धनकुटाको फेदीमा सडक खोलाले बगायो तमर करीडोरको सडक समेत अवरुद्ध ।

शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तरगत धनकुटाको फेदीमा सडक बगाएको छ।

साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित फेदी भन्ने ठाउँमा लेउती खोलाले कम्तीमा २५ देखि ३० मिटर पक्की सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।

‘रातिको भीषण झरीले लेउती खोलामा बाढी निम्त्यायो, त्यही बाढीले कम्तीमा २५ देखि ३० मिटर बाटो भत्काएको छ,’ धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले भने, ‘यसले आज बिहानैदेखि कोशी राजमार्ग अवरुद्ध बनेको छ।’गत वर्ष पनि लेउति खोलाले यो स्थानमा सडक वगाएको थियो । सोही राजमार्ग अन्तरगत  साँघुरीगढी गाउँपालिकामै रहेको नमस्ते झरना नजिकै पनि बाढीले बाटो अवरोध गरेको थियो। त्यहाँको अवरोध भने प्रहरीले पन्छाएको छ।यसै गरी चौबीसे गाउँपालिका-४ मा छहरे खोलाले तमोर करिडोरको बाटो पनि भत्काएको एसपी क्षेत्रीले जानकारी दिए। यसले धनकुटाबाट पाँचथर–ताप्लेजुङ जोड्ने यातायात मार्ग पनि ठप्प पारेको छ।

झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माइखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन्।

मनसुन सुरू भएसँगै गए राति माइखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा ६० बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति पुगेको छ।

'माइखोलामा सामान्य बाढी आउँदा मात्रै यस्तो अवस्था भएको हो,' अध्यक्ष चाम्लागाईले भन्नुभयो, 'ठूलो वर्षा भयो भने झापा गाउँपालिकाका वडा नं १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ।'

यस वर्ष सदरदभन्दा बढी वर्षा हुने मौसम पूर्वानुमान विभागको सूचनापछि स्थानीयवासीहरूमा बाढीको त्रास बढेको छ।

सरदरभन्दा १५ दिन अगावै शुक्रबारबाट नेपालमा मनसुन प्रवेश गरेको थियो।

मनसुनको पहिलो दिन नै पूर्वमा १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।