उपनिर्वाचनमा कसले सिट वढायो कस्ले घटायो समग्र चिरफार

मंसिर १६ गते उपनिर्वाचन सम्पन्न भएर स्थानीय तहका रिक्त ४४ पदमा नयाँ जनप्रतिनिधिहरू आएका छन्।

ओखलढुंगा र कैलाली जिल्ला समन्वय समिति प्रमुखसहित नेपाली कांग्रेसले १९, माओवादी केन्द्रले ११, एमालेले ८, जनता समाजवादी पार्टी नेपालले २, राष्ट्रिय स्वतन्त्र पार्टीले १, एकीकृत समाजवादीले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ पदमा जिते।

रिक्त ४४ मध्ये ३ ठाँउमा निर्विरोध निर्वाचित भएका थिए भने ४१ ठाउँमा मतदान भएको थियो। 

दुई वर्षअघि निर्वचित भएका जनप्रतिनिधिको निधन वा अन्य कारणले रिक्त भएका यी ४१ स्थानमा यसपालि उपनिर्वाचन भएको हो। यसरी रिक्त हुनेमा कांग्रेसका २५, एमालेका ७, माओवादीका ८, जसपाका १ र स्वतन्त्र १ पद थियो।

हामीले यहाँ निर्विरोधबाहेक मतदान गरी निर्वाचित भएका स्थानीय तहका ४१ ठाउँको मतपरिणाम विश्लेषण गर्नेछौं।

अहिलेको उपनिर्वाचन कसले कति ठाउँ जिते महत्वपूर्ण छ। तर यसपालि मतदाताको अभिमत बुझ्न अर्को कोणबाट निर्वाचनको विश्लेषण गर्नु महत्त्वपूर्ण हुनेछ।

दुई वर्षअघि ४१ ठाउँमा आएको परिणामको तुलनामा यसपालि कसले सिट गुमायो वा थप्यो? अर्थात्, पहिलेको तुलनामा मतदाताले कुन दललाई धेरै ठाँउमा जिताए वा हराए? हामी यहाँ पछिल्ला दुवै निर्वाचनमा भाग लिएका तीन प्रमुख दलको निर्वाचन परिणामको विश्लेषण गर्नेछौं।

सुरूमा नेपाली कांग्रेसको चुनाव परिणाम विश्लेषण गरौं।

यसपालि कांग्रेसले सबैभन्दा धेरै १७ स्थानमा (निर्विरोध २ जना बाहेक) जित्यो। त्यसको अर्थ कांग्रेसप्रति जनताको झुकाव थप बढ्यो? पक्कै होइन। किनभने, दुई वर्षअघि यिनै ४१ स्थानमा भएका चुनावमा कांग्रेसले २५ स्थान जितेको थियो। त्यसको अर्थ, कांग्रेसले दुई वर्ष अघिको तुलनामा यसपालि ८ स्थान कम जित्यो।  

कांग्रेसले यसअघिको स्थानीय चुनावमा माओवादीलगायत दलहरूसँग ४१ स्थानमध्ये ८ ठाउँमा गठबन्धन गरेको थियो। पहिले गठबन्धन गरेका अधिकांश ठाउँ यसपालि एक्लै उठ्दा कांग्रेसले जित्न सकेन।

कांग्रेसले माओवादीसँग गठबन्धन गरेर दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, भीमदत्त नगरपालिका ६ को अध्यक्ष, गुल्मीको मुसिकोट नगरपालिका १ को अध्यक्ष, काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ को अध्यक्ष, ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका वडा नम्बर ३ मा जितेको थियो।

यसपालि यी ठाउँमा कांग्रेस एक्लै उठ्यो तर पहिले गठबन्धन गरेका दुई ठाउँमा  मात्रै जित्यो, बाँकी हार्‍यो। पहिले गठबन्धन गरेका भीमदत्त नगरपालिका ६ र मुसिकोट नगरपालिका १ तथा पहिले माओवादीलाई छाडेको दार्चुलाको दुहुँ गाउँपालिका ५ को अध्यक्ष पनि यसपालि कांग्रेसले जित्यो।

देशभर ६ हजार सात सय ४३ वटा वडा छन्। दुई वर्षअघि स्थानीय चुनावमा कांग्रेसले तत्कालीन सत्ता गठबन्धनका माओवादीलगायत दलहरूसँग 'स्थानीय आवश्यकताका आधारमा' गठबन्धन गरेको थियो।

कांग्रेसले अधिकांश गठबन्धन माओवादीसँगै गरेको थियो । त्यसकारण रूकुम, जाजरकोटजस्ता माओवादी एकल प्रभाव क्षेत्रमा समेत गठबन्धन गर्दा कांग्रेसले कुनै न कुनै पद हात पारेको थियो।

यसपालि गठबन्धन नगर्दा कांग्रेसले माओवादी प्रभाव क्षेत्रका तिनै स्थान गुमाएको छ, त्यो स्वभाविक नै छ। तर पहिले पनि एक्लाएक्लै प्रतिस्पर्धा भएका मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, नुवाकोटको ककनी गाउँपालिका २ अध्यक्ष, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ अध्यक्ष, बाजुराको स्वामीकार्तिक फापर गाउँपालिका उपाध्यक्ष कांग्रेसले यसपालि जोगाउन सकेन।

