गुराँसको राजधानी टीएमजेमा एकै पटक ३८ देशका पर्यटक

तेह्रथुम, चैत १३ – तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकैपटक ३८ बढी देशका पर्यटकहरु आएका छन् । गुराँस फुलेर ढकमक्क बन्दै गरेको तीनजुर क्षेत्रमा नेपालकै विभिन्न शहर र भारतसहित विभिन्न ३८ देशका ५ सयभन्दा बढी पर्यटकहरु घुम्नका लागि आएका हुन् ।

 

विश्वमा पाइने ४२ प्रजातिका गुराँसमध्ये एउटै वनमा २८ प्रजातिका पाइने कारणले यो क्षेत्र गुराँसको राजधानीको रुपमा परिचित छ । फागुनदेखि यहाँका डाँडाकाँडा गुराँसले राताम्मे बन्दैछन् । यो वर्ष केही ढिला गरी गुराँस फुल्न थाले पनि तीनजुरेका डाँडापाखा गुराँसले सिँगारिँदैछन् ।

यहाँको सुन्दरतामा रमाउँदै उच्च पहाडी हावापानी र लेकाली जनजीवनमा रमाउन पर्यटकहरु आउने गर्दछन् । संगीत र कलाको पर्वको रुपमा ‘शक्ति पिक फेस्टिभल’ नाम दिइएको कार्यक्रमका लागि ३८ देशका कला र संगीतका पारखीहरु यहाँ आएका मादी नगरपालिका –९ का वडाध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । ‘भारत सहित एसिया, अमेरिका र युरोपका समेत गरी ३८ बढी देशका कलाकारहरु यहाँ आएका छन्, उनीहरु सबै यहाँको प्राकृतिक दृश्य, गुराँस र हावापानीसँगै संगीतमा रमाएर पाँच दिन बिताउँछन्,’ उहाँले भन्नुभयो ।

 

मार्च २३ देखि सुरु भएको शक्ति पिक फेस्टिभल मंगलबार सकिँदैछ । पर्यटकहरु मंगलबारे र गुफाबजारको मध्य भागमा रहेको खुला चौरमा टेण्ट टाँगेर बसेका छन् । चौरमै खाने, बस्ने, सुत्ने र रमाउने प्रबन्ध गरिएको छ । गुफा र सुकेबजारका २० बढी होटलमा अटाएका बाहेक अन्यलाई टेण्टमै सुत्ने व्यवस्था मिलाइएको कार्यक्रमका प्रवन्धक सुवास केसीले बताउनुभयो । पर्यटकहरु रमाउनका लागि प्रयोग भएको संगीतले तीनजुरे घन्किएको छ ।


 
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका र संखुवासभाको मादी नगरपालिकाको सीमा क्षेत्रमा बसेका पर्यटकले यहाँको प्राकृतिक आकर्षणमा रमाएर दिन बिताएका गुफाबजारकी हिमा खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यतिका धेरै पर्यटक एकैपटक धान्ने हामी कहाँ क्षमता छैन, बजारका होटल खचाखच छन्, बाँकी त चौरमै सुतेका छन् ।’ एकैपटक धेरै पर्यटक आउँदा उनीहरुलाई खानेपानी, शौच गर्ने व्यवस्था र अन्य आवश्यक सुविधा उपलब्ध गराउन समस्या भएको उहाँले बताउनुभयो ।

यहाँको आकर्षणबारे विश्वमा प्रचार गरी आगामी दिनमा पर्यटन व्यवसायलाई प्रवर्दन गरी यो क्षेत्रको विकासमा सहयोग पु/याउने कार्यक्रम राखिएको मादी नगरपालिका–९ का वडाध्यक्ष शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले उनीहरुलाई निःशुल्क स्वागत ग¥यौँ, अब आगामी दिनमा पनि स्वागत गर्छौँ, तर शुल्क लिएर ।’

 

आफ्नो नगर क्षेत्र भित्रको भूभाग भएकाले उनीहरुले गर्ने फोहोर व्यवस्थापन र बस्ने स्थान तथा सुरक्षा व्यवस्थापनमा आफूले व्यवस्थापन मिलाइदिएको उहाँले बताउनुभयो । थरीथरीमका गुराँस, गुफापोखरी, लामपोखरी, मेन्छ्यायेम डाँडा र यहाँको प्रकृतिसँग रमाइरहेका धेरै विदेशी नागरिकहरुले यो ठाउँ आश्चर्यलाग्दो भएको बताउनुभयो ।

