केपी शर्मा ओली : झापा विद्रोहदेखि दोस्रोपटक प्रधानमन्त्रीसम्मको यात्रा

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार मुलुकको ४१ औं प्रधानमन्त्रीका रुपमा शपथ लिएका छन्। प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल पनि गठन गरेका छन्।

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनका तर्फबाट १ सय ७४ जना सांसदको समर्थन रहेको प्रस्ताव लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, एमालेका माधवकुमार नेपाल, सुवास नेम्बाङ, विष्णु पौडेलसहितका नेता बिहीबार साढे ११ बजे राष्ट्रपति कार्यालय पुगेका थिए। दुवै अध्यक्षको हस्तक्षार रहेको समर्थनपत्र प्राप्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मध्याह्न ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा दुई दलको समर्थनमा बहुमतप्राप्त गरेका ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। २ सय ७५ सदस्यीय संसद्मा वाम गठबन्धनको १ सय ७४ सांसद छन्। सरकार गठनका लागि १ सय ३८ सिट आवश्यक पर्छ।

संविधानको धारा ७६ मा प्रतिनिधिसभामा बहुमतप्राप्त संसदीय दलको नेता, त्यो नभए दुई वा दुई दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। ओली संसद्बाट नभई संविधानअनुरूप राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। यसअघि बिहीबार दिउँसो बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको थियो।

२४ असोज ०७२ मा संसद्‌बाट पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित ओली २ सय ८७ दिन सिंहदरबार बसेका थिए। कांग्रेस र माओवादी केन्द्रले संसद्‌मा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि ९ साउन ०७३ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

मानभवनस्थित एक व्यापारीको घरमा बुधबार बसेको एमाले स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव नेपालले ओलीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए।