तेह्रथुममा कांग्रेस प्रवेश गर्नेको लहर, तीन सय बढी कांग्रेसमा भित्रिए

तेह्रथुम, १५ मंसिर । तेह्रथुममा बाम–गठबन्धन छाडेर नेपाली कांग्रेस प्रवेश गर्नेको लहर चलेको छ । नयाँ संविधानको कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्न तथा जिल्लाको विकास र समृद्धिका लागि नेपाली कांग्रेसका उम्मेदवारहरु नै उपयुक्त भएको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लहर चलेको हो । पछिल्ला तीन दिनमा तीन सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

दुई दिन अगाडि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सदरमुकाम म्याङलुङमा भएको कार्यक्रममा डेढ सय बढीलाई नेपाली कांग्रेसमा प्रवेश गराउनुभएको थियो । कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाका अनुसार सो दिन लालीगुराँस नगरपालिकाबाट ६७ जना, म्याङलुङ्ग नगरपालिकाबाट ४३ जना, छथर गाउँपालिकाबाट ३५ जना लगायत गरी डेढ सय बढी कांग्रेस प्रवेश गरेका थिए ।

 

उनीहरु मध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका जिल्ला सदस्य सहित छन् । यस्तै संघीय पत्रकार परिषद्का जिल्ला अध्यक्ष वमप्रकाश लिम्बु र किराँत धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङ सहित दर्जनौँ सक्रिय कार्यकर्ताहरु प्रवेश गरेका छन् । यस्तै विहीबार लालीगुराँस नगरपालिकामा भएको कार्यक्रममा पनि एक सय बढी नेता कार्यकर्ताहरु नेकपा एमाले र नेकपा माओवादी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेसकी युवा नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री, तेह्रथुमबाट प्रतिनिधि सभाकी उम्मेदवार सीता गुरुङ र जिल्ला सभापति गोविन्द ढुंगाना केदारले कांग्रेसमा स्वागत गर्नुभएको थियो । उता आठराई गाउँपालिकाका विभिन्न वडाहरुमा पनि प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेले पछिल्ला दुई दिनमा ५० जना बढीलाई नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ ।

जिल्लाबाट पछिल्लो दुई दशकको अवधिमा केन्द्रीय राजनीतिमा पहुँच राख्ने नेतृ सीता गुरुङ मात्रै भएको भन्दै युवा, महिला र लोकतन्त्र प्रेमी नेता कार्यकर्ताहरु धमाधम कांग्रेस प्रवेश गर्न थालेका कांग्रेस पुर्वजिल्ला सदस्य हेमन्त गुरुङले बताउनुभयो ।