​म्यासेन्जर, भाइबर र ह्वाट्स एपबाट ६ अर्ब घाटा

काठमाडौं । ईन्टरनेट डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ ।  निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा नोक्सानी पुर्याएको हो । गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तराष्ट्रिय कलवापतको आम्दानी करिब छ अर्ब बढी रुपियाँले घटेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । 
सरकारी लगानीको नेपाल टेलिकमले गत आवमा अन्तराष्ट्रिय कलवापत ९ अर्ब तिन करोड १२ लाख रुपियाँ आम्दानी प्राप्त गरेको बताइएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७२–७३ को तुलनामा २ अर्ब १२ करोड ७५ लाख रुपियाँले कम रहेको छ । सो आवमा कम्पनीले ११ अर्ब ४३ करोड ९५ लाख रुपियाँ यही शीर्षकमा आम्दानी गरेको जनाएको छ । ‘आम्दानी घट्नुको मुख्य कारण ओटीटी रहेको कम्पनीका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए ।
 विश्वव्यापी रुपमै ओटीटीका कारण सेवा प्रदायकले घाटा व्यहोरेको उनले बताए । वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घट्दा पनि अन्तर्रा्ष्ट्रिय कलवापतको आम्दानी केही प्रभावित भएको उनको भनाइ छ । डेटा प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि ओटीटीको प्रयोग पनि बढ्दा अन्तर्रा्ष्ट्रिय कल घटेको उनले बताए । ओटीटीले आम्दानी घटेको देखिए पनि डेटाको प्रयोग बढ्दा कम्पनीको समग्र आम्दानीमा भने तुलनात्मक फरक नपरेको पनि उनले बताए । प्राधिकरणमा कम्पनीले बुझाएको वित्तीय विवरणमा गत आर्थिक वर्षमा कुल आम्दानी ४० अर्ब ३४ करोड ६८ लाख रुपियाँ रहेको थियो । त्यसअघिको आवमा कम्पनीको आम्दानी ४० अर्ब ७० करोड रुपियाँ पुगेको बताइएको छ । 
निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलको अन्तर्रा्ष्ट्रिय कल बापतको आम्दानी पनि व्यापक घटेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७२–७३ मा २१ अर्ब ५१ करोड १० लाख रुपियाँ अन्र्तराष्ट्रिय कलबाट आम्दानी प्राप्त गरेको कम्पनीले गत आवमा यही शीर्षकमा १७ अर्ब ९६ लाख रुपियाँमात्र आम्दानी गरेको जनाएको छ । कम्पनीको कुल आम्दानी गत आवमा ५६ अर्ब ९४ करोड ७१ लाख रुपियाँ पुगेको छ । त्यसको अघिल्लो आवमा यो रकम ५७ अर्ब ७२ करोड ५ लाख रुपियाँ थियो । ओटीटीसहित नेपालबाट विदेश जाने कल शुल्क घट्दा पनि अन्तर्रा्ष्ट्रिय कल घटेको कम्पनीले जनाएको छ ।  
सन् २०१२ देखि २०१८ सम्म ओटीटीका कारण विश्वभरका दूरसञ्चार सेवा प्रदायकले तिन सय ८६ खर्ब रुपियाँभन्दा बढी घाटा व्यहोर्ने लन्डनमा रहेको विश्लेषक कम्पनी ओभुमको एक अध्ययनले देखाएको छ ।