तेह्रथुमा पशुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा स्वस्थ दुध उत्पादन गर्नका खोरेत विरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । खोरेत रोग नियन्त्रण सम्बन्धी कोशी प्रदेश सरकारको रणनीति अनुसार खोप अभियान हुने भएको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तेह्रथुमका प्रमुख लोकनाथ ढुँगानाले बताउनुभयो । आउदो माघ महिनादेखी तेह्रथुमको सबै पालीकामा खोप अभियान सञ्चालन हुने उहाँले बताउनुभयो । चरणबद्ध रुपमा सरोकारवालाहरुको समूह बनाएर जिल्ला स्थित प्रत्येक पालिकालाई खोप हस्तान्तरण गरी खोप अभियान सुरु गरिने प्रमुख ढुँगानाको भनाई छ । स्थानीय कृषकहरुबाट उत्पादित पशुजन्य उपजहरु दुध, मासु, छुर्पी अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन पनि खोरेत रोग मुक्त बनाउन जरुरी रहेकाले खोप अभियान सञ्चालन गरिने प्रमुख ढुँगानाले बताउनुभयो । भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र तेह्रथुमले बिहिबार खोरेत रोग नियन्त्रण सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा खोरेत रोग सम्बन्धी जानकारी गराइएको छ । कार्यक्रममा कोशी प्रदेशको खोरेत रोग नियन्त्रण सम्बन्धी रणनीतिको बारेमा जानकारी गराउँदै पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका बरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवले खोरेत रोग नियन्त्रणको एक मात्रै उपाय खोप रहेको बताउनुभयो । खोरेत रोग विरुद्धको तीन चरणको खोप लगाएमा खोरेत रोगलाई नियन्त्रण गर्न सकिने र खोरेत रोग पूर्ण रुपमा सुरक्षित रहेको उहाँले बताउनुभयो । किसानहरुले आफ्ना पशुहरुमा खोप लगाउन डराएर नलगाउदा अहिलेसम्म रोग नियन्त्रण हुन नसकेकाले खोप लगाउन किसानहरुलाई प्रेरित गर्दे खोरेत रोग विरुद्धको अभियानमा आफ्नो पालिका लागिपर्ने म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो । अन्तराष्ट्रिय बजारमा निर्यात भइरहेको यहाँ उत्पादित छुर्पी खोरेत रोग देखिएपछि निर्यात हुन नसक्दा यहाँका छुर्पी उद्योगहरु बन्द समेत भएको जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष बुद्धि खुलालले बताउनुभयो । उहाँका अनुसार तेह्रथुमबाट दैनिक ८ हजार लिटर दुध जिल्ला बाहिर निर्यात भइरहेको छ । जिल्लामा अहिले १३ वटा छुर्पी उद्योग सञ्चालनरत छन् । जसबाट दैनिक ४ सय केजी छुर्पी र ४ सय केजी नौनी उत्पादन हुन्छन् । मासिक १ करोड २० लाख मुल्य बराबरको छुर्पी अन्तराष्ट्रिय बजारमा निर्यात भइरहेको अध्यक्ष खुलालको भनाई छ । छुर्पी बनाउने क्रममा सरसफाइमा तरिका पु¥याएकैले विगत १३ वर्षदेखि आफ्नो उद्योगमा उत्पादित छुर्पीले बजार अभावको समस्या भोग्नुनपरेकोे लालिगुराँस नगरपालिका – ४ फुलेकका छुर्पी उद्योग सञ्चालक देवेन्द्र पौडेलले बताउनुभयो । उहाँको फ्याक्ट्रीबाट मासिक ९ लाख मुल्य बराबरको ९ सय केजी छुर्पी अमेरिका निर्यात हुने गरेको बताउनुभयो ।