गगनको अभिब्यक्तिले कोशी प्रदेशमा तरंग उत्पन्न भएको छ ।

रेडियो तेह्रथुम/मंशिर ९/ नेपाली कांग्रेसको आन्तरिक विवादले अब जनप्रतिनिधिको पद नै धरापमा पर्न सक्ने अवस्था सिर्जना गरेको छ ।

सभापति गगन थापाले पार्टीको आधिकारिक नेतृत्वभन्दा बाहिर रहेर समानान्तर गतिविधि गरिरहेको पक्षतर्फ संकेत गर्दै अर्को दलमा आबद्ध हुने जनप्रतिनिधिलाई निर्वाचित पद छाड्न चेतावनी दिएपछि कोशी प्रदेशका आठ जनप्रतिनिधिमाथि सम्भावित कारबाहीको प्रश्न उठेको छ ।

सभापति थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएका व्यक्तिले कांग्रेस छाडेर अर्को दल रोजे निर्वाचित पदबाट समेत बाहिरिनुपर्ने बताएका हुन् । स्वेच्छाले राजीनामा नदिए पार्टीको विधान र कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाउने उनको चेतावनी थियो  ।

यो चेतावनीको प्रभाव कोशी प्रदेशमा पनि देखिन सक्छ । किनभने निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अघि बढाएको समानान्तर महाधिवेशनको तयारीमा कोशीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यदेखि प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिसम्म सक्रिय छन् ।

देउवा पक्षको गतिविधिमा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला र प्रतिनिधिसभाकी समानुपातिक सांसद सुशीला ढकाल जोडिएका छन् । प्रदेशसभातर्फ पूर्वमुख्यमन्त्री एवं मोरङका सांसद केदार कार्की, उदयपुरका रामकुमार खत्री, खोटाङका भूपेन्द्र राई, सुनसरीकी सुनिता गच्छदार र इलामकी खगेश्वरी पौडेल देउवा पक्षको समानान्तर गतिविधिमा संलग्न छन् । गच्छदार र पौडेल समानुपातिक सांसद हुन् ।

त्यस्तै, झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र राजवंशी पनि देउवा पक्षमा खुलेर सक्रिय छन् । यसरी राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह गरी कोशीका आठ जनप्रतिनिधिको राजनीतिक भूमिकामाथि पार्टी नेतृत्वको पछिल्लो चेतावनीपछि प्रश्न उठेको छ ।

देउवा पक्षले मंसिर १७ र १८ गते विराटनगरमा छुट्टै प्रदेश अधिवेशन गर्ने तयारी गरेको छ । यससम्बन्धी निर्णय सिटौलाको उपस्थितिमा बसेको बैठकले गरेको थियो । अधिवेशन सञ्चालनका लागि प्रदेश महामन्त्री भूपेन्द्र राईलाई मूल आयोजक समितिको संयोजक र केदार कार्कीलाई व्यवस्थापन समितिको संयोजक तोकिएको छ ।

मंगलबारको बैठकमा सभापति थापाले आफ्नो उद्देश्य कसैलाई पार्टीबाट निष्कासन गर्नु नभए पनि विधान कार्यान्वयनमा सम्झौता गर्न नसकिने बताएका थिए । महाधिवेशनमा प्रतिस्पर्धा गरेर पराजित भएपछि अर्को बाटो रोज्ने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उनले पार्टीलाई एकताबद्ध राख्नु र विधान पालना गराउनु नेतृत्वको जिम्मेवारी भएको बताए ।

अस्ति महाधिवेशन लडेर पराजित भएर यताउता जाने कुरा त थोरै लोकलाज राख्नुपर्छ । म सभापति भएकोले सबैलाई मिलाएर लैजानुपर्ने दायित्व छ । साथै विधान पनि पालना गर्नुपर्छ,’ उनले भने ।

थापाले निर्वाचित जनप्रतिनिधिको हकमा भने पद र पार्टी सदस्यतासम्बन्धी विषयलाई स्पष्ट रूपमा उठाए । राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएका व्यक्तिले पार्टी छाडेर अर्को दल रोजे सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ थियो ।

