यौन तथा प्रजनन् स्वास्थ्य अधिकारबारे सचेतना र सामाजिक परीक्षण

तेह्रथुम । म्याङलुङ नगरपालिका—७, आम्बुङमा शनिबार यौन तथा प्रजनन् अधिकार सम्बन्धी दोश्रो चरणको सचेतना कार्यक्रम सम्पन्न भएको छ । आइपास नेपालको सहयोगमा समृद्ध तेह्रथुमका लागी अभियानले सञ्चालन गरिरहेको यौन तथा प्रजनन् अधिकार सुदृढीकरण परियोजना अन्तर्गत आम्बुङमा रहेको स्थ्यस्थ्य चौकीमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, सुरक्षित गर्भपतन सम्बन्धी कानुनी ब्याबस्थाहरु, गर्भपतन गर्दा लगाइने लाञ्छनाहरु, गर्भधारण प्रक्रिया, गर्भपतनका प्रक्रिया, गर्भपतनका प्रकारहरु, परिवार नियोजनका साधनहरु लगायतको बिषयहरुमा छलफल भएको थियो । कार्यक्रममा सहभागीलाई संमृद्ध तेह्रथुमका लागि अभियानका कार्यक्रम अधिकृत नरमाया श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समितीका प्रमुख शिव ढुङगानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. मुतmीनारायण शाह, समृद्ध तेह्रथुमका लागी अभियान तेह्रथुमका अध्यक्ष महेन्द्र काफ्ले र आइपास नेपालका जिल्ला संयोजक केदार भण्डारी लगायतले परियोजना सन्चालन भएपछिका सकारात्मक अभ्यास र लक्ष्यहरुका विषयमा चर्चा गर्नुभयो ।

 

हाल सो परियोजना जिल्लाका आम्बुङ सहित मोराहाङ, सोल्मा र बसन्तपुर गाउँमा सन्चालित छ । आइपास नेपालकै सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले पनि जिल्ला अस्पतालसहित १४ वटा स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेको छ । कार्यक्रममा आम्बुङ स्थित स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्य स्वयम्सेविकाहरु र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा आम्बुङ स्वास्थ्य चौकीको सामाजिक परिक्षण समेत सम्पन्न भएको छ । कार्यक्रममा संमृद्ध तेह्रथुमका लागि अभियानका सुपरभाइजर डिकेन्द्र बरालले स्वास्थ्य चौकीको सेवा प्रवाहको अवस्था र गुणस्तरका विषयमा सेवाग्राहीबाट संकलन गरेको तथ्यांक सहितको प्रतिवेदन प्र्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहभागीले स्वास्थ्य चौकीको सेवा प्रवाहको गुणस्तर बढाउन माग गरेका छन् । सचेतना तथा सामाजिक परीक्षण कार्यक्रम म्याङलुङ्ग नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नारायण आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।