पोक्लाबाङमा डम्पिङ साइड नहुँदा समस्या

तेह्रथुम  । तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा फोहोर विसर्जन गर्ने ठाउँ नहुँदा बजारमा जथाभावी फोहोर फाल्ने गरिएको छ । बजारको फोहोर संकलन गरी निश्चित ठाउँमा डम्पिङ गर्ने नगरिँदा बजार क्षेत्रमा फोहोर बढेको र दुर्गन्धित बन्न थालेको बजारबासीले गुनासो गरेका छन् ।

अधिकार सम्पन्न स्थानीय सरकारको केन्द्र बनेपछि बजारमा जनसंख्याको चाप समेत बढ्दो छ । बजार केन्द्रित व्यवसाय गर्ने र घर बनाउने क्रम पनि थपिएको छ । तर बजारलाई व्यवस्थित र सुन्दर बनाउन गाउँपालिकाले ठोस् कदम चालेको छैन । बजार क्षेत्रमा ढल निर्माण गरिएपनि ढलबाट बगेर गएको फोहोरलाई निश्चित ठाउँमा विसर्जन गर्ने प्रबन्ध गरिएको छैन ।

बजार क्षेत्रको फोहोर उठाएर डम्पिङ नगरिँदा फोहोर बढेको भन्दै स्थानीयबासीले गुनासो गर्न थालेका हाम्रा स्थानीय सहकर्मी रमेश रिजालले जानकारी दिनुभएको छ । बजार क्षेत्रको फोहोर व्यवस्थापनमा गाउँपालिकाले विशेष कदम चाल्ने तयारी गरिरहेको गाउँपालिकाका अध्यक्ष हरि चोङबाङले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले फोहोर छुट्याएर कम्पोष्ट मल बनाउने योजना समेत बनाएको छ । गाउँपालिकाले बजारलाई व्यवस्थित गर्न समिति गठन गर्ने र समितिलाई जिम्मा दिने योजना रहेको अध्यक्ष चोङवाङले बताउनुभयो ।