मोराहाङमा सुरक्षित गर्भपतन सम्बन्धी सेवा लिने महिलाको संख्या वृद्धि

मोराहाङ । मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा सुरक्षित गर्भपतन सम्बन्धी सेवा लिने महिलाको संख्या ह्वात्तै वृद्धि भएको छ । मोराहाङ स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा सुरु भएको छोटो अवधिमा नै दश जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सुरक्षित गर्भपतन सेवा लिनु राम्रो भएपनि यो संख्या उच्च हुनु उपयुक्त नभएको भन्दै स्थानीय सरोकारवालाहरुले गर्भपतन गर्नुपर्ने अवस्थालाई नै कम गर्नुपर्ने धारणा राखेका छन् ।

मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा भएको यौन तथा प्रजनन् अधिकार विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीले परियार नियोजनका साधनको बारेमा जानकारी नहुँदा महिलाहरुले गर्भपतन गर्नुपर्ने अवस्था सृजना हुने गरेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । आइपास नेपालको सहयोगमा समृद्ध तेह्रथुमका लागि अभियानले आयोजना गरेको कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सेवा, पाइने स्थान र सेवा प्रदायकहरुको विषयमा छलफल भएको छ ।

सहभागीलाई मोराहाङ स्वास्थ्य चौकीका इन्चार्ज शिला राई र समृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम अधिकृत नरमाया श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।