कांग्रेसमा अन्तर्घातको प्रभाव देउवाको गृहजिल्लासम्म

काठमाडौं   | 

डडेल्धुरा सदरमुकामका ९ वडामा बागी उम्मेदवार
पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाका ९ वडामा कांग्रेसका बागी उम्मेदवार खडा भए । मेयरमा कांग्रेस डिल्लीराज जोशी १२८ मतले पराजित भए । वडा नम्बर ४ र ५ मा कांग्रेस वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधा पनि मेयरका उम्मेदवारले पाएनन् ।

अजेयमेरुमा विद्रोहीको धेरै भोट
डडेल्धुराकै अजयमेरु गाउँपालिकाको प्रमुखमा कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारको मत झन्डै दोब्बर आयो । कांग्रेसका कमलसिंह भाटले ८७२ मत ल्याउँदा बागी उम्मेदवार लोकराज भट्टले १,५६८ मत ल्याए । यो गाउँपालिकामा माओवादी केन्द्रका उमेश भट्ट विजयी भए ।

खुमबहादुरका भतिजा नै विद्रोही
दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित भए । बागी उम्मेदवार खड्का कांग्रेस नेता खुमबहादुर खड्काका भतिजा हुन् । त्यस्तै, गढवा र शान्तिनगर गाउँपालिकामा पनि बागी उम्मेदवार मैदानमा आए ।

तुल्सीपुर र घोराही उपमहानगरमा पनि कांग्रेसले हार व्यहोर्नुप-यो । १० तहमध्ये ६ वटामा एमाले र एकमा माओवादीले जित्यो । कांग्रेसले तीन तहमा मात्रै चित्त बुझाउनुप-यो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्रमा भारी मतले जितेको थियो ।

अन्र्तघातको आरोपमा झापामा कांग्रेस कार्यकर्ता कारवाहीमा
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला मतदाता रहेको झापाको भद्रपुरमा समेत कांग्रेस पराजित भयो । अन्र्तघात गरेको आरोपमा भद्रपुर–१ का क्रियाशील सदस्य उकीन्द्र खरेल, सरोज संग्रौला, कुलप्रसाद संग्रौला र अरुणकुमार उप्रेतीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । यस्तै, भद्रपुर–४ का मनोज केसी, ७ का हरिप्रसाद निरौला, दुर्जनसिंह राजवंशी, जगदीश काफ्लेलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । भद्रपुर–८ माकुन्तीदेवी राई पनि कारबाहीमा परेकी छन् । पार्टीले उठाएको आधिकारिक उम्मेदवारविरुद्ध बागी बन्ने, अरूलाई सहयोग गर्ने जस्ता गतिविधि देखाउँदा पार्टी हारेको भन्दै उनीहरूलाई कारबाही गरिएको भद्रपुर कांग्रेस एकाइले जनाएको छ ।

अन्तर्घात सहन नसकेपछि सभापतिको राजीनामा 
गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ रेसुंगा नगरपालिका प्रमुखमा एमाले उम्मेदवारसँग १८७ मतले पराजित भए । आफू अन्तर्घातकै कारण हार्नुपरेको भन्दै श्रेष्ठले सभापतिबाट राजीनामा दिए । कांग्रेसकै अजय पन्थीले प्रमुखमा उम्मेदवारी दिएर एमालेलाई जिताउन भूमिका खेलेको आरोप श्रेष्ठले राजीनामा पत्रमा लगाएका छन् । पन्थीले ४० मत ल्याएका थिए ।

धनगढीमा रोचक प्रतिस्पर्धा, तर पनि कांग्रेसकै जित
कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप वडूले रोचक जित दर्ता गराए । कांग्रेसबाटै प्रमुखको टिकटका लागि दाबेदारी गर्दा पनि नपाएपछि गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दलित समुदायका वड १४ हजार तीन सय २४ मत ल्याएर विजयी हुँदा कांग्रेसकै बागी हमाल ११ हजार पाँच सय २७ मत ल्याएर निकतम प्रतिद्वन्द्वी बने । माओवादी तेस्रो र एमाले उम्मेदवार चौथो हुन पुगे ।

