जनमत पाएनौं तर, जनमन जित्यौं

स्थानीय तहको पहिलो चरणको चुनावमा काठमाडौंमा भाग लिएको रविन्द्र मिश्र संयोजक रहेको साझा पार्टीले कम समयमा पपुलर मत ल्याउन सफल भयो । यहि सफलताका कारण हौसिएको साझा पार्टीले दोस्रो चरणको चुनावमा पूर्वको केन्द्रविन्दुमा रहेको शहर इटहरी उपमहानगरपालिकामा पनि उम्मेदवारी दियो । तर, इटहरीमा साझाको राम्रो र प्रभावकारी मत खस्न सकेन । किन यसो भयो ? साझापोष्टका लागि विनोद ढकालले साझा पार्टीका केन्द्रीय संयोजन समिति सदस्य तथा इटहरी उपमहानगरका उपमेयरका उम्मेदवार प्रकाशचन्द्र परियारसँग गरेको कुराकानीको सम्पादीत अंश-

दोस्रो चरणको चुनावमा इटहरी रोज्नुभयो तर नतिजा त खराब आयो नि ?
संख्यात्मक हिसावले यो नतिजा खराब देखिन्छ । तर, तुलनात्मक हिसाबले हामीले राम्रो जनमत ल्याएका हौं । विना संगठन, निक्कै ढिलोगरी उम्मेदवारी घोषणा गरेपनि समग्र इटहरीबासीको तर्फबाट पाएको यो मतलाई खराब भन्न मिल्दैन । केही प्राविधिक कठिनाई, आचारसंहिताको इमान्दार पालना र आर्थिक खर्चको प्रभावशुन्य अवस्थामा जनताले हामीलाई छानेर खसाएको मत बलियो हो ।

नतिजा खराब आएपछि चित्त बुझाउने मेलो मात्रै हो की ?
त्यसो होइन, यहाँ जनाधार भएका सत्तारूढ दलहरूका उम्मेदवारले पनि मेयर, उपमेयरमा उम्मेदवारी दिएका थिए । १७ जनाको स्पर्धामा परम्परागत दुई दलभन्दा अन्य स्पर्धामा देखिएका छैनन् । ठूलो संगठनात्मक संरचना भएका दलको हावा निक्कै अघिदेखि रहेछ । यद्यपि, इटहरी जनसंख्याको हिसाबले विभिन्नताको जाती र वर्गको बसाई रहेको ठाउँ हो । यहाँ कांग्रेस र एमालेभन्दा अन्य दलमा प्रतिस्पर्धा देखिएन । तर, हामी १७ उम्मेदवारको प्रतिस्पर्धामा निक्कै अघि देखियौं । यो भन्दा पनि महत्वपूर्ण विषय भनेको जनताले कांग्रेस, एमाले र माओवादीसँग साझा पार्टीको प्रतिष्पर्धा भनी चर्चा गर्न थाले । जबकी हामी पार्टी दर्ता भएको अवस्थाबिना नै त्यसको नाममा स्वतन्त्र रूपमा उठेका हौं । हाम्रो जित भनेको जनमतमात्र होइन, जनताको मनमा बस्नसक्नु पनि हो । हामी बसेका छौं, यहाँको चर्चाले त्यहि देखाउँछ । हामी बसिरहन चाहन्छौं, परिवर्तन र बुझाईको क्रम ह्वात्त हैन, विस्तारै हुनेछ । त्यसमा जनमन हामीसँग रहेको पाएका छौं ।

