देउवाले महासमिति बैठक धकेल्दै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक भदौमा नहुने पक्का भएको छ । पार्टीले विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा बैठक प्रभावित भएको हो ।

कांग्रेसले एकात्मक राज्य प्रणलीमा आधारित पार्टी संरचनालाई संघीय संरचनामा रुपान्तरण गर्न महासमिति बैठकबाट विधान संशोधनको तयारी गरेको हो । समिति गठनमै किचलो भएपछि बैठक बस्ने मिति अनिश्चित बनेको छ । केन्द्रीय समितिको गत चैतको बैठकले महासमिति बैठक भदौ मसान्तमा गर्ने निर्णय गरेको थियो ।
विधानमा प्रत्येक बर्ष महासमिति बैठक बोलाउनुपर्ने व्यवस्था भएतापनि सभापति शेरबहादुर देउवाको आलटालका कारण बैठक प्रभावित बन्दै गएको छ ।

देउवाले सभापतिमा निर्वाचित भएको साढे दुई बर्ष पुग्दा समेत महासमिति बैठक बोलाउनु भएको छैन् । कांग्रेस प्रवत्तत्ता विश्वप्रकाश शर्माका अनुसार महासमितिको बैठक असोज अन्तिम सातासम्मका लागि सरेको छ । तर, यता सभापति देउवाले दशै तिहार चाडपर्वको कारण देखाउदै महासमिति बैठकलाई अझै पर धकेल्न खोजेको संस्थापनइतर पक्षको आरोप रहेको छ ।स्राेत जनता समाचार