नेपाली कांग्रेस बैठकमा दुबै महामन्त्रीद्धारा आफ्नो प्रस्तावमा जोड पुग्ने गरि अभिब्यक्ती

नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय समितिमा बोल्दै  महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा अब प्रधानमन्त्री बन्न नहुने बताएका छन्।

आइतबार जारी केन्द्रीय कार्यसमितिको बैठकमै सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग गर्न महामन्त्री शर्माले आग्रह गरेका हुन्।

‘एमालेसँग असार १७ गते भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले प्रधानमन्त्रीलाई साथ दिनुपर्छ,’ शर्माले भने, ‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु हुँदैन। आफ्नो पुस्ताका कोही एक नेतालाई उहाँले प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्छ।’

महामन्त्री शर्माले प्रधानमन्त्रीमा सभापति देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये कोही एक जनालाई अघि सार्न सक्ने विकल्पसमेत दिएका छन्।

महामन्त्री शर्माले राष्ट्रपति एक  पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने गरी व्यक्ति बहिर्गमन नीतिसमेत प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावलाई बल पुग्ने गरी महामन्त्री शर्माले सभापति देउवालाई छैटौं पटक प्रधानमन्त्री नबन्न आग्रह गरेका हुन्।

‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरू प्रतिनिधिसभामा हुनुहुन्छ, जो अनुभवी र दक्ष पनि हुनुन्छ l उहाँहरूमध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने सभापतिको त्याग देखिन्छ उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ l तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं,’ महामन्त्री शर्माले भने।

सभापति देउवाले त्यागबाहेक अरू सबै गरिसकेको पनि शर्माले बताए। ‘उहाँले गर्न बाँकी त्याग छ त्यो पनि अब ०८३ असारमा पुगेर गर्नुपर्छ,’ सभापति देउवाकै अघि शर्माले भने।

सभापति देउवाको नेतृत्वमा भएका कामको स्मरण गर्दै महामन्त्री शर्माले प्रशंसा पनि गरेका थिए।

‘देउवाको नेतृत्वमा कमैया मुक्ति, कदमजम, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटनविरुद्ध आन्दोलन सफलता हासिल भयो l यी सबै कर्मका लागि उहाँले प्रशंसा र बधाई पाउनुपर्छ,’ अन्तिममा महामन्त्री शर्माले भने।

त्यस्तै अर्का महामन्त्री गगन थापाले अबको आमचुनावमा पार्टीले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन्।

उनले नेता, कार्यकर्तालाई रूख चिह्नमा मात्रै मतदान गर्न पाउने सुनिश्चितता गरिने पनि बताए।

करिब सात मिनेट बोलेका महामन्त्री थापाले भने, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुन: स्थापित गर्नेछौं।’

उनले कांग्रेसले आमचुनावमा आफ्नै तागतले लड्ने पनि बताए। ‘हामी आफ्नै तागतले निर्वाचन लड्नेछौं, हाम्रा नेता तथा कार्यकर्ताहरूलाई पार्टीको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ महामन्त्री थापाले भने।

गत फागुनमा भएको महासमिति बैठकमा थापाले पेस गरेको सांगठनिक प्रस्तावमा आमचुनावअघि गठबन्धन नगर्ने कुरा उल्लेख थियो। त्यसलाई भाषा मिलाएर केन्द्रीय समितिमा थापाले आफ्नै तागतमा चुनाव लड्ने बताएका हुन्।