पेशागत स्वास्थ्य र सुरक्षाका लागि सचेतीकरण आवश्यक

 

तेह्रथुम, ५ फागुन । चिया क्षेत्रमा पेशाजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी किसानलाई जानकारी नै नभएको पाइएको छ । चिया क्षेत्रमा पेशाजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धी कार्यशालामा सहभागीले किसान, मजदुर, सहकारी तथा उद्यमीहरु र सरोकारवालाहरुले पेशाजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी चेतना नहुँदा सतर्कता अपनाउन नसकिएको बताएका छन् । 

केन्द्रीय चिया सहकारी संघ लिमिटेडले सदरमुकाम म्याङलुङ्गमा शुक्रबार गरेको चिया क्षेत्रमा पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी सुधारका लागि सरोकारवालाहरुको भूमिका सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा सहभागीले चिया क्षेत्रमा उल्लेख्य सम्भावना रहेको भन्दै पेशागत स्वास्थ्य र सुरक्षाका सम्बन्धमा किसानलाई सचेतीकरणसँगै खेती प्रविधिको विकास र विस्तारका लागि सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन् । 

चिया क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुले पेशागत स्वास्थ्य र सुरक्षा सम्बन्धी जानकारी सबै चिया उद्यमी, किसान र मजदुरहरु समक्ष पु¥याउन जरुरी रहेकोमा जोड दिएका हुन् । अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजित सो गोष्ठीमा तेह्रथुम जिल्ला स्थित चियासँग सम्बन्धित सरोकारवालाहरु सहभागी थिए । 

गोष्ठीको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । जिल्ला चिया उत्पादक सहकारी संघका अध्यक्ष शंकर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई चिया क्षेत्रमा हुने पेशागत स्वास्थ्य र सुरक्षाका विज्ञ माधव बिष्टले सहजीकरण गर्नुभयो ।  

चिया क्षेत्रको विकास र विस्तारका लागि उत्पादन, प्रशोधन तथा बजारीकरणका क्षेत्रमा निरन्तर क्रियाशील चिया सहकारी संघले चिया उत्पादन हुने इलाम सहित तेह्रथुम, पाँचथर र धनकुटामा चिया क्षेत्रमा पेशागत स्वास्थ्य र सुरक्षाबारे छलफल गरिरहेको संघका केन्द्रीय महासचिव रविन राईले बताउनुभयो ।