आखिर विश्वास भनेको त मनका कुराले भन्दा पनि मतकै कुराले हुने रहेछ, जनमत बलियो बनाउने मौका पाउनु भएन ?
परम्परागत दलहरूले ३१ वैशाखको चुनावको मितिको तयारी थालेका थिए । उनीहरूको तयारी र हाम्रो तयारीमा निक्कै फरक देखिन्छ । हामीले उम्मेदवार नै ३१ जेठमा घोषणा गरेका थियौं । फेरि पार्टीको नभएर चुनाव चिन्ह स्वतन्त्र रूपमा लिनुपर्ने बाध्यता थियो । हामी प्रत्येक घरमा यो चुनाव चिन्हमा मतदान गरौं भन्ने अवस्थामा थिएनौं । १४ असारको मतदानमा हामीले ६/७ गते चुनाव चिन्ह पायौं । ११ गतेदेखि मौन अवधि सुरू भयो । फेरि यहाँका जनताको मन जितेपनि मत जित्नका लागि कम्तिमा १०/१५ मिनेट घरमै पुगेर चुनावचिन्ह सहित कन्भिन्स गर्नुपर्ने हुन्छ । हामीले त्यो समय पाएनौं । मौन अवधिमा अन्य कतीपय दलहरूले अाचारसहीँता उल्लङ्घनका कार्य गरेपनि  हामीले निर्वाचन आयोगको आचारसंहितालाई मानेका कारणले नै मतमा पछि परेका हुनसक्छौं तर हामीलाई जनताको विश्वास जित्नुछ । त्यो हामीले जितेका छौं । धेरैले राम्रा, पढेका र आफ्नो ठाउँप्रति प्रतिवद्ध उम्मेदवार आएको भन्ने चर्चा गरेका छन्, हामी सबैप्रति कृतज्ञ छौं । हामीलाई अब, संगठन विस्तारका लागि सहज बाटो खुलेको छ, यहाँका जनताले हामीलाई पत्याइसकेका छन् ।

तपाईहरूले १ नम्बर प्रदेशका अन्य ठाउँमा पनि उम्मेदवारी दिनसक्नुहुन्थ्यो तर इटहरीमा राम्रै हस्तक्षेप गर्न सकिन्छ भनेर जानुभएको भन्ने चर्चा थियो त ?
चुनाव लड्नका लागि उम्मेदवारकै सवालमा कुरा गर्ने हो भने त साझा पार्टीबाट टिकट माग्ने धेरै नै हुनुहुन्थ्यो । तर, हामीले अरू दल छाडेर अवसरका लागि आउनेलाई भन्दा पनि हाम्रो नीतिअनुसार नै अघि बढ्यौं । म इटहरीको सर्वसाधारण परिवारको छोरा जो साझाको सुरुआतदेखि नै छु । मेरो ठाउँको नाम अन्यत्र पनि चिनाउने काम गरेको छु । त्यसकारण म यहाँबाट लडे, डा. तारा काफ्ले यहाँ लामो समयदेखि हुनुहुन्छ । उहाँको कार्यकौशलता र अध्यापनको काम, इमान्दारीताको विषयमा इटहरी अनभिज्ञ थिएन । साझामा आवद्ध रहनुभएकाले उहाँ लड्नुभएको हो । हामी हस्तक्षेप गर्ने वा अरूलाई हराउने होइन, हाम्रो सुसंस्कृत राजनीतिको विचारलाई स्थापित गराउने दौरानमा यहाँ चुनावी मैदानमा उत्रिएका थियौं । हामीसँग उम्मेदवार नभएर होइन, असल उम्मेदवारीका लागि इटहरीलाई रोजेका थियौं ।

त्यसो भए यो पार्टीको परिक्षण थियो ? जितेर काम गर्छु भन्ने चाहीँ थिएन हैन त ?
चुनावी मैदानमा लक्ष्य जीतको भएपनि हामी जितेर अघि बढ्छौं भन्ने हामीलाई लागेकै थिएन । कांग्रेस र एमालेलाई टपेर १ नम्बरमा आउँछौ भन्ने थिएन । सम्मानजनक मत पाउँछौ भन्ने थियो । त्यो हामीले पाएका छौं । जनताको मत पनि पाएका छौं । टोलटोलमा झन्डा, तुल, चुनावी प्रचारप्रसारको लामो अभ्यास गर्ने संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, जनमुक्ति पार्टी, परिवार दलभन्दा हामी निक्कै माथि छौं । निर्वाचन आयोगको निर्वाचन चिन्ह हुँदा पनि उनीहरू हामीभन्दा पछि पर्नुका कारणले हामीले आँकलन गरिसकेका छौं, सु-संस्कृत राजनीतिको पक्षमा इटहरी र आसपासका जनताको मन पुगिसकेको छ । त्यसकारण हामीले जितेकै अनुभुति गरेका छौं । संगठन विस्तार र विचारलाई हरेक गाउँ र वडामा पुराउनका लागि सजिलो काम छैन । इमान्दारीताको राजनीतिका विषयमा बलिया संगठन बनाएका परम्परागत पार्टीको आधार क्षेत्रमा भ्रष्टाचारमुक्त समाज, देश र प्रशासन, सुसंस्कृत राजनीतिको विचारलाई बहसमा उतार्नु सजिलो काम छैन । तर, हामीलाई यहाँका सक्षम जनताको साथ हुन्छ भन्नेचाहीँ चुनावी दौरानको अभियानले विश्वास दिलाइसकेको छ ।

