गुफाबजारमा खुल्यो पर्यटन सूचना केन्द्र

पर्यटन प्रवद्र्धनमा स्थानीय युवाको सक्रियता –

प्रकाश धौलाकोटी । 

(गुफाबजार) संखुवासभा । गुराँसको राजधानीको रूपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना लिन सहज हुने गरी संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित टिएमजे क्षेत्रको मुख्य गन्तव्य गुफाबजारमा जिल्लामै पहिलो पर्यटन सूचना केन्द्र खुलेको छ ।

सरकारीस्तरबाटै पर्यटन सूचना केन्द्र सञ्चालन हुनुपर्ने थियो । तर, यतिका समयसम्म पनि सरकारले सूचना केन्द्र स्थापनामा चासो नदेखाएपछि स्थानीय युवाहरू संगठित भएर पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका हुन् । युवाहरूले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्र गठन गरेर सूचना केन्द्र स्थापना गरेका हुन् । एउटै वनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रमा पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धनका साथै अत्यावश्यक सूचना सम्प्रेषणका लागि सूचना केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताए ।

पर्यटकलाई सहज हुने
सूचना केन्द्रबाट टिएमजे क्षेत्रका सबै सूचना उपलब्ध गराउने योजना युवाहरूको छ । अध्यक्ष लिम्बूले भने, ‘अहिले सुरुवातमा हामीसँग सहजै उपलब्ध हुने सूचनालाई व्यवस्थित गरेर राखेका छौँ ।’ सूचना केन्द्र सञ्चालनले व्यवसायी र पर्यटक सबैलाई फाइदा पुग्ने उनले बताए । टिएमजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलको रूपमा रहेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल भ्रमण गर्ने, तमोर नदीमा र्‍याफ्टिङ गर्ने र टिएमजे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्रदान गर्ने मुख्य उद्देश्य रहेको अध्यक्ष लिम्बूले बताए ।

युवाहरूलाई सूचना केन्द्र स्थापनाका लागि नेपाल ग्रामीण पुनर्निर्माण संस्थाले आर्थिक सहयोग गरेको छ । संस्थाको सहयोगमा भवन निर्माण गरी प्रारम्भिक चरणका सूचनालाई व्यवस्थित गरी सूचना केन्द्र सञ्चालनमा ल्याएको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बूले बताए । ‘यो क्षेत्रले गुराँसको राजधानी भनेर संसारमै नाम कमाएको छ । यहाँ आउने पर्यटकलाई सबै सूचना उपलब्ध गराउने हाम्रो उद्देश्य हो,’ सचिव लिम्बूले भने । सूचना केन्द्रमार्फत सूचना प्राप्त हुँदा पर्यटकीय पदमार्गका विभिन्न बजारमा व्यवसाय सञ्चालनका लागि व्यवसायीहरूलाई समेत सहयोग पुग्ने उनको दाबी छ ।

ऐतिहासिक वस्तु समेटिएको संग्रहालय
सूचना केन्द्रसँगै केन्द्रले स्थानीय लोपोन्मुख उत्पादन, सामग्री र टिएमजे क्षेत्रका आकर्षक प्राकृतिक सौन्दर्य एकै ठाउँमा हेर्न मिल्ने गरी संग्रहालयको पनि स्थापना गरेको छ । संग्रहालयमा टिएमजे क्षेत्रमा पाइने सबै प्रकारका गुराँस, सुर्योदयको दृश्य, कञ्चनजंघा र मकालु हिमाल, गुफापोखरी, यहाँका महत्वपूर्ण स्थलहरू, लोपोन्मुख कला–संस्कृति झल्कने तस्बिरहरू, लोक संस्कृतिसँग जोडिएका लोपोन्मुख बाजाहरू, प्रविधिले विस्थापित ढिकी, जाँतो, लेकाली गोठमा प्रयोग हुने काठको हर्पे, डाडु, पन्यु, पेरुंगो, ठेकी, बिनायो, मादल, च्याब्रुङलगायत वस्तु राखिएका छन् ।

केन्द्रलाई अझै व्यवस्थित गर्ने योजना
‘हामी अहिले सुरुवातमा छौँ, सबै चिज एकैपटक संकलन गर्न पनि नसकिने रहेछ,’ केन्द्रका सदस्य योगेश भट्टराईले भने, ‘हामी क्रमशः यसलाई व्यवस्थित गर्ने योजनामा छौँ ।’ केन्द्रसँगै रहेको संग्रहालयको अवलोकनका लागि निश्चित शुल्क लिने र सोही रकममार्फत त्यसलाई भावी दिनमा अझै व्यवस्थित गर्ने युवाहरूको तयारी छ ।

सूचना केन्द्रसँगै एउटा सभाहल पनि निर्माण भएको छ । टिएमजे क्षेत्रका सूचनाहरू र पदमार्गबारे जानकारी लिन चाहने, अध्ययन गर्न चाहने पर्यटकलाई बसेर अध्ययन तथा तालिम सञ्चालनका लागि सहज हुने गरी सभाहलको समेत निर्माण गरिएको केन्द्रका सचिव लिम्बूले बताए ।

टिएमजे क्षेत्रका सूचनालाई व्यवस्थित गर्न स्थानीय युवा आफैँ संगठित भएकाले नगरपालिकामार्फत सहयोग पुर्‍याउने सोच आफूले बनाएको चैनपुर नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताए । ‘सरकारी तवरबाट गर्न ढिलाइ भएको थियो, युवाहरूको अग्रसरतामा सूचना केन्द्र स्थापना भएको छ,’ उनले भने, ‘अब यसलाई थप व्यवस्थित गर्न म वडा कार्यालय र नगरपालिकाबाट सहयोग पुर्‍याउने भूमिका खेल्छु ।’ उनले सूचना केन्द्रले पर्यटकलाई टिएमजे क्षेत्रको भ्रमण तथा अवलोकनका लागि उत्प्रेरित गरेको बताए ।

गुराँस फुल्ने सिजनमा पर्यटकको भिड
यो क्षेत्रमा विशेषगरी गुराँस फुल्ने सिजनमा पर्यटकको भिड लाग्छ । हिउँदका दिनमा तमोरमा र्‍याफ्टिङ गर्दै आएका पर्यटक टिएमजे क्षेत्र हुँदै कञ्चनजंघा र मकालु हिमाल तथा ताप्लेजुङको पाथीभरा दर्शन गरेर फिर्ने पनि प्रशस्तै हुन्छन् । केही वर्षयता तीनजुरे मिल्के क्षेत्रका उच्च पहाडी लेकाली जनजीवन र डाँडाकाँडा तथा प्राकृतिक पोखरीहरूमा रमाउनका लागि आउने पर्यटकको संख्या पनि थपिँदो छ । यो वर्ष तीनजुरेका डाँडाकाँडा र मिल्केनजिकका गुफापोखरी, गुफाबजार, सुकेबजार, जोरपोखरी क्षेत्रमा पर्यटकको विशेष घुइँचो देखिएको छ ।

विशेषगरी, आन्तरिक पर्यटक प्राकृतिक पोखरी र दृश्यमा रमाउन तथा मेन्छ्यायेम डाँडाबाट सूर्योदयको दृश्य हेर्न आउने क्रम बढिरहेको स्थानीय गुफापोखरी आधारभूत विद्यालयकी प्रधानाध्यापक हिमा खनालले बताइन् । पूर्वी तराईका सहर धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोडलगायतबाट पिकनिकका लागि र पर्यावरणीय सौन्दर्य अवलोकनका लागि जानेको संख्या पनि बढेको छ ।

नयाँ पत्रिका दैनिकबाट ।