कांग्रेसको बहुमत अाउँछ, वाम-गठबन्धनलार्इ प्रतिपक्षीको स्थान सुरक्षित : वाणिज्य मन्त्री विश्वकर्मा

तेह्रथुम । वाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता मिन बिश्वकर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसकै बहुमत आउने र कम्युनिष्ट गठबन्धन बलियो प्रतिपक्षको रुपमा रहने दावी गर्नुभएको छ । मन्त्री विश्वकर्माले तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित चुनावी सभामा सो कुरा बताउनुभएको हो ।

नेता विश्वकर्माले तटस्थ मतदाताहरुको झुकाव काँग्रसमा बढी भएकाले काँग्रेसले बहुमत ल्याउनेमा कुनै शंका नरहेको बताउनुभयो । एउटा अर्को प्रसङमा काँग्रेस नेता बिश्वकर्माले बाम गठबन्धन कुनै चुनौती नभएको बताउँदै काँग्रेस नेतृत्वको सरकारले गरेको कामका आधारमा पनि मतदाताले काँग्रेसलाई रोज्ने दाबी गर्नुभयो । नेता विश्वकर्माले अहिलेको चुनाव लोकतन्त्र या अधिनायकवाद ? भन्ने जनमत संग्रह जस्तै भएको भन्दै नेपाली जनताले ५० वर्षसम्म एकलौटी अतिवादी तानाशाही शासन नभई लोकतान्त्रिक समावेशी सरकार चाहने तर्क गर्नुभयो ।

मन्त्री बिश्वकर्माले नेपालमा समावेशी लोकतन्त्रको परिकल्पना कांग्रेसले गरेको र अहिलेसम्मका सबै परिवर्तनको नेतृत्व, विकासका योजनाको अगुवाई कांग्रेसले गर्दै आएको बताउनुभयो । उहाँले तेह्रथुमबासीलाई फेरि पनि कम्युनिष्टको भ्रममा परेर जिल्लालाई अरु दश वर्ष पछाडि धकेल्नबाट सतर्क हुन आग्रह गर्नुभयो । नेता विश्वकर्माले तेह्रथुमको समृद्धिका लािग कांग्रेसले अहिले उठाएका प्रतिनिधि सभाकी उम्मेदवार युवा नेतृ भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ, प्रदेश सभा–१ मा गोविन्द ढुंगाना र प्रदेश सभा–२ का विजय सम्बाहाम्फेको टिम नै सबैभन्दा सवल, सक्षम र योग्य भएको बताउनुभयो । उहाँले कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराएर पाँच वर्ष परीक्षा गर्न जिल्लाबासीलाई आग्रह गर्नुभयो ।

बृद्धभत्ता : कांग्रेसले बढाएको दावी
नेता विश्वकर्माले सबै सामाजिक सुरक्षा भत्ता वितरण र वृद्धि गर्ने कामको सुरुवात कांग्रेस सरकारले गरेको बताउनुभयो । उहाँले चुनावपछि कांग्रेसको सरकारले वृद्धभत्ता बढाएर पाँच हजार रुपैयाँ पु¥याएको घोषणा गर्नुभयो । उहाँले शेरबहादुर देउवा सरकारले ७० बर्ष उमेर पुगेका नेपाली नागरिकलाई दिने बृद्ध भत्ता दुई सय ५० बनाएको र दलितलाई ६० बर्ष उमेरमा नै बृद्ध भत्ता दिने ब्यवस्था गरेको बताउनुभयो । मन्त्री बिश्वकर्माले काँग्रेस कै सरकारले दलित भत्ता दुई सय पचास बाट पचास बनाएको अनि पचास बाट एक हजार पनि काँग्रेस नेतृत्व कै सरकारले बनाएको स्मरण गराउनुभयो ।

उहाँले सुुशील कोईराला नेतृत्वको सरकारले बृद्ध भत्तालाई मासिक एक हजार यथावत राखेर औषधी उपचार खर्च भनेर मासिक एक हजार थप गरी मासिक दुई हजार बनाएको दाबी गर्नुभयो । नेता विश्वकर्माले केपी ओली सरकारले बृद्ध भत्ता दोब्बर गरेको भनेर भ्रम फैलाएको समेत आरोप लगाउनुभयो । कोईराला सरकारले दिएको औषधी उपचार खर्चलाई नै ओली सरकारले हटाएर भत्तामा थपेर मासिक दुई हजार नै बाँडेको तर प्रचारमा दोब्बर गरेको भनेर भ्रम फैलाएको काँग्रेस नेता बिश्वकर्माले बताउनुभयो ।

उहाँले बाम गठबन्धनलाई प्रश्न गर्दै भन्नुभयो, ‘दोब्बर बनाएकै हो भने त मासिक दुई हजारको ठाउँमा चार हजार दिनुपर्ने हो नि ? किन जनताको हातमा पहिले देखिकै मासिक दुई हजार आइरहेको छ त ? कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उम्मेदवार भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले विकास र समृद्धिका लागि एक पटक नेपाली कांग्रेसलाई मतदान गरी विजयी पाँच वर्ष परीक्षा गर्न आग्रह गर्नुभयो ।

छथर मात्रै नभई समग्र जिल्लाकै विकास र समृद्धिका लागि अहिले पनि आफुले थुप्रै काम गरेको भन्दै नेतृ गुरुङले अबपनि जिल्लाको विकास र समृद्धिका लागि आफु लागिरहने प्रतिवद्धता समेत जनाउनुभयो । राज्यमन्त्री गुरुङले बामपन्थीहरुले ०४६ सालदेखि जिल्लामा निरन्तर शासन गरेको, तर विकास गर्न नसकेको बताउनुभयो । प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले जिल्लाको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार लगायत चौतर्फी क्षेत्रको योजनासहित आफु मतदातामाझ आएको बताउनुभयो । कार्यक्रममा नेता तुलसी सुब्बा, गणेश विमली लगायतले स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार प्राप्तिका लागि पनि कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।