कसले फाल्यो फोहोरको थुप्रोमा तीन महिनाको शिशु ?

सुजता खत्री ।

काठमाडौं । गौशालाको व्यस्त सडक, एकले अर्कोलाई कसरी उछिन्ने भन्दै  गुडिरहेका गाडी । आ–आफ्नै सुरमा हिँडिरहेका मान्छे । काठमाडौं यति धेरै व्यस्त भैसकेको छ कि चिनेका मान्छे पनि नचिने झैँ गरी हिँड्छन् ।  कसैलाई कसैको मतलब नै हुँदैन ।                                                                                 

मर्निङ वाक गर्दै गौशालाको स्तूपालाई फन्को लगाउनेको सङख्या पनि पातलिन पाएको थिएन । गाडीको चर्को आवाजका बीच बाटोको छेउमा थुप्रिएको फोहोरको डंगुरबाट बच्चा रोएको आवाज आयो, च्याँ च्याँ ।

कतिबेला देखि रुँदै थियो त्यो अवोध शिशु कसैलाई थाहा छैन । अझ कसले छोड्यो त्यस्तो हेर्दै माया लाग्दो सानो नानी ? कति बेलादेखि बिहानको सिरेटोमा आमाको न्यानो काखका लागि भौँतारिरहेको थियो होला ? सवारी साधन र मानिसको आवतजावतले व्यस्त सडक छेउमा बच्चा रोएको आवाज कहाँबाट आयो भनेर ठम्याउन धेरै बेर लाग्यो । फोहोरको थुप्रो भएकाले पनि मानिसहरु तर्किएर अलि परबाट हिँड्ने गर्थे ।

स्तुपा अगाडिको फोहोरको थुप्रो नजिकै नाक थुन्दै मानिसहरु खासखुस गर्न थाले ।  बच्चा रोएको आवाज फोहोरको थुप्रोबाट नै आएको पक्का भएपछि गौशाला प्रहरीलाई खबर गरिएको गौशाला प्रहरीले जनाएको छ ।

प्रहरीले फोहोर केलाउँदा फेला परिन् प्लास्टिकको झोलामा पोको पारिएकी बालिका । उनी प्लास्टिकको पोकोमा कसरी आइपुगिन् ? उनको शरीरमा एक धर कपडा थिएन । रुँदारुँदा आवाज बसिसकेको थियो । बिहान साढे सात बजेको समयमा उनी प्लास्टिकको झोलामा कठ्याङ्ग्रिएको अवस्थामा भेटिइन् । प्रहरीका अनुसार पोकोबाट बालिका फेला पर्नासाथ तत्काल काठमाडौं मेडिकल कलेज सिनामंगलमा पुर्‍याइएको थियो । चिकित्सकका अनुसार शिशु दुईदेखि तीन महिनाको बीचकी रहेकी छिन् ।                                                                                                        

यो मात्र यस्तो एउटा घटना होइन । कहिले खोलाको किनारमा त कहिले झाडीमा, कहिले मृत त कहिले जीवितै शिशु भेटिने गरेका घटना पटक-पटक सार्वजनिक हुँदै अाएका छन् ।

बालबालिका खोज तलास केन्द्रले आर्थिक वर्ष २०७४  सुरु भएपछि मात्र ७ जना नवजात शिशुको उद्धार गरिसकेको छ । केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीका अनुसार पछिल्लो वर्षको तुलनामा यो संख्या धेरै हो । अधिकारी भन्नुहुन्छ, ‘आर्थिक वर्ष २०७३/७४ मा केन्द्रले ५० दिनभन्दा साना नवजात शिशु जम्मा तीन जनाको मात्र उद्धार गरेको थियो ।’

घटना यी मात्र होइन, २०७४ सालको भदौ ११ मा कीर्तिपुर र चोभारको सीमा नजिकै मकैबारीमा अन्दाजी ४० दिनको बालक फेला परेको थियो । यसै वर्ष असोज १८ गते काटेश्वरको पुल मुनि फेला परेको बालकलाई ३ घण्टासम्म कोही लिन नआएपछि स्थानीय बासिन्दाले बालबालिका खोजतलास केन्द्रलाई खबर गरेका थिए । यस्तै घटना लुभुको गणेश मन्दिरमा पनि घट्यो, मन्दिरको आडमा ल्याएर कसैले बालिका छोडेर गए ।

कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीका अनुसार यी बालबालिकाको खोजीको लागि अहिलेसम्म कोही पनि आएका छैनन् । उहाँ भन्नुहुन्छ, ‘यी बालबालिका छाड्ने नियतले नै छोडेका हुन्, तीन महिना ननाघेका बालबालिका कसरी हराउन सक्छन् ? यदि हराएका भए पनि किन कोही खोज्न आएनन् ।’ अधिकारीका अनुसार यी शिशुहरुलाई लिंगका आधारमा छोरी भएर भने छोडिएको हैन । अवैधानिक रुपमा जन्मिएकोले लुकाउन खोजिएको हुनसक्छ ।

यसरी बेवारिसे अवस्थामा भेटिएका शिशुहरुलाई खोजतलास केन्द्रले निश्चित पक्रिया पूरा गरेपछि अनाथ आश्रममा पठाउने गर्छ ।

गौशालामा प्लास्टिकमा भेटिएकी बालिका उपचारपछि अहिले खोजतलास केन्द्रमा छिन् । उनलाई स्वास्थ परीक्षणपछि केन्द्रमा ल्याइएको हो । उनी अहिले स्वस्थ छिन् । खोजतलास केन्द्रकै एक कर्मचारीको काखमा न्यानो कपडा टोपीमा लुटपुटिएकी थिइन् । उनलाई स्यार्लेक र दूध पिलाउँदै अधिकारीले  दुई दिनसम्म बालिकालाई लिन कोही नअाए अनाथ आश्रममा पठाइने अधिकारीले बताउनुभयो ।

उज्यालो अनलाइनबाट ।