एफएनसीसीआर्इका महासचिव सुरेशमान श्रेष्ठले गम्भिर आरोप लगाउँदै राजीनामा दिए


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठले महासंघको वर्तमान नेतृत्वमाथि गम्भिर आरोप लगाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। श्रेष्ठले चैत २ गते राजीनामा दिँदै महासंघभित्र गम्भिर विसंगतीले गाँज्दै लगेको बताएका छन्।
 

श्रेष्ठ सरकारका पूर्व सचिवसमेत हुन्। उनलार्इ गत जेठ ७ गते तीन वर्षका लागि नियुक्ती गरिएको थियो। महासंघकी अध्यक्ष भवानी राणासँग गम्भिर असहमति जनाउँदै श्रेष्ठले राजीनामा दिएका हुन्। उनले नेपालको निजी क्षेत्रको बलियो संस्था भित्रभित्रै खोक्रो भएको उल्लेख गर्दै आर्थिक रुपमा समेत टाटा पल्टिन लागेको उल्लेख गरेका छन्।‘

 

महासंघको आम्दानीभन्दा खर्चको मात्रा बढिरहेको छ। ६ महिनामा आम्दानीभन्दा ३२ लाख बढी खर्च भएको छ। प्रादेशिक आर्थिक वहस, सार्क विजनेश लिडर्स कन्केल्भ, ५२औं वार्षिक साधारणसभा र कर्मचारीको बीमाले खर्च अझै बढ्दो छ’ उनले राजीनामा पत्रमा भनेका छन्, महासंघको कोष प्रवर्द्धनमा कुनै ध्यान दिइएको छैन।' 


उनले महासंघको आर्थिक कारोबार र खर्चको पुनरावलोकन गर्ने सम्वन्धमा गम्भिर नभएको आरोप समेत लगाएका छन्। श्रेष्ठले महासंघ राजनीतिक गुटबन्दीले गम्भिर संकटमा परेको उल्लेख गर्दै पदाधिकारी समितिमा धेरैजसो सदस्य आगामी नेतृत्व लिन आफू बलियो बन्ने आत्मकेन्द्रित राजनीतिमा लागेको आरोप लगाएका छन्। 

 

‘पदाधिकारी समितिका धेरैजसो सदस्यहरु आगामी नेतृत्व लिन आफू कसरी बलियो बन्ने भन्ने आत्मकेन्द्रित आन्तरिक राजनीतिले ग्रसित भएर अप्रत्यक्ष तरिकाले आआफ्नै गुटबन्दीमा लागेको पदाधिकारी समितिको बैठकमा भान हुने गरेको छ’उनले भनेका छन्, महासंघ आत्मकेन्द्रित र राजनीतिले ग्रसित भएको छ।’

 

उनले पदाधिकारी समितिको बैठक विधान अनुरुप संचालन नगरिएको आरोप लगाउँदै पदाधिकारी सदस्यहरु शतप्रतिशत बैठक अवधिभर क्रियाशिल समय दिएर छलफलमा सहभागी नहुने गरेको आरोप समेत लगाएका छन्।

 

महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समितिले स्थायी समिति गठन गर्नुपर्ने बैठक बस्नुपर्नेमा अहिलेसम्म पनि गठन नगरिएको उनले आरोप लगाएका छन्। श्रेष्ठले महासंघबाट संचालित परियोजना संचालन, कार्यान्वयन, सुपरिवेक्षण र अनुगमन बारेमा छलफल नै नहुने परिपाटी रहेको बताए।