‘तपाईं राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा हुनुहुन्छ भने अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन । तर, तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईं जुन सभामा हुनुहुन्छ, राजीनामा गर्नुहोला । गर्नुभएन भने विधानले गर्छ । विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो,’ थापाले भने ।

उनले एउटै व्यक्ति दुई राजनीतिक दलको सदस्य हुन नसक्ने तर्क गर्दै सिटालातर्फ पनि संकेत गरेका थिए । कांग्रेसको आधिकारिक महाधिवेशन सम्पन्न भइसकेको अवस्थामा अर्को अधिवेशनलाई समानान्तर रूपमा अघि बढाउनु स्वीकार्य नहुने उनको भनाइ थियो ।

‘एक व्यक्ति राष्ट्रिय सभा सदस्य हुनुहुन्छ, कांग्रेसको पनि सदस्य र अर्को कुनै पार्टीको पनि सदस्य हुन पाउनुहुन्न । अब हुने नेपाली कांग्रेसको अधिवेशन होइन, एकै पार्टीको दुई अधिवेशन हुन सक्दैन । मेरो कोसिस सबैलाई राखौं भन्ने हो,’ थापाले भने ।

देउवा पक्षले भने आफ्ना संगठनात्मक गतिविधि रोकेको छैन । विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि विभिन्न समिति गठन गरिसकेको उक्त पक्षले दुई दिनसम्म चल्ने कार्यक्रममा दुई हजार तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुने दाबी गरेको छ ।

त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका पनि देउवा पक्षले सार्वजनिक गरिसकेको छ । यसअघि नै उक्त पक्षले ६१८ स्थानीय तह र २६ जिल्लामा अधिवेशन सम्पन्न गरेको दाबी गरेको थियो ।

के छ कानुनी व्यवस्था ?

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ ले कुनै दलको चुनाव चिह्नबाट निर्वाचित संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका सदस्यलाई पदावधि कायम रहँदासम्म आफू निर्वाचित भएको दल त्याग गर्न रोक लगाएको छ ।

ऐनको दफा ३२ मा दल त्याग मानिने अवस्थाबारे व्यवस्था गरिएको छ । सम्बन्धित दलको सदस्यताबाट लिखित राजीनामा दिनु, अर्को दलको सदस्यता लिनु वा आफैँ संलग्न भएर अर्को दल गठन गर्नु दल त्यागका आधार हुन् । यस्तो अवस्थामा कानुनबमोजिमको प्रक्रिया पूरा भएपछि सम्बन्धित जनप्रतिनिधिको पद रिक्त हुन सक्छ ।

यद्यपि, पार्टीभित्रको फरक समूहमा सक्रिय हुनु वा समानान्तर अधिवेशनमा सहभागी हुनुलाई मात्रै स्वतः दल त्याग मान्न मिल्दैन । त्यसैले कोशीका यी आठ जनप्रतिनिधिको पद धरापमा पर्ने वा नपर्ने विषय उनीहरूको आगामी राजनीतिक कदम र कानुनी प्रक्रियामा निर्भर रहनेछ ।

कांग्रेसभित्रको विवाद १५औँ महाधिवेशनपछि थप पेचिलो बनेको हो । गगन थापा नेतृत्वको समूहले असोज १८ देखि २२ गतेसम्म महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेको थियो । तर, निवर्तमान सभापति देउवा पक्षले उक्त महाधिवेशन प्रक्रियालाई स्वीकार गरेको छैन । यही असहमतिलाई संगठनात्मक रूप दिने क्रममा देउवा पक्षले अलग्गै अधिवेशनको तयारी अघि बढाएको हो ।

एकातिर देउवा पक्ष समानान्तर अधिवेशनको तयारीमा जुटिरहेको छ भने अर्कातिर सभापति थापाले विधान कार्यान्वयनमा कठोर बन्ने संकेत दिएका छन् । यस्तो अवस्थामा कोशीका आठ जनप्रतिनिधिले आगामी दिनमा कस्तो राजनीतिक बाटो रोज्छन् भन्ने विषय चासोको केन्द्रमा परेको छ ।