छथरका स्वास्थ्य संस्था गाउँपालिकालार्इ हस्तान्तरण

तेह्रथुम । जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले आफु मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा धमाधम हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्र बमोजिम जिल्लाका छ वटै स्थानीय तहमा पुगेर सो स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा.मुक्तिनारायण शाहले बताउनुभयो ।

स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसँगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाहरुको कर्मचारी, जिन्सी तथा पुर्वाधारको अवस्था लगायत सम्पुर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको डा. शाहले बताउनुभयो । शुक्रबार छथर गाउँपालिकाका छ वटै स्वास्थ्य चौकीहरु औपचारिक रुपमा छथर गाउँपालिकालाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य प्रमुख डा. शाहले बताउनुभयो ।

स्थानीय तह मातहतमा गएपछि ती स्वास्थ्य संस्थाको औषधी खरिद, कर्मचारीका सेवासुविधा, पुर्वाधार तथा कार्यालय व्यवस्थापन लगायत सम्पुर्ण काम अब स्थानीय तहले नै गर्नेछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य कार्यालय मातहत दुई प्राथमिक स्वास्थ्य केन्द्र, २९ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र छन् ।

स्वास्थ्य कार्यालयले यसअघि लालीगुराँस नगरपालिका र आठराई गाउँपालिकालाई त्यस क्षेत्रका स्वास्थ्य संस्थाहरु हस्तान्तरण गरिसकेको छ ।