खानेपानीकाे समस्याग्रस्त क्षेत्रमा लिफ्टिङ प्रणालीको खानेपानी योजना निर्माण सुरु

तेह्रथुम, १२ कात्तिक । तेह्रथुमको फेदाप गाउँपालिका–३, साविक जलजले–९ र सिम्ले–५ को देवीथाने टोलका बासिन्दा वर्षाका दिनमा समेत खानेपानीको चरम समस्या भोग्दै आएका छन् । घरमाथि पानीको ठुलो मुहान नहुँदा यहाँका डेढ दर्जन बढी घरधुरीलाई वर्षाका दिनमा समेत खानेपानीको जोहो गर्न घण्टौँ लाग्ने गरेको हो । 


भएका मुहान समेत सुक्दै जान थालेपछि खानेपानीको चरम समस्या भएको पाइपमा पानी थाप्ने पालो कुरिरहेकी स्थानीय यज्ञकुमारी थापाले भनिन् । ‘पानीको मुहान सानो छ, हामी उपभोक्ता करिब १५ घर छौँ, यहाँ माथिका करिब २० घरले त झन् घण्टौँ लगाएर डोकोमै बोकेर खान्छन्,’ उनले श्वास नै नफेरी दुःख सुनाइन् । 


खानेपानीका मुहान सुकेपछि देवीथाने टोलका बासिन्दाले घण्टौँ लगाएर पानीको जोहो गरिरहेका सामाजिक परिचालक सन्जु तुम्बाहाम्फेले जानकारी दिइन् । पिउने पानीका लागि वर्षायाममै पनि घरबाट आधा घण्टाको बाटो धाएर तल झर्नुपर्ने बाध्यता यहाँका बासिन्दालाई छ । त्यहाँ पनि भनेजति पानी थाप्न पाइदैन । कुवामा पानी रुँघेर घण्टौ पर्खनुपर्छ । हिउँदमा झनै दुःख बेहोर्नुपर्छ ।

 
वर्षाका दिनमै पनि स्थानीयबासीले बाटोमा खोपिल्टो खनेर त्यहाँ रसाएको पानीलाई जम्मा गरी लुगा धुने, भाँडा माझ्ने, नुहाउने लगायत काममा प्रयोग गर्ने गरेका छन् । ‘करिब १८ सय मिटरको उचाईमा रहेको यो क्षेत्रमा खानेपानीको चरम समस्या छ,’ एक स्थानीयले भने, ‘कतिपयले त आकाशे पानीलाई जम्मा गरेर पनि पिउने गरेका छन् ।’ पहिले उपभोग गर्दै आएका पानीका मुहान सुकेपछि स्थानीयले यस्तो सास्ती बेहोर्नु परेको हो ।


यहाँका करिब ३५ घरधुरीलाई खानेपानीको बाह्रै महिना समस्या रहेको स्थानीयबासी थापाले बताइन् । ‘वर्षा याममै पनि हामीलाई खानेपानीको चरम समस्या छ, वर्षेनि गाउँ छाडेर जानेहरु बढिरहेका छन्,’ उनले भनिन् । पानी अभावकै कारण गाउँबाट बसाई सर्नेहरु बढेका देउराली सोसाइटीका अध्यक्ष समेत रहेका स्थानीयबासी मोहन भण्डारीले बताए ।


लिफ्टिङ प्रणालीको खानेपानी योजना निर्माण सुरु


स्थानीयबासीको यही खानेपानी समस्यालाई लक्षित गरी गाउँमा खानेपानी आयोजना निर्माणको काम सुरु भएको छ । साविक जलजले–२ स्थित चापाबोटे र पधेँरे मुहानबाट लिफ्टिङ प्रणालीबाट पानी तानेर खानेपानी योजना निर्माण सुरु भएको हो । आगामी माघ मशान्त सम्ममा खानेपानी वितरण गर्ने गरी निर्माण चरणको काम भइरहेको चापाबोटे–पधेँरे खानेपानी आयोजनाका उपाध्यक्ष होम कोइरालाले बताए । आयोजनाबाट साविक जलजले–२, ५ र सिम्ले–५ का बासिन्दालाई लाभ पुग्नेछ । जलजले–९ का १९, २ का ४९ र सिम्ले–५ का ३४ गरी कुल १ सय २ घरधुरीसहित एक विद्यालयलाई समेत लाभ हुने गरी खानेपानी आयोजना निर्माण सुरु भएको प्राविधिक नरबहादुर लिम्बुले बताए । 


