उत्तर कोरियाको प्रतिक्रिया : युएनको नयाँ प्रतिबन्ध युद्ध जस्तै

पुस ९ – संयुक्त राष्ट्रसंघ (युएन) ले आफूमाथि लगाएको नयाँ प्रतिबन्ध युद्ध जस्तो रहेको उत्तर कोरियाले बताएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको ब्यालेस्टिक मिसाइल परीक्षणको प्रतिक्रिया स्वरुप संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उसमाथिको प्रतिबन्ध थप कडा बनाउने सम्बन्धी प्रस्ताव शुक्रबार सर्वसम्मत रुपमा पारित गरेको थियो । नयाँ प्रतिबन्धबारे पहिलोपटक प्रक्रिया दिँदै उत्तर कोरियाले यसलाई ‘युद्ध कार्य’ अर्थात ‘एक्ट अफ वार’ भनेको हो । उत्तर कोरियाको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा संयुक्त राष्ट्रसंघले लगाएको प्रतिबन्ध पूर्ण आर्थिक नाकाबन्दी जस्तै रहेको उल्लेख गरिएको छ ।

वक्तव्यमा अमेरिकासँग उत्तर कोरियालाई अवरोध गर्ने यहि एक उपाय मात्रै रहेको उल्लेख गरिएको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । नयाँ प्रतिबन्धले आफ्नो देशको सार्वभौमसत्तामा असर गरेको तथा यसले कोरियाली प्रायद्विप र विश्वमा अशान्ती बढ्ने उत्तर कोरियाको भनाई छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको थियो । अमेरिकाले प्रस्तुत गरेको प्रस्तावको पक्षमा सुरक्षा परिषदका सबै सदस्य राष्ट्र उभिएका हुन् । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियामा हुँदै आएको तेल तथा पेट्रोलिय पदार्थको आयात कम गरिने छ । पेट्रोलको आयात ९० प्रतिशत भन्दा बढीले घटाउने पारित प्रस्तावमा उल्लेख छ ।

उत्तर कोरियाको प्रमुख व्यावसायिक साझेदारको रुपमा रहँदै आएका चीन तथा रुसले पनि प्रस्तावको पक्षमा मत दिएका थिए । ब्यालेस्टिक मिसाइल परीक्षण तथा परमाणु कार्यक्रमका कारण उत्तर कोरियामाथि यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ तथा युरोपेली युनियन (इयु) ले प्रतिबन्ध लगाउँदै आएका थिए । नयाँ प्रतिबन्ध अनुसार तेल तथा पेट्रोलको आयात कम गर्नुका साथै विदेशमा कार्यरत उत्तर कोरियाका कामदारलाई आउँदो दुई वर्ष भित्र स्वदेश फिर्ता पठाउने तथा उत्तर कोरियाली सामानको निर्यात पनि रोक्ने उल्लेख छ ।

स्राेत :http://ujyaaloonline.com/news/90439/North-Korea-New-UN-sanctions-an-act-of-war/