तेह्रथुम बन्यो पूर्ण साक्षर जिल्ला

तेह्रथुम । तेह्रथुम ४६ औँ साक्षर जिल्ला घोषणा भएको छ । जिल्लाका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर भएको तथ्यांकसहित मुख्यमन्त्री शेरधन राईले मंगलबार म्याङलुङमा समारोहका साथ साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका ९५ दशमलव ९८ प्रतिशत नागरिक साक्षर छन् ।

जिल्ला शिक्षा कार्यालयले करिब एक दशकयता निरन्तर सञ्चालन गरेको पूर्णसाक्षर बनाउने अभियानले अहिले सार्थकता पाएको छ । जिल्लालाई पूर्णसाक्षर बनाउन २०६७ सालदेखि अभियान संचालन गरिएको थियो । अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत अहिले पनि साक्षरोत्तर कक्षा सञ्चालन भइरहेका छन् । कार्यक्रमले ६० वर्ष मुनिका सबै नागरिकलाई साक्षर बनाउने लक्ष्य लिएको छ ।

जिल्लामा आव २०६८÷६९ देखि २०७१÷७२ सम्म साक्षरता कक्षा सञ्चालन भएको थियो । २०६८ को जनगणना अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका १३ हजार १७१ महिलासहित १७ हजार २३१ निरक्षर थिए । त्यसमध्ये आर्थिक वर्ष २०६८÷६९ मा १२ हजार ४१७ साक्षर भएका छन् । क्रमशः २०६९÷७० मा एक हजार, २०७०÷७१ मा ५००, २०७१÷७२ मा दुई हजार ४५७ गरी १६ हजार ३७४ जना साक्षर भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लामा अब ८ सय ५७ जना मात्रै निरक्षर छन् ।

निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत सञ्चालन गरेको साक्षरोत्तर कक्षामा चार हजार ९६९ सहभागी छन् । जिल्लामा २१ वटा सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा छन् । मुख्यमन्त्री राईले विज्ञान र प्रविधिको क्षेत्रमा विश्वले फड्को मार्ने क्रममा साक्षरताको परिभाषा नै बदलिँदो अवस्थामा रहेको बताउनुभयो