन्धले उत्तर कोरियालाई थप समस्या हुने र यसले उसको परमाणु कार्यक्रम रोक्न सहयोग गर्ने विश्लेषण गरिएको छ ।