गठबन्धन नगर्दा पनि कांग्रेसले कीर्तिपुर नगरपालिका 'क्लिनस्वीप' गर्‍यो। दुई वर्षअघि मेयर र जसपाकी नेतालाई रूख चिह्नमा उपमेयर जिताएको कांग्रेसले यहाँका १० मध्ये ९ वडाध्यक्ष जितेको थियो।

यसपालिको उपनिर्वाचनमा मेयर, वडा नम्बर १ को अध्यक्ष र वडा नम्बर ४ को अध्यक्ष कांग्रेसले जित्यो। यसअघि स्वतन्त्र उम्मेदवारले जितेको कीर्तिपुर ४ पनि कांग्रेसले जित्दा राहतको महसुस गरेको छ।

अहिले कांग्रेसले जितेका १७ मध्ये १० ठाउँ पहिले पनि कांग्रेसले जितेका ठाउँ हो। त्यसमा एमालेले जितेका ३, माओवादीले जितेका ३ ठाउँ र स्वतन्त्रले जितेका एक ठाउँ थपिएको हो। कांग्रेसले पहिले जितेका ११ स्थान भने यसपालि अन्य दलहरूले नै खोसे।

कांग्रेसले अहिले दुई जिसस प्रमुख, एक मेयर र १६ जना वडाध्यक्ष जितेको हो।

अब एमालेको चुनावी परिणाम विश्लेषण गरौं।

यसपालि एमालेले ४१ स्थानमा भएको चुनावमा ३८ ठाउँमा मात्रै उम्मेदवारी दियो। रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष पदमा आफ्नी नेतालाई कांग्रेसको चिह्नबाट उम्मेदवारी दिन लगाएको थियो तैपनि हार्‍यो।

एमालेले अहिले ८ स्थान जित्यो। दुई वर्ष अघि यी ४१ स्थानमध्ये एमालेले ७ ठाउँमा जितेको थियो। यसको अर्थ एमालेले दुई वर्ष अघिको तुलनामा एउटा स्थान मात्रै थप्न सक्यो।

एमालेले अहिले जितेका ८ ठाँउमध्ये ६ ठाउँ यसअघि कांग्रेसले जितेका स्थान हुन् भने एक ठाउँ माओवादी र एक ठाउँ पहिले पनि एमालेले नै जितेको स्थान हो।

एमालेले २०७९ को चुनावमा कसैसँग गठबन्धन गरेन तर त्यसबेला यी ४१ मध्ये दुई ठाउँमा उम्मेदवारी नै दिएको थिएन।

एमालेले यसअघि जितेका ६ ठाउँ यसपालि जोगाउन सकेन।

झापाको कन्काई नगरपालिका ६ मा त एमालेलाई झट्का लाग्यो। यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले चुनाव जिते। एमालेले पहिले जितेका ६ स्थानमध्ये ३ स्थान कांग्रेस,२ स्थान माओवादी र एक स्थान स्वतन्त्रले खोसेको हो।

एमालेलाई दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष र बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष जित्दा भने राहत महसुस गर्‍यो।

विगतमा कांग्रेस-माओवादीबीच गठबन्धन हुँदा महाबु र गौरीशंकरमा कांग्रेसले जितेको थियो, त्यो यसपालि एमालेले खोस्यो। साथै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पनि एमालेले जित्यो।

एमालेले अहिले एक अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष जितेको छ।

अब हामी स्थानीय तह उपनिर्वाचनमा माओवादीको मतपरिणामबारे विश्लेषण गरौं।

दुई वर्षअघि ४१ मध्ये ६ ठाउँमा माओवादीले कांग्रेस उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी दिएको थिएन। ३५ स्थानमा निर्वाचन लडेको माओवादीले ८ स्थानमा जितेको थियो।

यसपालि पनि उसले ३ ठाउँमा उम्मेदवारी दिएन। यसपालि ३८ स्थानमा उठेको माओवादीले ११ स्थान जित्यो। रूकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका २ मा एमालेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी उम्मेदवार निर्विरोध भए।

माओवादीले मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जित्यो। विगतमा ल्याएको मतमा करिब आधा मत बढाएर उसले कांग्रेसबाट ग्रामथानको अध्यक्ष खोसेको हो। 

माओवादीले अहिले जितेका ११ मध्ये ६ ठाउँ पहिले कांग्रेसले जितेको थियो।

मोरङ ग्रामथान अध्यक्ष, उदयपुरको त्रियुगा १२, उदयपुरकै वेलका ९, धनुषाको धनुषाधाम १, नुवाकोटको ककनी २ र जाजरकोटको नलगाड उपप्रमुख एक्लै लडे पनि माओवादीले कांग्रेसबाट खोसेको हो। यीमध्ये ग्रामथान, उदयपुर र धनुषामा कांग्रेस बलियो मानिन्थ्यो, यसपालि माओवादीले पछार्‍यो।

