तेह्रथुममा पत्रकार महासंघको शुभकामना आदानप्रदान

असोज ७, तेह्रथुम । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा दिपावलीको अवसरमा खुला दौड प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

खुला आठ कि.मि. दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका रमेश कार्कीले जित्नुभएको छ । कार्कीले ३० मिनेट १५ सेकेण्डमा ८ कि.मि. दुरी पार गर्नुभयो ।

यस्तै सेनाकै रमेश कुमार ओलीले ३१ मिनेट र छिरिङ तामाङ ३१ मिनेट १५ सेकेण्डमा सो दुरी पार गर्दै क्रमशः द्धितीय र तृतीय हुनुभयो । नेपाल पत्रकार महसंघ तेह्रथुमले वडा दशैँ तथा शुभदिपावलीको अवसरमा आयोजना गरेको प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयले क्रमशः नगद ६ हजार, ४ र २ हजारसहित प्रमाण पत्र प्रदान गरिएको महासंघका सचिव प्रकाश धौलाकोटीले बताउनुभयो ।

म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका  केन्द्रीय सदस्य उद्धव तिम्सीना, जिल्ला विकास समितिका पुर्वसभापति किशोरचन्द्र दुलाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराई, गैरसरकारी संस्था महासंघ तेह्रथुमका अध्यक्ष अनुभूतिबम नेपाली, नेपाल रेडक्रस सोसाइटी तेह्रथुमका अध्यक्ष भूपतिलाल श्रेष्ठ र नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका उपाध्यक्ष भगिश्वर लिम्बुले शुभकामना मन्तव्य राख्नुभयो । शाखाका अध्यक्ष नरेश ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई कोषाध्यक्ष दिपक कट्टेलले स्वागत गर्नुभएको थियो ।

दौड प्रतियोगितामा जिल्लाका ११ जना धावकहरु सहभागी थिए । प्रतियोगिताका लागि प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः म्याङलुङ्ग नगरपालिका, ईन्जिनियर सुरेश तुम्बाहाम्फे र व्यवसायी गोकुल सुवेदीले गर्नुभएको थियो ।