आजबाट कोशी नदीमा बोट सञ्चालन

चतरा / वराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले वराहक्षेत्रको सप्तकोशी नदीमा व्यवसायिक जेट वोट सञ्चालनमा ल्याउने भएको छ ।चतराका युवा व्यवसायिहरुले सञ्चालनमा ल्याएको उक्त वोट आज (आइतबार) परिक्षण सञ्चालन र भोली (सोमबार) बाट व्यवसायिक रुपमा सञ्चालन प्रारम्भ गर्न लागिएको जेट बोट सञ्चालक सदस्य अमित भगतले जानकारी दिए । परिक्षण सञ्चालनका लागी बोट चतराको जगद्गुरु पीठको पश्चिम कोशी नदी बाट धनकुटाको सिम्ले सम्म पुग्ने बताइएको छ ।

चतराबाट जलमार्ग हुँदै भोजपुर, धनकुटा तथा उदयपुर जिल्लाका विभिन्न स्थानमा आउने जाने यात्रु तथा पर्यटक लाई लक्षित गरि जेट बोट सञ्चालन गर्न लागिएको हो । उक्त बोट ३ करोडको रुपैंया खर्च गरि भारतबाट ल्याईएको सञ्चालक सदस्य लक्ष्मी प्रसाद रेग्मीले बताए ।

बोट सञ्चालनद्वारा बराहक्षेत्रलाई धार्मिक तथा पर्यटकिय क्षत्रमा थप योगदान पुग्ने विश्वास गरिएको छ । साथै उदयपुर, भोजपुर र धनकुटा जिल्लाका विभिन्न घाटहरु मार्फत जलयात्राको सम्भावना लाई बढाउने बताइएको छ । अहिले सञ्चालनमा ल्याइएको बोट ४० यात्रु क्षमताको भएपनि हाल एकपटकमा २५ यात्रुले मात्र यात्रा गर्न पाउनेछन् ।

बोट पहाडी भेगमा ओहोर दोहोर गर्ने यात्रु तथा पर्यटकहरुका लागी सर्वसुलभ वैकल्पिक जल मार्ग हुने बताइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट धनकुटाको सिम्ले सम्म जाने एक मात्र विकल्प पैदल यात्रा उक्त बोट सञ्चालन पश्चात सहज बन्ने सञ्चालकहरुको भनाइ छ ।

बराहक्षेत्रबाट करिब २० किलोमिटर उत्तर रहेको सिम्ले पुग्नको लागि वराहक्षेत्र मन्दिर बाट ४ देखि ५ घण्टाको पैदल यात्रा गनुपर्दछ । बोट सञ्चालन पश्चात उक्त समस्या हट्ने र सिम्ले पुग्नका लागी मात्र १५ मिनेट लाग्ने बताइएको छ ।

जेट बोटका सञ्चालक समितिका अध्यक्ष सन्तोष भण्डारी रहेका छन् भने सञ्चालक तथा शेयर सदस्यहरुमा क्रमशः अमित भगत, लक्ष्मी प्रसाद रेग्मी, हरि श्रेष्ठ, कवि राई, परशुराम राई सहित ८ जना रहेका छन् ।

यस अघि करिव ५ वर्ष अगाडि सुम्निमा जल यातायातले नदीमा जेट बोट सञ्चालनमा ल्याएको थियो । तर उक्त बोट दुर्घटनामा परि १ यात्रु संगै वेपत्ता भएपछि बन्द भएको थियो ।