माओवादी एक्लै लडेर आफ्नो प्रभाव क्षेत्र जाजरकोटको नलगाड उपप्रमुख, हुम्ला सर्केगाड उपाध्यक्ष, रूकुमपूर्व पुथा उत्तरगंगामा जितलाई निरन्तरता दियो। विगतमा हुम्ला सर्केगाडमा माओवादीले कांग्रेससँग गठबन्धन गरी जितेको थियो भने नलगाड उपप्रमुख कांग्रेसलाई छाडेको र पुथा उत्तरगंगामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नै चुनावी प्रचार र घरदैलोमा हिँड्दा गोरखा नगरपालिका ५ को अध्यक्ष पनि पहिलेको तुलनामा करिब दोब्बर मत थप्दै माओवादीले जित्यो। विगतमा यहाँ एमालेले वडाध्यक्ष जितेको थियो। साथै माओवादीले डोल्पाको त्रिपुरासुन्दरी ५ पनि एमालेबाट खोस्यो।

तर माओवादीलाई कांग्रेसले आधार इलाकामै हराइदिएको पनि छ। जाजरकोटको कुसे गाउँपालिका ७ कांग्रेसले खोस्यो भने हेटौंडा उपमहानगरपालिका १२ पनि माओवादीलाई हराएर कांग्रेसले नै जित्यो।

कालिकोटको तिलागुफा नगरपालिका ४ को अध्यक्ष भने माओवादीबाट नेपाल मजदुर किसान पार्टीले खोस्यो। महोत्तरीको रामगोपालपुर नगरपालिका २ पनि माओवादीले गुमाउँदा एमालेलाई फाइदा भयो।

दलहरूले यसपालि गठबन्धन नगर्दा र एक्लाएक्लै उम्मेदवारी दिँदा माओवादी केन्द्रलाई केही फाइदा भयो। माओवादीले एक गाउँपालिका अध्यक्ष (ग्रामथान), एक उपमेयर (नलगाड), दुई उपाध्यक्ष (सर्केगाड र पुथा उत्तरगंगा) र सात वडाध्यक्ष जितेको हो।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सप्तरीको डाक्नेश्वरी वडा नम्बर १ र ४ मा वडाध्यक्ष जित्यो। यी दुवै विगतमा कांग्रेसले जितेका ठाउँ हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरपालिका १६ को वडाध्यक्ष जित्यो। गठबन्धन गरी विगतमा कांग्रेसले जितेको ठाउँ यसपालि रास्वपाले खोसेको हो। रास्वपाले ४१  स्थानमध्ये २४ ठाउँमा उम्मेदवारी दिँदा अन्य ठाउँमा निराशाजनक परिणाम ल्यायो।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले रौतहटको गढीमाई नगरपालिका ८ को अध्यक्ष जित्यो। ४१ स्थानमध्ये एकीकृत समाजवादीले १६ ठाउँमा उम्मेदवारी दिए पनि अन्यत्र भने निराशाजनक परिणाम आयो। जसपा नेपालले विगतमा जितेको गढीमाई ८ भने एकीकृत समाजवादीले जित्यो।

नेपाल मजदुर किसान पार्टीले कालिकोटको तिलागुफा ४ को अध्यक्ष जित्यो, यहाँ पहिले माओवादीले जितेको थियो। 

साथै ४१ ठाउँमा उपनिर्वाचन भएकोमा एक मात्र स्वतन्त्र उम्मेदवारले चुनाव जिते, झापाको कन्काई नगरपालिका ६ मा लक्ष्मीप्रसाद ओलीले। 

उपनिर्वाचनमा दलहरूले ल्याएको मत विश्लेषण गर्दा खासै परिवर्तन देखिँदैन, पुरानै दलहरूले चुनाव जितेका छन्।

पहिले २५ स्थानमा जितेको कांग्रेस अहिले उपचुनाव भएका ४१ मध्ये १७ स्थानमा जिते पनि उसले माओवादीसँग गठबन्धन गरेर जितेका अधिकांश सिट गुमाएको हो।

गठबन्धन गर्दा माओवादीले आफ्नो प्रभाव क्षेत्रमा पनि कांग्रेसलाई सिट छाडेको थियो, ती सिटमा अहिले माओवादीले नै उम्मेदवारी दिँदा कांग्रेसले जित्न सकेन।

एमालेले विगतमा जितेका ३ वडा गुमाएर यसपालि दुई उपाध्यक्ष र एक अध्यक्ष थप्यो। समग्रमा एमालेलाई उपनिर्वाचनबाट एक स्थान नाफा भयो। 

गठबन्धन नगर्दा माओवादीले उपनिर्वाचनमा धेरै सिट जित्यो। उसले विगतमा ८ सिट जितेकोमा अहिले बढाएर ११ पुर्‍यायो। थपेका ३ सिटमध्ये दुइटा यसअघि कांग्रेसलाई छाडेको ठाउँ थियो भने एउटा प्रतिस्पर्धामा मत बढाएरै जित्यो।