माघेनी मेला आज सकिदै, पुरुष फुटबलतर्फ जिरिखिम्ती र आम्बुङ फाइनलमा

तेह्रथुम । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङमा चलिरहेको खुला पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा जिरिखिम्ती युवा क्लब रातो र सन्सारी युवा क्लब आम्बुङ भिड्ने भएका छन् । सेमीफाइनलको पहिलो खेलमा जिरीखिम्ती युवा क्लब तेह्रथुम रातोले सल्लेरी युवा क्लब फेदाप–२, ओयाक्जुङलाई ट्राइवेकरमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने संसारी युवा क्लब आम्बुङले आयोजक गौखुरी युवा क्लब बीलाई १–० ले हराउँदै उपाधि होडमा उत्रिएको हो ।

उपाधिका लागि भोलि दिउँसो जिरिखिम्ती र आम्बुङबीच खेल हुने आयोजक गौखुरी युवा क्लबका अध्यक्ष खगेन्द्रमणी सम्बाहाम्फेले बताउनुभयो । यस्तै खुला महिला फुटबल प्रतियोगितातर्फ उपाधिका लागि जुनेला युवा क्लब श्रीजुङ र योङ स्पोटिङ क्लब मादी संखुवासभा भिड्ने भएका छन् । जुनेली श्रीजुङले शनिबार भएको सेमीफाइनलमा सन्सारी क्लब पौठाकलाई २–१ गोलले हराएको थियो भने मादी संखुवासभाले आयोजक गौखुरी युवा क्लबलाई ट्राइवेकरमा हराएको थियो ।

माघे सक्रान्ति पर्वको अवसरमा आयोजित प्रतियोगिता र माघेनी मेला समेत भोलि सकिदैछ । फुटबल प्रतियोगितामा पुरुषतर्फ विजेताले नगद रु. ८० हजार, ३ वर्षे रनिङ्ग ट्रफी तथा उपविजेताले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फ विजेताले नगद २० हजार, ३ वर्षे रनिङ ट्रफी तथा उपविजेताले नगद १० हजार सहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ ।