असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने, ५६ जिल्ला उच्च जोखिममा

 

 

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरेर बिहीबारदेखि आइतबारसम्म ५६ जिल्लामा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा प्रक्षेपण गरिएको हो। यो क्रम असोज १३ गते आइतबारसम्मै रहने बताइएको छ।

‘बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण  २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ,’ महाशाखाले बुधबार जारी गरेको बुलेटिनमा भनिएको छ।

महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।

कुन दिन कस्तो छ मौसम?

महाशाखाले १० गते बिहीबार दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ।

 

त्यस्तै तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ।

असोज ११ गते (शुक्रबार) देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा कर्णालीका केही स्थानहरूमा तथा मधेशका थोरै भूभागमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिनमा जनाएको छ।

 

यसका साथै देशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको बताएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित अति भारी वर्षाको समेत सम्भावना रहेको बताएको छ।

असोज १२ गते (शनिबार) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका  केही  स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका  केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। आइतबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका  एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।

यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढीस् हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको बताएको छ। 

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।

कुनकुन जिल्ला जोखिममा छन्?

असोज १० देखि १३ गतेसम्म कोशीका ११, मधेसका सिराहा, सप्तरी, पर्सा, बागमतीका काठमाडौंसहित दोलखा बाहेकका १२, गण्डकीका १० जिल्ला उच्च जोखिममा छन्। गण्डकीको मनाङ मध्यम जोखिममा छ।

त्यस्तै लुम्बिनीका १२, कर्णालीका ५, सुदूरपश्चिमका ३ जिल्ला उच्च जोखिममा छन्। १९ जिल्ला मध्यम जोखिम र मुगु र हुम्ला निम्न जोखिममा रहेको महाशाखाले बताएको छ।