गर्भपतनलार्इ परिवार नियोजनको साधनको रुपमा नलिन अाग्रह, मोराहाङमा दुर्इ महिनामा १४ जनाले गर्भपतन सेवा लिए

तेह्रथुम । गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा नलिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । ग्रामीण क्षेत्रका महिलाहरुमा परिवार नियोजनका साधनहरुबारे जानकारी नहुँदा गर्भपतन नै परिवार नियोजनको साधनको रुपमा विकास हुने सम्भावना देखिएको भन्दै स्वास्थ्यकर्मी र सरोकारवालाहरुले गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा लिन नहुने बताएका हुन् ।

मेन्छ्यायेम गाउँपालिकाको मोराहाङमा बुधबार भएको एक कार्यक्रमका सहभागीले मोराहाङ स्वास्थ्य चौकीमा पछिल्ला दुई महिनामा गर्भपतन सेवा लिनेको संख्या उच्च देखिएको भन्दै त्यसलाई न्युनिकरण गर्न परिवार नियोजनका साधनहरुको प्रयोगलाई वृद्धि गर्न सचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आइपास नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले मोराहाङ स्वास्थ्य चौकी सहित १४ वटा स्वास्थ्य संस्थाहरुमा यही वर्षबाट सुरक्षित गर्भपतन सेवा सुरु गरेको छ । सो सँगै आइपास नेपालकै सहयोगमा संमृद्ध तेह्रथुमका लागि अभियानले पनि मोराहाङ सहित बसन्तपुर, सोल्मा र आम्बुङमा यौन तथा प्रजनन् अधिकार सुदृढिकरण परियोजना सन्चालन गरिरहेको छ ।

सोही परियोजना अन्तर्गत बुधबार मोराहाङ स्वास्थ्य चौकीमा भएको दोश्रो चरणको अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवाला र स्वास्थ्यकर्मीहरुले गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा प्रयोग गर्न नहुनेमा जोड दिएका हुन् । चैत्र १ गतेबाट सेवा सुरु भएको सो स्वास्थ्य चौकीबाट दुई महिनाको अवधिमा १४ जनाले सुरक्षित गर्भपतन सेवा लिइसकेका छन् ।

सुरक्षित र निःशुल्क रुपमा गर्भपतन सेवा लिनु उपलब्धिमुलक भएपनि दीर्घकालिन रुपमा यो एउटा समस्याकै रुपमा रहेको भन्दै सहभागीहरुले गर्भपतन गर्नुपर्ने आवस्था आउन नदिन परिवार नियोजनका साधनहरुको प्रयोग बढाउन सचेतनामुलक कार्यक्रम सन्चालन गर्न सुझाव दिएका छन् । स्वास्थ्य चौकीबाट यहाँका करिब १५ प्रतिशतले मात्रै परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका स्वास्थ्य चौकीको तथ्यांक रहेको छ ।

यौन तथा प्रजनन् अधिकार सुदृढिकरण परियोजना सन्चालन भएपछि समुदायमा सुरक्षित गर्भपतनबारे सचेत भई सुरक्षित गर्भपतन सेवा लिनेको संख्या वृद्धि भएकोप्रति भने सरोकारवालाले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले भने यौन तथा प्रजनन् अधिकार विषयको सचेतनामुलक कार्यक्रम गाउँपालिकाका अन्य वडाहरुमा समेत सन्चालन गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा सहभागीलाई मोराहाङमा स्वास्थ्य चौकीका इन्चार्ज समीम अन्सारी, सेवा प्रदायक शिला राई, मेन्छ्यायेम गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राम निवास, र संमृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम अधिकृत नरमाया श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सुरक्षित गर्भपतन सेवा सम्बन्धी कानुनी व्यवस्थाहरु, सेवा विस्तार भएपछिका राम्रा पक्ष, समस्या र चुनौतीहरु लगायत विषयमा छलफल भएको छ । कार्यक्रम मोराहाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा मेन्छ्यायेम गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रदीप बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।