ओली सरकारका मन्त्रीहरुको प्रतिबद्धता : गफ होइन, काम गरेर देखाउने चुनौती

काठमाडौं, चैत २३ – समृद्धि, विकास र स्थिर सरकारको मुद्दा लिएर चुनावमा होमिएको एमाले माओवादी गठबन्धनले सुविधाजनक बहुमत सहित सरकार सञ्चालन गरिरहेको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य लिएर सरकारले काम अघि बढाइरहेको छ । 

सरकारले लिएका उद्देश्य पूरा गर्न विभागीय मन्त्रीहरुले पनि त्यसैअनुरुप मन्त्रालयले गर्ने कामको विवरण सार्वजनिक गरिरहेका छन् । तत्कालीन, अल्पकालीन र दीर्घकालीन महत्वका योजनाहरुसहित मन्त्रीहरुले फटाफट आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले हरेकजसो कार्यक्रममा गर्ने भाषण नै समृद्धि र विकास नै हुने गरेको छ । 

नागरिकको कामलाई सर्वोपरि ठान्दै काम गर्न सरकारी कर्मचारीलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार, ढिलासुस्ती अक्षम्य रहेको र यस्ता गतिविधिमा संलग्न जो कोही पनि कारवाहीको दायरामा आउने चेतावनी दिँदै आउनुभएको छ ।  

प्रधानमन्त्री ओलीले आफ्ना मन्त्रीहरुलाई पनि नागरिकको म्याण्डेटअनुसार नै कामकारवाही अघि बढाउन र जनअपेक्षा पूरा गर्नेतर्फ लाग्न निर्देशन दिनुभएको छ । 
चैत २ गते तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेर २२ सदस्यीय बनेको मन्त्रिमण्डलका धेरै मन्त्रीहरुले आफ्नो कार्यकालमा मन्त्रालयले गर्ने कामको फेहरिस्त सहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

छिमेकी देशसँगको सम्बन्धलाई सुदृढ बनाउने, नागरिकको आर्थिक सुरक्षणको जिम्मा राज्यले लिनेदेखि जिराको भाउमा बेचेर हिराको भाउमा औषधि किन्नुपर्ने अवस्था अन्त्य गर्नेसम्मको योजना मन्त्रीहरुको प्रतिबद्धता पत्रमा उल्लेख छ । 

प्रहरी सरूवा बढुवा पारदर्शी बनाउने र ड्रोनबाट सीमा क्षेत्रको निगरानी गर्नेदेखि समृद्धिको प्रमुख आधार नै उर्जा बनाउने सम्मका योजनाहरु प्रतिबद्धता पत्रमा समेटिएका छन् । 

यस्ता छन् ओली सरकारका मन्त्रीका प्रतिबद्धता :

गृहमन्त्री रामबहादुर थापा

शालीन र कम बोल्ने नेताको रुपमा परिचय बनाएका रामबहादुर थापा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेसँगै कडा रुपमा प्रस्तुत हुनुभएको छ ।

गृहमन्त्री थापाले ८२ बुँदे गृह सुधार कार्ययोजना सार्वजनिक गर्दै गृह प्रशासनका सबै अंगलाई जनमुखी, नतिजामुखी, इमान्दार र राष्ट्रिय उद्धेश्य प्राप्त गर्न सक्ने गरि परिचालन गरिने प्रतिबद्धता जनाउनुभएको छ ।  

प्रहरी सरूवा बढुवा पारदर्शी बनाउने, ड्रोनबाट सीमा क्षेत्रको निगरानी गर्ने, अध्यागमन सुधार गर्ने, साईबर क्राईमको दायरालाई विस्तार गर्ने, कारागारलाई सुधार गृहको रुपमा परिणत गर्ने लगायतका प्रतिबद्धता समेटिएको छ ।  

यस्तै मानव तस्करी, हुन्डी कारोबारी, संगठित अपराध नियन्त्रण गर्न विशेष तवरले कदम चाल्ने, देशको शान्ति सुव्यवस्था कायम गर्ने उल्लेख छ ।   

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

मन्त्री ज्ञवाली नेकपा एमालेका वौद्धिक नेताको रुपमा परिचित मानिनुहुन्छ । मन्त्रालय सम्हालेलगत्तै उहाँले आफ्नो कार्यकालमा चीन र भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लग्ने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

११ वर्षपछि सिंहदरबारमा फिरेका ज्ञवालीबाट आर्थिक कुटनीतिमा फड्को मार्ने अपेक्षा  राखिएको छ । सन्तुलित परराष्ट्र नीति निर्माणमा सरोकारवालाहरुसँग आवश्यक छलफल चलिरहेकाले मन्त्रालयले छिट्टै प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा

