व्यंग्य : ओलीको पालामा ढुक्कसँग माइत र ससुराली पनि बस्न नपाइने !

-मिलन तिमिल्सिना

विरोधीले त भनेकै थिए, कम्युनिष्ट सरकार आए हाँस्न त के रुन पनि पाईंदैन । तर विरोधीका कुरा कसैले सुनेनन् । ड्याम कि ड्याम सूर्य र गोलाकारभित्रको हँसिया हथौडामा छाप लगाएर कम्युनिष्टलाई चुनाव जिताइदिए । तिनै कम्युनिष्टहरुले मिलेर अहिले सरकार बनाएका छन् ।

कसैले चाहेर पनि हल्लाउन नसक्ने बलियो सरकार । धेरैभन्दा धेरै अधिकार ओगटेर बसेका प्रधानमन्त्री । भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता सहन सकिंदैन भन्दै आर्थिक समृद्धिको नारा लगाउँदै हिँडेका मन्त्री ।

एक मिनेट ढिलो अफिस पुग्दा पनि थर्थर काँप्नुपर्ने अवस्था । ढिलासुस्ती र अनियमितता गर्ने बानी जसरी पनि हटाउनुपर्ने बेला । पहिलेदेखि लाग्दै आएको बानी कसरी सुधार्ने भनेर झोक्राइरहेको बेला ओली सरकारले दिमागै हल्लाइदिने अर्को निर्णय गर्यो । अहिलेसम्म खाईपाई आएको बिदा कटौती रे ।

बिदा कटौतीपछि सबैभन्दा दुःखको कुरा त माइत, मावल र ससुराली जान नपाइने भयो । घरमा बसेर मज्जाले म्यारिज खेल्न नमिल्ने भयो । शनिबार एकदिन नुवाईधुवाई गरेर दिन बित्छ । बल्लबल्ल आउने दसैँ र तिहारमा चाडपर्व मनाउन नभ्याउँदै अफिस जाने बेला हुन्छ । अनि माइत, मावल र ससुराली कहिले जाने ? साथीभाइ बटुलेर कहिले म्यारिज खेल्ने ?

म्यारिज खेल्ने बिदा छुट्टै हुन्थ्यो – प्रजातन्त्र, गणतन्त्र र शहीद दिवस । जनैपूर्णिमा, रामनवमी, कृष्णाष्टमी, ल्होसार, माघी, क्रिसमस ।

प्रजातन्त्र दिवसमा प्रधानमन्त्री, मन्त्री र अरु केही मान्छे टुंडिखेलमा जान्थे । सेना र प्रहरीले कवाज देखाउँथे । प्रधानमन्त्रीले परेवा उडाउँथे, भाषण गर्थे । केही विभाग र स्थानीय तहका कर्मचारीले झाँकी पनि देखाउँथे ।

त्यहाँ नजाने अरु कर्मचारीको के काम ? घरमा प्रजातन्त्र दिवस मनाउने कुरा भएन । अफिस पनि बिदा । के गरेर बस्ने ? अनि साथीभाइ जम्मा भयो, तासको पत्ता फिट्न थाल्यो । म्यारिज खेल्यो ।
लोकतन्त्र, गणतन्त्र र शहीद दिवसमा पनि गर्ने काम त्यही थियो । शहीद दिवसको दिन घरको आँगनमा उभिएर मौनधारण गर्ने कुरा भएन । श्रीमती र छोराछोरीलाई बोलाएर भाषण गर्न पनि मिलेन । म्यारिज नखेले दिन कसरी काट्ने ?

ल्होसारमा निश्चित समुदाय नाचगानमा रमाउँथे, ल्होसार नमनाउने कर्मचारीले म्यारिज नखेलेर के गर्ने ? कृष्णाष्टमी र रामनवमीमा उनै भगवानलाई मात्र भ्याईनभ्याई हुने हो, अरुलाई त फुर्सदै फुर्सद । जनै पूर्णिमामा पनि बिहान एकछिन डोरो र जनै लगाएपछि अरु काम हुँदैनथियो । तासै खेलेर समय बित्थ्यो ।

वर्षौंदेखि म्यारिज खेलेर बित्दै आएको यो बिदा अब नहुने भएको छ । सबैभन्दा दुःखको कुरा त सरकारले माइत, मावली र ससुराली जाने बाटो पनि बन्द गरिदियो ।

तीजमा महिला कर्मचारीलाई दरखाने दिन दिउँसैदेखि बिदा मिल्थ्यो । आज माइत जानुछ, अलि छिटो जान्छु है भनेपछि हाकिमले नाईं भन्न सक्दैनथिए । हाकिमलाई पनि दरखाने दिन चाँडै घर पुग्नुपर्थ्याे । हाकिमलाई नै चाँडै जान परेपछि अरु कर्मचारी मात्र किन ढिलोसम्म बसिरहने ? त्यही दिन बेलुका माइत पुगिन्थ्यो । महिना दिनदेखि नै दर खाने गरे पनि तीजको अघिल्लो दिनको दरको छुट्टै मज्जा ।

