बसन्तपुरमा पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण शिविर सुरु

तेह्रथुम, २७ असार । तेह्रथुमको बसन्तपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी दुई दिने निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना शिविर मंगलबार सुरु भएको छ । शिविरको पहिलो दिन ८६ जना महिलाले परीक्षण तथा पाठेघरको क्यान्सर बारे जानकारी लिएका छन् । 
त्यसमध्ये छ जनालाई क्यान्सर हुन सक्ने देखिएपछि उपचारका लागि रेफर गरिएको छ । सभासद सीता गुरुङ मार्फत संसद विकास कोषको सहयोगमा प्रगतिशिल तमु युवा समाजले आयोजना गरेको शिविरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरे सहितको चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतीकरण गरिरहेको अध्यक्ष हेमन्त गुरुङले बताउनुभयो । 
शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण भएको बताउनुभयो ।
‘गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्छ, खानपिन र सरसफाई पनि मिल्दैन,’ उहाले भन्नुभयो, ‘त्यसैले आमा दिदीबहिनीको पाठेघरमा छिट्टै सक्रमण हुनेगर्छ ।’ गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर कार्यक्रम राखि दिएको गुरुङले बताउनुभयो ।
यस सम्बन्धी कार्यक्रम संसद विकास कोषको सहयोगमा वर्षेनि भइरहेको छ । यो भन्दा अगाडि पनि पाठेघर र स्तन क्यान्सर सम्बन्धी शिविर र सचेतना कार्यक्रम म्याङलुङ्ग, आठराई र छथरमा पनि भइसकेको तमु युवा समाजका अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रकाश धौलाकोटी