नेपाल राष्ट्र बैँकको गभर्नर र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भैसक्नुभएका डा.खतिवडा अहिले अर्थमन्त्री हुनुभएको छ । राष्ट्र बैँकमा रहँदा मौद्रिक नीति र मुलुकको अर्थव्यवस्था सन्तुलन राख्न महत्वपूर्ण भूमिका निभाउनुभएका डा.खतिवडासँग सरकारले ठूलो अपेक्षा राखेको छ ।

प्रधानमन्त्री ओलीले पनि राजनीति भन्दा बाहिर रहेका अर्थशास्त्री खतिवडालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्दै अर्थमन्त्री बनाउनुभएको हो । देशको अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्ने आशलाग्दो व्यक्तिको रुपमा हेरिन्छ अर्थमन्त्री डा. खतिवडालाई । 

केही दिन अघि मात्रै श्वेतपत्र जारी गर्दै अर्थमन्त्री डा.खतिवडाले देशको अर्थतन्त्र सुदृढ पार्न वित्तीय अनुशासन कायम राख्ने, खर्च मितव्ययी बनाउने, पूँजी बजारको स्थायित्व र समावेशी विकासमा जोड दिने, राजश्व परिचालनलाई प्रभावकारी बनाइने लगायत समेटिएको छ । नागरिकको आर्थिक सुरक्षणको जिम्मा राज्यले लिने तथा निजी र सरकाको सम्बन्ध परिपुरक हुने उहाँले बताउनुभयो ।  

देशको ढुकुटी रित्तो रहेको भएपनि निरासा भइहाल्नुपर्ने अवस्था नरहेको भन्दै उहाँले अबको सरकारले समृद्धि र सुशासनमार्फत देशलाई विकासको चरणमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।  

रक्षामन्त्री ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव हुनुहुन्छ, मन्त्री पोखरेल । मन्त्री पोखरेलले जनताको चाहनाअनुसार  काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल र भारतीय सेनाबीच सूर्यकिरण संयुक्त अभ्याससम्बन्धी फाइल स्वीकृत गरेर कार्यभार सम्हाल्नुभएका मन्त्री पोखरेलले नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक लगायतका विकास निर्माणलाई पूर्णता दिने, नेपाली सेनालाई आधुनिक हातहतियार सहित सशक्त बनाउने र देशको रक्षाका लागि सेनाले निभाउँदै आएको कार्य प्रभावकारी बनाउने बताउनुभयो ।  

आफू अझै छलफल र गृहकार्यमै रहेको भन्दै मन्त्री पोखरेलले केहीदिनमै मन्त्रालयले आफ्नो कार्ययोजना सार्वजनिक गर्ने बताउनुभयो ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित 

पहिलो पटक सामान्य प्रसासन मन्त्री बन्दा पिआरधारी सरकारी कर्मचारी र सरकारी सेवा लिइरहेकाहरु विरुद्ध खरो रुपमा उत्रिएका मन्त्री पण्डित अहिले सरकारी कर्मचारीको स्वेच्छिक अवकाश रोकेर चर्चामा हुनुहुन्छ ।  

निजामति प्रशासन सुधार गरेर देशलाई समृद्ध पार्ने अभियानमा लाग्नुभएका मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा पठाइएका कर्मचारी काममा नगए बर्खास्त गर्नेसम्मको चेतावनी दिँदै आउनुभएको छ ।

मन्त्री र कर्मचारीबीचको जुहारीले सरकारी कामकाजमै अवरोध आउने हो कि भन्ने आशंका उब्जाएको छ । मन्त्री पण्डितले केही दिनमै निजामति प्रशासन सुधार र मन्त्रालयले गर्ने कामका बारेमा कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । 

ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन

राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने, ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट समयभित्रै विद्युत उत्पादन हुने गरी काम अगाडि बढाउन आवश्यक कदम चाल्ने प्रतिबद्धता मन्त्री पुनले जनाउनुभयो । 

मन्त्री पुनले राष्ट्रिय गौरवको आयोजनालाई वर्षौंसम्म लम्ब्याउन नहुने भन्दै समयमै योजना निर्माण गर्न सबैखाले उपाय अबलम्बन गर्ने बताउनुभयो । आफ्नो कार्यकालमा गर्ने काम समेटेर केही दिनमै कार्यपत्र सार्वजनिक गर्ने उहाँको तयारी छ ।

लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन र विद्युत उत्पादन बढाउन पुनको कार्यकालको मुख्य चुनौती हो । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी

नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री अधिकारी स्वच्छ छवी भएका नेता मानिनुहुन्छ । विगतको संविधानसभामा लेखा समिति र विकास समितिको सभापति भएको बेला निकै चर्चा बटुलेका अधिकारीले अहिले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।  

मन्त्रालय सम्हालेसँगै अधिकारीले एकसय दिनभित्र एकसय १० वटा काम गरेर देखाउने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्गत पर्ने राष्ट्रिय गौरवका पाँच आयोजनालाई १०० दिने प्रमुख कार्यमा राखिएको छ । त्यसैगरी, भूकम्पबाट क्षतिग्रस्त प्रमुख सम्पदाहरुको पुनर्निर्माण, पर्यटन क्षेत्रको नीतिगत तथा कानूनी सुधार, कार्यपद्धतिमा सुधार रहेको छ ।

संस्कृति क्षेत्रतर्फ संस्कृति संरक्षण र प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वका सम्पदाको संरक्षण तथा अभिलेखको डिजिटाइजेसन र सुदृढीकरण, संग्रहालयको निर्माण तथा व्यवस्थापन १०० दिनभित्र गरिनेछ ।

यस्तै, पर्यटकीय तथ्याङ्क अद्यावधिक कार्य, दीगो पर्यटन व्यवस्थापन, पर्यटकीय सेवा सुविधाको गुणस्तरीयता, एकीकृत पर्यटन पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, हवाई उड्डयन सुरक्षा सुदृढीकरण र हवाई उद्योग व्यवस्थापन प्रमुख प्राथमिकतामा परेका छन् । ‘अन्य अल्पकालीन र दीर्घकालीन योजना पनि क्रमशः ल्याउने तयारीमा छौँ, यी सबै कामबाट मन्त्रालयलाई पारदर्शिता र सुशासनमैत्री बनाउने हाम्रो साझा लक्ष्य हो’ उहाँले भन्नुभयो ।

न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ

न्यायालयमा बढेको भ्रष्टाचार नियन्त्रण आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै मन्त्री तामाङले आफ्नो कार्यकालमा गरिने विभिन्न १६ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मन्त्रीले प्रतिबद्धता सार्वजनिक गरेलगत्तै न्यायालयमा खैलाबैला मच्चिएको छ ।  

न्यायालयप्रति नागरिकको बढ्दो असन्तुष्टि र भ्रष्टाचार अन्त्य गर्न न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गराउने, संविधानसँग बाझिएका सबै कानुन खारेज गर्नेे, कानुन तर्जुमामा संलग्न हुने कानुन मन्त्रालय र नेपाल कानून आयोगजस्ता निकायको क्षमता अभिवृद्धि र न्याय प्रशासनको समयवद्ध सुधार गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।  

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत

जिराको भाउमा नेपालका जडिबुटी बेचेर त्यसैबाट बनेको औषधि हिराको भाउमा किन्नु परिरहेको अवस्था अन्त्य गर्ने मन्त्री बस्नेतको प्रतिबद्धता छ । देशको ४५ प्रतिशत भूभाग बन क्षेत्रले ढाकेको छ ।

उहाँले भन्नुभयो, ‘हाम्रा बनमा औषधिका लागि चाहिने हरेक प्रकारका जडिबुटी छ, तर तिनको प्रयोग न्यून मुल्यमा भइरहेको भन्दै अब त्यसलाई आवश्यक कार्यविधि बनाएर प्रयोगमा लैजाने व्यवस्था मिलाइने छ ।’ 

संवैधानिक व्यवस्था अनुसार वन नीति बनाउने काम सुरु गरिएको बताउँदै उहाँले विकास निर्माणमा वन र वातावरणका कारण कुनै प्रकारका अवरोध आउन नदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्रालयले अबको केही दिनमै आफ्नो कार्यकालमा गरिने कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको पनि उहाँले बताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल

सामुदायिक विद्यालयको शिक्षा सुधारमा प्रतिबद्ध मानिनुहुन्छ मन्त्री पोखरेल । माओवादीका नेता समेत रहनुभएका मन्त्री पोखरेल यसअघि पनि शिक्षा मन्त्री नै बन्नुभएको थियो ।

पाठ्यपुस्तक समयमै पुर्‍याउनुपर्ने, संघीय संरचनामा शैक्षिक संस्थाको व्यवस्थापन र निजी विद्यालयको मनोमानी शुल्क नियन्त्रण मुख्य चुनौतिको रुपमा देखिएको छ । मन्त्रालय, विभिन्न संस्था र सम्बन्धित सरोकारवालाहरुसंग छलफल चलिरहेको र केही दिनमा मन्त्रालयले गर्ने कामका अल्पकालिन र दिर्घकालिन योजना सार्वजनिक गर्ने उहाँले बताउनुभयो । 