दर खाँदाखाँदै आधारात हुन्थ्यो । भोलिपल्ट तीजको दिन घाँटी बस्नेगरी गीत गाउँदा, कम्मर मर्काएर नाच्दा र ताली पड्काउँदा जीउ गलेर हैरान ।
 
अफिस खुल्ने दिन भएपनि धेरैले त बिरामी भएँ भनेर टार्थे । भोलिपल्ट ऋषिपञ्चमीमा बिदा हुने भएपछि बीचको एकदिन किन अफिस जाने ? नगएपनि सुख पाइन्थ्यो । तर सरकारले ऋषिपञ्चमीको बिदा नदिने भयो ।

ऋषिपञ्चमीमा बिदा नपाइने भएपछि अब माइत जाने बाटो बन्द हुने भयो । अफिसमा पूरा समय काम गर्ने हो भने दरखाने दिन टाढाको माइत पुग्न भ्याईंदैन । भ्याईहाले पनि तीजको दिनमै माइतबाट फर्किनुपर्छ, भोलिपल्ट अफिस भ्याउनलाई । दरखाने दिन पनि पुरै काम गर्नुपर्ने, तीजको भोलिपल्ट पनि बेलैमा अफिस पुग्नुपर्ने भएपछि तीजमा कसरी माइत जाने ?

पुरुषको समस्या पनि यही हो । पहिले पहिले त महिला कर्मचारीलाई बिदा हुन्छ के काम गर्ने भनेर छलछाम गर्न पाइन्थ्यो । दरखाने दिनदेखि तीन दिनसम्म काम नगरे पनि हुन्थ्यो । तर ऋषिपञ्चमीमा समेत महिला अफिस आउने भएपछि खुरुखुरु काम गर्नुपर्छ, छलछाम गर्न पाईंदैन ।

तीजको कुरा छोडौं, सबैभन्दा ठूलो आपत त दसैँमा हुने भएको छ । टीकाको दिन घरमा अक्षता र जमरा लगाएर हिँडेपछि द्वादशी र पूर्णिमासम्म सबै आफन्तको घरमा टीका र आशीर्वाद थापेर भ्याइन्थ्यो । आफ्नो मावल, बाको मावल, आमाको मावल, माइत, ससुराली, ससुरालीका खलक सबैतिर चाहार्न भ्याउँदा खल्तीमा अटाईनअटाई दक्षिणा हुन्थ्यो ।

एकातिर दक्षिणा, अर्कोतिर भेटघाट र रमाइलो । पूर्णिमासम्म ढुक्कले दसैँ मनाएपछि बल्ल अफिस जाने दिन आउँथ्यो । पूर्णिमाको भोलिपल्ट अफिस खुलेपनि काम लयमा आउन दुईचार दिन लाग्थ्यो । दुईचार दिन काम भएपछि फेरि तिहार बिदा आउँथ्यो । घटस्थापनादेखि छठसम्म छलछाम गरेरै दिन जान्थ्यो ।

पहिले पूर्णिमासम्मै बिदा हुन्थ्यो, पछि त्रयोदशी र चतुर्दशीमा बिदा दिने चलन हरायो । तर पूर्णिमामा बिदा हुने भएपछि बीचको दुई दिन अफिस नपुग्दा पनि केही हुन्नथियो । अफिसका हाकिम आफैं घरबाट आइपुग्न भ्याउँदैनथिए । हाकिमले नभ्याएपछि अरुलाई पनि अफिस पुग्नैपर्ने अनिवार्य थिएन । त्यसमाथि पूर्णिमाअघि काम हुने होइन भनेर सेवाग्राही पनि जाँदैनथिए । ढुक्क थियो ।

तर ओली सरकारले गर्नु गर्यो । दसैँमा फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्रै बिदा हुने भयो । फूलपातीको दिन बल्ल घर पुगिन्छ । टीकाको दिन घरमा अक्षता र जमरा लगाएपछि न मावल जान भ्याइने भयो, न ससुराली पुग्न । द्वादशीको दिन अफिस पुग्न टीकाको भोलिपल्टै घरबाट हिँड्नुपर्ने हुन्छ ।

पहिले पूर्णिमासम्मै दसँै हुन्थ्यो । अब एकादशीदेखि नै दसैँ सकिने भयो । न तीज रमझम हुने भो, न दसैँ । न घुमघाम र रमाइलो हुने भो, न म्यारिज । ओली सरकारले गर्नुगर्यो । न घ्वाँ घ्वाँ रुन सकियो, न पेट मिचिमिची हाँस्न । स्राेत :http://ujyaaloonline.com/news/96297/holiday-/