ब्लडमनी जुटाउन देश विदेशका नेपालीले खड्गबहादुरलाई सघाउँदै, युएईकाे जेलबाट चाँडै छुट्ने अाश

युएई – ब्लडमनीको मुद्दा खेपिरहेका तेह्रथुमको फेदाप २ ओयाक्जुङका खड्गबहादुर जोगीको उद्धारका लागि अभियान सुरु गरिएको छ । तेह्रथुम घर भई इजरायलमा रहेका देव बाँस्कोटाको पहलमा देश विदेशमा रहेका नेपालीले जोगी बचाऊ अभियान सुरु गरेका हुन् । 

बाँस्कोटाका अनुसार विभिन्न संघसंस्था र व्यक्तिबाट १७ लाख रुपैयाँको प्रतिवद्धता आइसकेको छ । तेह्रथुम जिल्लाका २ नगरपालिका तथा ३ गाउँपालिकाबाट ११ लाख रुपैँया, अमेरिकामा बस्दै आएका तेह्रथुमका हेम थापाबाट दुई लाख रुपैयाँ सहयोग मिलेको छ । 

यस्तै तिनजुरे मिडिया ग्रुपले मासिक एक पीडित सहयोग अभियानको २४ औं सहयोग स्वरुप एक लाख ५० हजार रुपैयाँ र प्रेम राई बचाऊ अभियानबाट अढाई लाख रुपैयाँको प्रतिवद्धता आएको छ । 

नेपालमा दुर्गाप्रसाद गिरीको संयोजकत्वमा तीन सदस्यीय खड्ग बचाऊ अभियान मूल समिति बनाएर अभियान सुरु गरिएको हो । समितिको सचिवमा खगेन्द्र बहादुर जोगी र कोषाध्यक्षमा कुमार गिरी हुनुहुन्छ । 

नेपाल बैंक लिमिटेडमा तीनै जनाको नाममा संयुक्त खाता खोलिएको र विभिन्न ठाँउबाट रकम जम्मा भइरहेको सचिव जोगीले जानकारी दिनुभयो । ब्लडमनीका लागि सहयोग गर्न चाहनेले नेपाल बैंक लिमिटेडको खाता नम्बर ०५४००१०६५७०३२९०००००१  जम्मा गर्न सक्नेछन् । 

विभिन्न देशमा अभियान 

नेपालमा खड्गबहादुरको गृह जिल्लाको सिफारिसमा विभिन्न संस्था तथा व्यक्तिबाट सहयोग संकलन भइरहेको छ । यस्तै युएई, दक्षिण कोरिया, डेनमार्क, अमेरिका, कतार, मलेसिया लगायतका ठाँउमा रहेका प्रवासी नेपाली, सम्बन्धित जिल्ला समाज र गैरआवासीय नेपाली संघ (एनआरएन)को सहकार्यमा सहयोग अभियान चलिरहेको बाँस्कोटाले बताउनुभयो ।  

यता युएईमा खड्गबहादुर बचाउ अभियानका लागि पहल सुरु भएको छ । सामाजिक सञ्जाल मार्फत सबैलाई जानकारी गराइरहेको र केही दिनमै अभियानलाई अघि बढाउने तयारी भइरहेको युएईमा कार्यरत तेह्रथुमका पिएस लिम्बूले बताउनु भयो । 

युएईमा यसअघि ब्लडमनीकै मुद्दामा आर्थिक अभावका कारण स्वदेश फर्कन नपाएका चितवनका टोपबहादुर विकलाई एनआरएन युएई र विभिन्न संघसंस्थाले आर्थिक सहयोग जुटाएर नेपाल फर्काएका थिए ।

खड्गबहादुरलाई मृत्युदण्ड हुन्न : नेपाली दूतावास 

फिलिपिनी नागरिकको हत्या अभियोगमा खड्गबहादुरलाई ५ वर्षको जेल सजाय तोकिएको हो । जोगीलाई यहाँको अदालतले दुई लाख दिर्हाम जरिवाना तोकेको छ । अदालतको फैसला अनुसारको रकम बुझाएपछि मात्रै नेपाल फर्काउन कानुनी प्रक्रिया सुरु गरिने नेपाली दूतावास आबुधाबीले जनाएको छ । 

‘ब्लडमनी तिर्न नसके मृत्युदण्ड हुन्छ भनेर भ्रम फैलाउँदा परिवारमा थप तनाव थपिएको छ,’ दूतवासले यसबारे प्रष्ट पार्दै भनेको छ, ‘२०१४ मे देखी अबुधाबीको अल वात्वा जेलमा कैद भुक्तान गरिरहनुभएका खड्गबहादुर २०१९ मार्च २७ सम्म जेल बस्नुपर्ने अदालतको फैसला छ । त्यस समयभीत्रमा ब्लडमनी बुझाएमा उहाँ जेलमुक्त हुन पाउनुहुन्छ । रकम बुझाउन नसकेमा थप जेल सजाय भएपनि मृत्युदण्ड भने हुन्न ।’

कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलका अनुसार अदालतले तोकेको रकम संकलन भएपछि उहाँलाई जेलबाट छुटाएर नेपाल फर्काउन सकिन्छ । तर अदालतको फैसला अनुसारको मितिसम्म भने उहाँले जेल बस्नु पर्ने छ । 

दूतावासले उहाँको मुद्दाका बारेमा सरकारलाई जानकारी गराएको छ । विदेशमा यस्ता प्रकृतिका मुद्दा खेपिरहेका नेपालीलाई सरकारले आर्थिक सहयोग गर्ने कानुनी व्यवस्था नभएकाले जोगीको मुद्दा किनारा लाग्न नसकेको श्रम सहचारी मोतिराम भुसालले बताउनुभयो ।