राष्ट्रपतिकाे उम्मेदवारी दर्ता आज, एमालेबाट भण्डारी, कांग्रेसबाट को ?

काठमाडौं, फागुन २३ – संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गर्नुपर्नेछ । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने निर्णय गरेको छ ।

राष्ट्रपतिका लागि पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष झलनाथ खनालले दाबी गरे पनि ठूलो रस्साकस्सीकाबीच स्थायी कमिटी बैठकले भण्डारीलाई नै दोहो¥याउने निर्णय गरेको हो । आगामी फागुन २९ गते राष्ट्रपतिको चुनाव हुनेछ ।

०७२ कात्तिक ११ गते गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएकी भण्डारीले अब ५ वर्ष कार्यभार सम्हाल्नु हुनेछ । पहिलो महिला राष्ट्रपति बन्नु भएकी भण्डारीलाई संघीय नेपालको पनि पहिलो राष्ट्रपति बन्ने अवसर जुर्ने भएको छ ।

राष्ट्रपतिको चुनावमा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुले मतदान गर्नेछन् । यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार उठाउने वा नउठाउने भन्नेबारे छलफल गर्न बुधबार बिहान ९ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । 

कांग्रेसले राष्ट्रपति भण्डारीलाई वाम गठबन्धनले दाहो¥याउने निर्णय गरे उम्मेदवार उठाउने जनाएको थियो । त्यसका लागि नै कांग्रेसले ९ बजे बैठक बोलाएको हो । राष्ट्रपतिमा उम्मेदवारी दिने विषयमा सहमति जुटे नेता मानबहादुर विश्वकर्मालाई उठाउने कांग्रेसको तयारीे छ ।

यद्यपी केही नेताले नजित्ने चुनाव लड्नुभन्दा उम्मेदवारी नदिनु नै राम्रो हुने धारणा राखेका छन् । राष्ट्रपति चुनावमा वाम गठबन्धनको स्पष्ट बहुमत भएकाले भण्डारी नै संघीय नेपालको पहिलो राष्ट्रपति बन्नुहुने पक्काजस्तै छ ।