खानेपानी तथा जलश्रोत मन्त्री बीना मगर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी समेत रहनुभएकी मन्त्री मगर माओवादीले थालेको सशस्त्र द्वन्द्वकै समयदेखि राजनीतिमा होमिनु भएको हो । पहिलोपटक मन्त्री बन्नुभएकी मगरलाई बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई जतिसक्दो छिटो खुवाउनु मुख्य चुनौती छ ।

अबको दसैँअघि नै मेलम्चीको पानी काठमाडौंका बासिन्दालाई खुवाउन जस्तोसुकै कदम चाल्ने उहाँले बताउनुभएको छ । सबै नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको दायित्व भएको भन्दै उहाँले स्वास्थ्य उपचारमा सिटामोलभन्दा स्वच्छ खानेपानीका लागि सरकारले बढी बजेट छुट्याउनुपर्ने बताउनुभयो ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, कृषि, भूमि तथा सहकारी मन्त्री चक्रपाणी खनाल, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा लगायतका मन्त्रीहरुले पनि आफ्नो कार्यकालमा गर्ने कामका बारेमा समेटेर तयार पारेका योजनाहरु सार्वजनिक गर्ने तयारीमा छन् ।

सम्बन्धित विभाग र सरोकारवालाहरुसँग छलफल चलिरहेकाले केही दिनमा प्रतिवद्धता सार्वजनिक गरिने बुझिएको छ । 

कुरा होइन काम गरेर देखाउन चुनौती 

२०६३/०६४ देखि अहिलेसम्म आईपुग्दा १० वर्षको अवधिमा देशले दशैजना प्रधानमन्त्री पायो । नागरिकका समस्या सुल्झाउने, विकास निर्माणका गतिविधिलाई तिब्रता दिने, शान्ति सुव्यवस्था सुदृढ पार्ने जस्ता मुद्दा प्रधानमन्त्री बनेपछि हरेककले आफ्नो प्राथमिकता रहेको बताउने गर्थे ।

तर, व्यवहारिक रुपमा भने बोलेका कुरा कहिल्यै कार्यान्वयन गर्न सकेनन् । आश्वासन भएभरका बाँड्ने तर काम नगर्दा नेताहरुप्रतिको विश्वास नै नागरिकमाझबाट हराउँदै जान लाग्यो । तथापी प्रतिनिधि र प्रदेशसभा चुनावपछि बनेको एमाले माओवादी सरकारसँग नागरिकले फेरि ठूलोे अपेक्षा राखेका छन् । सरकारमा रहेका र धेरै वक्तव्यबाजीमा समेत नलागेका केही मन्त्रीले कार्यभार सम्हालेको छोटो समयमै अहिले उदाहरणीय काम गरेर समेत देखाएका छन् ।

यस्तै मध्येका एक हुनुहुन्छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ । मन्त्री महासेठ धेरै बोल्दै हिँडेको सञ्चारमाध्यममा आएको छैन । उहाँले ठूला कुरा गर्दै हिँड्नुभएको छैन । तर नागरिकलाई दुःख दिने यातायात व्यवसायीको वर्षौँदेखिको सिण्डिकेट तोडेर उहाँले जनहितमा काम गरेर देखाउने मौका पाउनुभएको छ । 

यातायात व्यवसायीले आफूपनि सुविधासम्पन्न सवारी सञ्चालनमा नल्याउने तर अरुले सञ्चालनमा ल्याउन खोज्दा पनि अवरोध गर्ने गरेका थिए । नागरिकलाई सेवा दिन नभई मनोमानी गर्न लागेपछि उनीहरुको सिण्डिकेटको जालो नै उखाल्न मन्त्रीले खेलेको भूमिकालाई सर्वसाधारणले ठूलो उपलब्धीको रुपमा लिएका छन् ।नागरिकले बोल्दै हिँड्ने होइन कि काम गर्ने यस्तै मन्त्री खोजेका छन् । 

यस्तै संघीय मामिला तथा प्रशासनमन्त्री लालबाबु पण्डितले पनि निजामति प्रशासन सुधारका लागि राम्रा काम गरेर देखाउनुभएको छ । सरकारी कर्मचारीको स्वेच्छिक अवकाश रोकेर देशलाई हुन लागेको अर्बौँको नोक्सानीबाट बचाउनुभएको छ भने अनुभवी कर्मचारीलाई  देशको हितमा काम गर्नका लागि कार्यक्षेत्रमा नै पठाउन सफल हुनुभएको छ । 

अब अरु मन्त्रीका सामु पनि महासेठ र पण्डित जस्तै काम गरेर देखाउने चुनौती थपिएको छ ।