‘यो ठाउँ धेरै राम्रो लाग्यो, हामी सबै यहाँ रमाएका छौँ,’ जर्मन नागरिक डिजे इगुनाले भन्नुभयो । नेपाल घुम्न आएका र फेस्टिभलमा सामेल हुन चाहने पर्यटकहरुलाई व्यवस्थापकले धनकुटाको होराइजन रिसोर्टमा जम्मा गरेर तीनजुरे ल्याइएको थियो ।

उच्च लेकाली क्षेत्रको हावापानीमा रमाउँदै यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र विभिन्न प्रजातिका गुराँसको अवलोकन गर्दै संगीतमा झुम्ने उदेश्यले फेस्टिभल आयोजित फेस्टिभलमा नेपाली तथा आन्तरिक पर्यटकको समेत घुँइचो लागेको छ । विदेशी पर्यटकहरु आएर यहाँको प्रकृतिसँग झुम्न थालेपछि जिल्लाकै आन्तरिक पर्यटकहरु पनि तीनजुरेका डाँडाकाँडा पुगेका छन् ।

 

यो सातामात्रै दैनिक सयौँको संख्यामा आन्तरिक पर्यटकहरु आएका तीनजुरे मिल्के पर्यटन सूचना केन्द्रका अध्यक्ष केदारनाथ लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यही तेह्रथुम र धनकुटा, धरान, विराटनगर देखि धेरै मान्छेहरु आए, विदेशीसँगै रमाए र फर्के ।’ उनीहरुलाई यहाँको स्थानीय परिकार खुवाउन बाहेक अन्य सेवा नपुगेको उहाँले बताउनुभयो । विदेशी पर्यटकले खचाखच भएपछि घुम्न र विदा मनाउन गएकाहरु साँझ बास बस्ने ठाउँ नपाएर राता–रात फर्किएका थिए ।

गुराँसको सुन्दरताले तानेर गुफापोखरी पु¥याएको धरानको फ्रन्डस् गार्डेन रिसोर्टका प्रबन्धक सुमन श्रेष्ठले बताउनुभयो । ‘गुराँस, गुफापोखरी र यहाँका डाँडाकाँडा सुन्दर लाग्यो, अहिले पर्यटकले बस्ने ठाउँ नै पाइएन, फेरि आउने योजना बनाएर फर्कियौँ,’ उहाँले भन्नुभयोे । तीनजुरे मिल्के क्षेत्रको गुफापोखरीसम्म जान आउन अहिले सडकले सुविधा भएको छ ।

 

पहिले दुई दिन पैदल हिडेर गुफापोखरी पुग्नेहरु अहिले धरानबाट एकैदिनमा गुफा पुगेर फेरि धरानै फर्किन्छन् । बसन्तपुरदेखि गुफा जोड्ने सडक स्तरोन्नति भइरहेका कारण यहाँ आउने पर्यटकहरुलाई केही हदसम्म सहज भएको छ ।

नगरपालिकाले गुराँसको पार्क बनाउने

संखुवासभाको मादी नगरपालिकाले पर्यटक लक्षित गरी गुराँसको पार्क बनाउने भएको छ । नगरपालिकाले मोटो खर्चिएर गुराँस पार्क निर्माण गर्ने र आम्दानीको राम्रो स्रोत बनाउने तयारी गरेको मेयर विदुर लिङ्थेपले बताउनुभयो । गुराँस वनको रुपमा चर्चित यहाँको सुन्दरतालाई वढवा दिएर गुराँस पार्क निर्माण गर्ने र विदेशी पर्यटकसहित आन्तरिक पर्यटकहरुलाई सातादिन सम्म अल्मल्याउने योजना निर्माण भइरहेको उहाँले बताउनुभयो ।

 

मादी नगरपालिकाले गुराँसे वनलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । ‘नगर क्षेत्रको सम्पत्ति भनेकै यही हो, अब यसैलाई जोगाएर आम्दानी गर्ने र समृद्धिको यात्रा तय गर्ने योजना छ,’ उहाँले भन्नुभयो । पर्यटन व्यवसाय नै नगरको पहिलो प्राथमिकतामा परेको र आगामी वर्षबाट गुराँसको पार्क निर्माण गरी पर्यटकहरुलाई घुम्नयोग्य ठाउँ बनाउने उहाँले प्रतिबद्धता गर्नुभयो ।