यसकारण रुपन्देहीमा कांग्रेस हार्‍याे
रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाक पार्टीले सीमांकनको विषयमा गलत नीति लिँदा हार्न पुगेको बताउँछन् । ‘प्रचण्ड सरकारले सीमांकनका विषयमा कि संशोधन ल्याउनै हुने थिएन कि ल्याएको संशोधनको विषयलाई टेबल गर्नुपथ्र्यो, तर त्यस्तो भएन,’ रज्जाक भन्छन्, ‘ल्याइसकिएको विषय फिर्ता गरेपछि यसको फाइदा एमालेले लिन पुग्यो । यसमा कांग्रेसलाई दुवैतर्फबाट विश्वास भएन, त्यसैले हामी हार्‍यौँ ।’

प्रभावशाली नेताकै क्षेत्रमा पराजित
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा मात्रै नभएर काठमाडौंको बसोबास भएको बुढानीलकण्ठ नगरपालिकामा पनि कांग्रेस पराजित भयो । यही नगरपालिका चर्चित युवा नेता गगन थापाको निर्वाचन क्षेत्र पनि हो । यो क्षेत्रमा पनि अन्तर्घात भएको कांग्रेस कार्यकर्ताकै आरोप छ ।

त्यस्तै, महामन्त्री डा. शशांक कोइराला मतदाता रहेको काठमाडौं महानगरपालिका–४ महानगरपालिकामा समेत कांग्रेस ठूलो मतान्तरले पराजित भयो । उपप्रधानमन्त्रीसमेत रहेका नेता गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला मतदाता रहेको झापाको भद्रपुर नगरपालिका, बालकृष्ण खाँणको तिलोत्तमा नगरपालिका, रमेश लेखकको वेदकोट नगरपालिका, खुमबहादुर खड्का मतदाता रहेको लमही नगरपालिकामा पनि कांग्रेसले नराम्रो हार बेहोर्‍यो ।

केन्द्रीय सदस्य डा.रामशरण महत मतदाता रहेको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार विजयी भए । गाउँपालिका प्रमुख भने माओवादी केन्द्रले जित्यो । अर्जुननरसिंह केसी र डा.महतको द्वन्द्वका कारण नुवाकोटको विदुर नगरपालिका कांग्रेसले गुमाउनु परेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

सोलुखुम्बुमा नेता बलबहादुर केसी र जिल्ला सभापति आङ्गेलु शेर्पाका कारण दलका उम्मेदवार पराजित हुने पुगेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । संखुवासभाको खाँदबारी नगरपालिका, नवलपरासीको गैंडाकोट नगरपालिका र गुल्मीको रुरु गाउँपालिका अन्तर्घातका कारण गुमाउन पुगेको समीक्षा कांग्रेस नेताहरूले गरेका छन् ।

कांग्रेसले दोस्रो चरणमा सुधार गर्दै तीन सय ३४ तहमध्ये कम्तीमा एक सय ५० तहमा जित्ने आशा राखेको थियो । तर, एक सय २२ तहमा जितेर फेरि पनि दोस्रो भएको छ । संविधानसभा निर्वाचनमा पहिलो भए पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा एमालेभन्दा ५० तहले पछि परेको छ ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आएको नतिजाप्रति कांग्रेस सन्तुष्ट छैन । सात उपमहानगरपालिकामध्ये कांग्रेसले कैलालीको धनगढी र विराटनगर महानगरपालिकामा विजय हासिल ग-यो । प्रदेश नम्बर १ मा कांग्रेस ५१ तह र एमाले ६९, प्रदेश नम्बर ५ मा कांग्रेस ३३ र एमालेले ४३ तहमा जित पारे । ७ नम्बर प्रदेशमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भयो । एमालेले ३९ र कांग्रेसले ३८ तहमा जित हात पारे ।

के कारबाही हुन्छ अन्तर्घातीलाई ? 
कांग्रेसले उम्मेदवार चयन गर्दा नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने बताइसकेको छ । केही दिनअघि नेता रामचन्द्र पौडेल पक्षको भेलामा नेताहरूले निर्वाचनमा पराजित हुनुको दोष एक–अर्को समूहलाई नदिएर स्वच्छ समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्ने सुझाब दिएका थिए । संस्थापन पक्षले भने अझै औपचारिक बैठक डाकेर अन्तर्घातका विषयमा छलफल गरिसकेको छैन ।