चुरोटको खोलमा “मलाई नसोध कहाँ दुख्छ घाउ”

काठमाडौँ । कवि तथा गीतकार हरिभक्त कटुवालको ८२ औँ जन्मजयन्ती आइतबार यहाँ मनाइएको छ । कटुवालको जीवनीवृत्त र रचनामा काम गर्दै आएको पुरु लम्सालको नेतृत्वमा रहेको युवाको समूहले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा समालोचक महेश पौड्यालले कटुवाल कुनै वाद, विचार र परिभाषामा नअटाउने कवि भएको तर उनको योगदानलाई देशले समुचित कदर नगरेको बताए । डा नवराज लम्सालले उनका गद्य कवितामा गीतको प्रभाव र गीतमा कविताको प्रभाव रहेको बताउँदै उनको जीवनजस्तै गीत र गीतजस्तै जीवन भएको विचार व्यक्त गरे ।

समालोचक डा अशोक थापाले कटुवालका कथामा लघुकथा आकारका यथार्थवादी कथा भएको बताउँदै उनले नाटकमा बौद्ध दर्शन र सर्वसाधारण मान्छेको दैनन्दिनीसँग आफूलाई जोडेको टिप्पणी समेत गरे ।

सङ्गीतकार दीपक जङ्गमले कमलादीको सडक छेउमा फालिएको चुरोटको एउटा खोल उठाएर त्यसैमा अन्तरा लेखिएको गीत “मलाई नसोध कहाँ दुख्छ घाउ” अम्बर गुरुङ, आफू, शान्ति ठठाल र नारायणगोपाललाई सङ्गीत गर्न दिएको र पछि उनकै सल्लाहमा नारायणगोपालकै सङ्गीतमा रेकर्ड गरिएको जानकारी दिए । सङ्गीतको चेतनासहित मिटर र लयमा गीत लेख्ने कटुवालको कदको अर्को गीतकार नेपालमा हालसम्म नभेटेको जङ्गमले बताए।

सो अवसरमा पुरु लम्सालको निर्देशनमा कटुवालको जीवन, जीवनदृष्टि र सिर्जना झल्कने एउटा छोटो नाटक पनि प्रस्तुत गरिएको थियो ।

यसैबीच भारतको मणिपुरमा पनि साहित्यकार देवीप्रसाद थापा ‘मामा’ र रामप्रसाद पौड्यालको नेतृत्वमा कटुवाल जयन्ती मनाइएको छ । काङ्लातोङ्बीमा आयोजित उक्त कार्यक्रममा आगामी वर्षमा पनि ‘सिरोई सिर्जना’ नाम गरेको नेपाली पत्रिकाले सो कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।