धनकुटामा तेश्रो दिन पनि निषेधाज्ञा

धनकुटा । प्रदेश राजधानीको माग राखेर आन्दोलन चर्किएपछि अशान्त बनेको धनकुटा सदरमुकाममा बिहिबार जारी गरिएको निषेधाज्ञा आज तेस्रो दिन पनि जारि रहेको छ । धनकुटा सदरमुकाममा हिजो अपराह्न्नबाट प्राशासनले कफ्र्यू केहि खुकुलो गरे पनि निषेधाज्ञा कायमै राखेको छ । प्रशासनले निषेधाज्ञा खुकुलो गरिएको बताएपनि बजारमा सुरक्षाकर्मी उपस्थिती बढाइएको छ ।

लम्विदो आमहड्ताल र निषेधाज्ञाको दोहोरो मारका कारण धनकुटाको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम धनकुटाका बजार पसल बन्द छन् । आमहड्ताल र निषेधाज्ञाका कारण धनकुटा भएर कोशी पहाडी जिल्लाको यातायात र ढुवानी पनि प्रभावित छ । प्रहरीको उपस्थितीमा यातायात र ढुवानीका साधन गन्तव्य पठाउँने काम भैरहेको स्थानीय प्रशासनले जनाएको छ । जारी तनाव अन्त्य गर्ने बिषयमा हिजो स्थानीय राजनीतिक दल र सुरक्षा निकायबीच छलफल भएपनि कुनै निकास निकास निस्कन सकेको छैन् । धनकुटा प्रशासनले स्थिती सामान्य नभइन्जेल निषेधाज्ञा जारी रहने जनाएको छ ।

उता प्रादेशिक राजधानी धनकुटा संघर्ष समितिले भने शान्तिपूर्ण आन्दोलनमा प्रशासनले दमन गरेको भन्दै बिरोधका थप कार्यक्रम तय गरिएको जनाएको छ । बन्दका कारण कोशी पहाडी जिल्लाहरु तेह्रथुम, संखुवासभा र भोजपुरको समेत जनजीवन प्रभावित हुन थालेको छ । दिनभर बन्द भएपनि राति भने प्रहरीले स्कटिङ गरेर सवारी चलाउने गरिएको व्यवसायीले बताएका छन् । हिजोमात्रै स्कटिङ गरेर ३ सय वटा सवारी गुडाएको धनकुटा प्रहरीले जनाएको छ ।