सिण्डिकेटवालालाई बस कम्पनिकाे समर्थन

बिर्तामोड/ कम्पनिमा दर्ता भएका बस समेत चल्न नसक्दा शुक्रबार झापाको जनजिवन प्रभावित बनेको छ । झापामा झण्डै दुइ तिहाई सवारी साधन सिण्डिकेट अन्तर्गत सञ्चालित छन भने कम्पनिमा दर्ता भएका बस कम्पनिले पनि बन्द गरेर सिण्डिकेटवालालाई समर्थन गरेका छन् ।

झापाबाट काठमाण्डौ लगायत, बिरगञ्ज, पोखरा, नेपालगञ्जसम्म जाने माइक्रो बसहरु भने बिहानै छुटेका छन् भने मेची कोशीमा सञ्चालित बसहरुमध्ये सुर्याेदय यातायातले मात्र सेवा जारी राखेको छ । कम्पनिमा दर्ता भएर सञ्चालनमा रहेका अन्य बससेवा कम्पनिले भने सिण्डिकेट सञ्चालन गर्ने ब्यवसायीको आन्दोलनलाई समर्थन गर्दै यातायात बन्द गरेका छन् ।  नागरिक यातायात प्राली काँकडभिट्टाका कार्यालय प्रमुख रविन सुवेदीले सिण्डिकेटको आन्दोलनलाई ऐक्यबद्धता जनाएको बताए । उनले कम्पनिमा दर्ता भएर पनि मेची बस ब्यवसायी संघमा आवद्धता लिएका कारण नागरिक बसले त्यो आन्दोलनमा ऐक्यबद्धता जनाएको जानकारी दिए ।

‘संघमा आवद्धता भएन भने बाउ आमा बिनाको टुहुरो छोराछोरी जस्तो हुन्छ , सुवेदीले भने, ‘कुनै स्थानमा दुर्घटना भएको अवस्थामा संघबाट डिफेन्स गर्न सजिलो हुने भएकाले त्यसमा आवद्धता राखेका हौं, यो संघको. आन्दोलन हो, त्यसकारण बस सञ्चालन गरेनौ ।’ उनले मधेस आन्दोलनका समयमा सरकारको आह्वानलाई समर्थन गर्दै यातायात सञ्चालन गरेको भएपनि क्षतिपुर्ती नपाएको बताए । उनले भने, ‘बरु त्यो बेला भएको तोडफोडको क्षतिपुर्ती संघले उपलब्ध गरायो ।’

प्राली अन्तर्गत दर्ता भएर सञ्चालनमा रहेका सुर्याेदय बाहेकका सम्पुर्ण बससेवाहरु स्थानीय संघसँग आवद्ध भएका कारण सञ्चालनमा नआएका हुन् ।
बससेवा सुचारु गर्न प्रशासनले सामान्य अनुरोध मात्र गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा ब्यवसायीले बससेवा सञ्चालन गर्ने भनेर बाहिरिएको झापाका एसपी बिष्णु केसीले जानकारी दिए । यद्यपी, झापामा सार्वजनिक सवारी साधन पुर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन ।स्राेत ब्लाष्टखबर