श्रमिक र किसानका समस्या समावेश गर्न सरोकारवालाको सुझाव


रेडियो तेह्रथुम ।

तेह्रथुम, ५ माघ । समृद्ध तेह्रथुमका लागि अभियानद्धारा सन्चालित रेडियो तेह्रथुममा प्रशारण भइरहेका अधिकारमुखी कार्यक्रममा श्रमिक र किसानका समस्याहरु अझै बढी समावेश गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् ।

अन्तराष्ट्रिय श्रम संगठनको सहयोग तथा समृद्ध तेह्रथुमका लागि अभियानको सहजीकरणमा सन्चालित श्रमिक सचेतना कार्यक्रम अन्तर्गत रेडियो तेह्रथुम ९२.४ मेघाहर्जमा दुई वटा सचेतनामुलक कार्यक्रमहरु उन्नति संवाद र मजदुर सरोकार प्रशारित छन् । ती कार्यक्रमहरु साताको विहीबार र शनिबार ७ बजेपछि आधा घण्टासम्म प्रशारण हुने गरेका छन् ।

कार्यक्रमको प्रभाव र विषयवस्तुको बारेमा सुझाव तथा प्रतिक्रियाका लागि गरिएको छलफलमा सहभागी सरोकारवालाहरुले उक्त रेडियो कार्यक्रमहरुलाई नियमित गर्न, कृषि उपजको मुल्य अपडेट गर्न, श्रमिक र किसानका समस्या समावेश गर्न तथा श्रमिकका समस्याहरु उनीहरुकै आवाजमा समावेश गर्न सुझाव दिएका छन् ।

कार्यक्रमले सरोकारवालाले दिएका सुझावहरु बढीभन्दा बढी कार्यान्वयन गरेर जाने कार्यक्रम संयोजक लक्ष्मीनारायण मिश्रले जानकारी दिनुभयो । हाल रेडियोमा प्रशारण भइरहेका अधिकारमुखी रेडियो कार्यक्रमहरु मार्फत श्रम तथा मजदुर अधिकार माथि छलफल गरी सम्बन्धित निकायलाई उत्तरदायी बनाउने गरिएको छ । कार्यक्रम ‘उन्नति संवाद’ मा जिल्लामा नीतिगत तहमा रहेका व्यक्तिहरुसँग संवाद गरिन्छ भने ‘मजदुर सरोकार’ मा श्रमिकहरुको विषयमा छलफल हुने गरेको छ ।