भर्टिकल उचाई २ सय ४५ मिटर र सतही रुपमा १ हजार ५० मिटर तल रहेका चापाबोटे र पधेँरे मुहानबाट पानी तानेर टंकीमा जम्मा गरी खानेपानी वितरणका लागि आयोजना निर्माण भइरहेको प्राविधिक लिम्बुले जानकारी दिए । उनका अनुसार दुई वटै मुहानमा ८–८ घन मिटरका पानी जम्मा गर्ने ट्यांकी निर्माण भइरहेको छ । 
पानी तानेर माथि लैजानका लागि दुई ७.५ एचपीका मटर जडान गर्ने तयारी रहेको आयोजनाका उपाध्यक्ष कोइरालाले बताए । ‘आयोजना निर्माणको काम अघि बढेको छ, मंसिर मशान्त सम्ममा रिजर्ब टंकीमा पानी पु¥याउँछौँ, उनले भने, ‘त्यसपछि पाइपमार्फत घर–घरमा मिटर प्रणालीमार्फत पिउनेपानी वितरण हुन्छ ।’ बस्ती भन्दा माथि १२ घन मिटरको पानी जम्मा गर्ने ट्यांकी निर्माण भइरहेको छ । 
आयोजना ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डबोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटी, तेह्रथुमको सहजीकरणमा निर्माण हुन लागेको हो । आयोजनाका लागि फनबोर्डले ५० लाख २ हजार नगद र १४ लाख रुपैयाँ बराबरका आवश्यक सामाग्रीहरु उपलब्ध गराएको देउराली सोसाइटीका अध्यक्ष मोहन भण्डारीले बताए । 


आयोजनाका लागि स्थानीय १ सय २ घरधुरी उपभोक्ताले  प्रति परिवार ३ हजारका दरले ३ लाख बढी रुपैयाँ नगदै जम्मा गरिसकेका छन् । उनीहरुले १५ लाख रुपैयाँ बराबरको श्रमदान समेत गरिरहेका अध्यक्ष भण्डारीले बताए । खानेपानी सुविधा हुने भएपछि स्थानीयबासीहरु हर्षित छन् । उपभोक्ताले प्रति परिवार एक जनाका दरले ४२ दिनसम्म श्रमदान समेत गरिरहेका छन् ।

 
आयोजना निर्माण हुने भएपछि गाउँ छाडेर बसाई जान लागेकाहरु पनि रोकिएका स्थानीय भञ्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज बस्नेतले बताए । ‘विद्यालयमा पनि बालबालिकाले पानीको सुविधा पाउने भए,’ प्रअ बस्नेतले भने, ‘पानी नहुँदा अहिले घरैदेखि पानी बोकेर ल्याउनुपर्छ, शौच गर्न झाडी छिर्नुपर्ने अवस्था छ ।’ 


प्रअ बस्नेतका अनुसार आयोजना बनेपछि यहाँका ६ सय ५४ जनाले घरैमा थापेर शुद्ध पिउने पानी उपभोग गर्न पाउनेछन् । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति फण्डबोर्डको आर्थिक सहयोग तथा देउराली सोसाइटीको सहजीकरणमा जिल्लामा हाल योसहित ७ वटा खानेपानी आयोजनाहरु निर्माण भइरहेका छन् । 


सुख्खाग्रस्त क्षेत्रको खानेपानी समस्या सुल्झाउन स्थानीयको माग बमोजिम मुहानको व्यवस्था गरी खानेपानी योजनाहरु निर्माण भइरहेको सोसाइटीका कार्यक्रम निर्देशक कपिलदेव सिंगकले बताए । उनका अनुसार सुख्खाग्रस्त फेदाप गाउँपालिका–१, सिम्लेमा सापकोटा र साक्चुवा खानेपानी योजनाहरु निर्माण भइरहेका छन् । 


यस्तै हमरजुङमा देउराली खानेपानी योजना, सक्रान्तिमा सोदन खानेपानी योजना, सुदापमा आहालडाँडा खानेपानी योजना र इसिवुमा रिठ्ठे खानेपानी योजनाको निर्माण भइरहेको उनले बताए । सात वटै योजनाहरु सम्पन्न गर्नका लागि कुल ४ करोड १ लाख ४ हजार ४ सय ९६ रुपैयाँ खर्च हुनेछ ।


जसमध्ये फण्डबोर्डको १ करोड ६४ लाख ३७ हजार ७ सय ४१ रुपैयाँ, स्थानीयबासीद्धारा संकलित नगद ४० लाख ६ हजार २ सय ७६ र १ करोड ९६ लाख ६० हजार ४ सय ७८ रुपैयाँ बराबरको श्रमदान रहेको छ । ती आयोजनाहरु निर्माण भएपछि ७ सय ४६ घरधुरीका ३ हजार ८ सय २ जनाले पाइप प्रणालीको शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् ।