तर, काठमाडौंमा जस्तो नतिजा देखा परेको थियो, त्यसको तुलनामा त निक्कै खराब देखियो नि ? कारण के हुन् ?
काठमाडौं र इटहरीको साक्षरताको तुलना गर्न हुँदैन । इटहरीलाई उपमहानगरमा स्तरोन्नती गरिएपनि काठमाडौंका जनतालाई जस्तो चाँडो यहाँका विभिन्न क्षेत्रमा रहेका जनतालाई हाम्रा विचारहरू बुझाउनका लागि केही प्राविधिक समस्या छन् । अर्को, यहाँका सबैतिरका जनता सामाजिक सञ्जाल, प्रविधिसम्म राम्रो पहुँच बनाइसकेका छैनन्, जसका कारण छोटा अवधिमा हाम्रा विचारलाई सवैमाझ समान हिसावले पुराउन कठिन भयो । हाम्रो तयारी पनि नपुगेको विश्लेषण गरेका छौं । सबैभन्दा महत्वपूर्णचाहीँ यहाँ अत्यन्त निकट ध्रुवीकरण रहेको पाइयो । कांग्रेस र एमालेको यो ध्रुवीकरणको जालमा बाँधिएको रहेछ, जनमत । कतिपयले मन हुँदाहुँदै पनि चुनाव चिन्ह नदेखेर मत खसाल्न पाउनुभएन । कतिपयलाई सात छाप आफ्ना पार्टीमा भन्ने प्रचारले गर्दा अलमल भएछ र क्यामेरा, सेलरोटीमा मत खसालेपनि कांग्रेस एमालेमा पनि ७ छाप खसाएको पाइयो । जुन बद्दरमा गनिए । अर्को मौन अवधिमा पनि परम्परागत दलको मनोपोली चुनाव प्रचार र कन्भिन्स गर्ने प्रचलन जुन हामीले गरेनौं । हामीले एउटा तुलसमेत राखेनौं रपनि हामीलाई विश्वास भयो ।

त्यसो भए, जनताको मनोविज्ञान के पाउनु भयो त ?
जनताको मनोविज्ञान घर–घर मा भोट मागदिन आओस् भन्ने रहेछ । त्यो हुन्छ पनि । हामीले सकेसम्म गरेका पनि थियौं । तर, उहाँहरू चुनाव चिन्ह नचिनेर पनि झुक्किनुभयो । कतिपयले साझाले जित्दैन नजित्नेलाई के दिनु भन्ने पनि परेको रहेछ । त्यसकारण परम्परागत दलमा नै मत गयो । यस्ता कारण देखिए । यद्यपि, उहाँहरूले साझालाई मतमा नभई मनमा सजाउनुभएको पाइएको छ । हामी अब सहज भएर अघि बढ्न सक्छौं भन्ने विश्वास जागेको छ ।

अन्त्यमा केही ?
जतिले मतमा समर्थन गर्नुभयो धन्यवाद छ । जतिले मनमा समर्थन जनाउनुभएको छ, धेरै धन्यवाद छ । सादा खाना, सादा खाजा खाएर साझाको अभियानमा धेरैले सक्रियता देखाउनुभएको छ, उहाँहरूको सक्रियतालाई सलाम छ । हामी समृद्ध सहर, हरित सहर, साझा सहर, साझा रहर स्थापित गराउनकै लागि इटहरीको जनतामाझ आएका हौं । लामो समयको पेसागत सक्रियता छाडेर राजनीतिमा सहर निर्माणका लागि नै होमिएका छौं । हिराको हार भन्दा जनतासँगको हार महत्वपूर्ण हुन्छ । यो हार निक्कै महत्वपूर्ण छ । यहि हारले जीतको लक्ष्यको बाटो पनि तय गराउने छ । हाम्रा राजनीतिक अभियान र मुद्दामाथिको विश्वास जुटाउने अवसर पनि मिलेको हामीले बुझेका छौं ।copy sajha post