म्याङलुङको शीतभण्डार किसानलाई बरदान

अस्मिता सुवेदी, तेह्रथुम ।

सिजनमा उत्पादन भएका फलफूल तथा तरकारी बेसिजनमा बिक्री गर्न पाउँदा कुन उत्पादकलाई आनन्द नआउँदो होला ! साउनमा फलेका नास्पाती मंसिरमा, असोजमा फलेको किबी चैतमा र जेष्ठमा फलेको आलु असोजमा बिक्री गर्न पाए किसानको उत्पादनले पनि राम्रो मूल्य पाउने थियो । मौसमी तरकारी र फलफूलहरू फलेका बेला भाउ नपाएर बिग्रिने र फालिने बाध्यता थियो । तरकारीको अवस्था त्यस्तै थियो । किनकि तीनलाई लामो समयसम्म सुरक्षित राख्न आवश्यक शीतभण्डार (कोल्ड स्टोर) जिल्लामा थिएन । 

किसान र बजारलाई ध्यानमा राख्दै मुलुकका विभिन्न स्थापनमा शितभण्डार स्थापना भएपछि दुर्गम र पहाडी जिल्लामा त्यसको कुनै सुविधा थिएन । जसको कारण नेपाली बजारमा एकातिर आयातित तरकारीको बोलवाला हुने अवस्था थियो भने नेपालमा उत्पादन भएको तरकारीको उचित भण्डारण नहुने कम मूल्यमा बिक्री गर्नुपर्ने वा बिग्रिएर जाने समस्या थियो । केही जिल्लामा शीतभण्डार प्रयोगमा रहेपनि बजारको आवश्यकता धान्न सकेको अवस्था थिएन । उत्पादित वस्तुभन्दा धेरै टाढा बजार भएकोले पनि तराईमा बनेका शीतभण्डारले किसानलाई सहयोग गर्न सकेको थिएन ।  
मुलुक संघीयतामा गएपछि कोशी प्रदेश सरकारले उद्योग, कृषि तथा सहकारी मन्त्रालयमार्फत शीतभण्डारमा लगानी गर्न थाल्यो । दुर्गम र ग्रामीण वस्तिहरुमा शीतभण्डार निर्माण गरि कृषकको आय बृद्धि गराउने सरकारको लक्ष्य थियो । त्यसअनुसार तेह्रथुमसहित विभिन्न जिल्लामा २१ स्थापनमा शीतभण्डार निर्माण भएको छ । जुन किसानको लागि बरदान नै बनेर आएको छ ।


के हो शीतभण्डार
कोल्ड स्टोर अथवा शीतभण्डार भन्नाले बाह्य तापक्रमभन्दा मुनिको तापमानमा कुनैपनि सामान भण्डारण गर्न मिल्ले एक शितल कोठा हो । शित भण्डारको छिट्टै बिग्रने खाद्य सामग्रीलाई सुरक्षित भण्डारण गरेर आवश्यकता परेको बेला बजारमा पठाउन यसले सहयोगीको काम गर्दछ । उत्पादित फलफूल तथा तरकारीलाई जतन गर्न नबिग्रिने गरी राख्ने र चिस्यानको सन्तुलन मिलाउने प्राविधि नै शितभण्डार हो । 
नेपालमा ठूला शीतभण्डारको संख्या ४० को हाराहारी रहेको बताइन्छ । यस्तै, साना शीतभण्डार, जसको क्षमता ८ देखि १० टनका हुन्छ । त्यस्ताको संख्या धेरै छ । शीतभण्डारहरु केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारको सहयोग र निजी क्षेत्रबाट पनि बनेका छन् । ठूला शीतभण्डार अधिकांश निजी छन् । केहीले सरकारी अनुदानसमेत लिएको पाइन्छ । केही शीतभण्डारहरु भारत सरकारको सहयोगमा पनि निर्माण भएका छन् । 
सहकारी संघ संस्थाले सञ्चालन गरेका शीतभण्डार भन्दा निजी स्तरबाट सञ्चालन भएका शीतभण्डारहरु राम्रोसँग सञ्चालनमा रहेको देखिन्छ  । जसको कारण नेपाल सरकारको लगानी भएका सहकारीहरु राम्रोसँग स्थलगत अध्ययनविना स्थापना हुनु र सञ्चालकहरुलाइ नीतिले राम्रोसँग नबाध्दा सञ्चालनमा कठिनाइ भएर करोडौको लागानीमा स्थापना भएका भएका शीतभण्डारी सञ्चालन नभई अलपत्र भएको अवस्था पनि छ ।

प्रदेशको सहयोगमा तेह्रथुममा शीतभण्डार

 

तेह्रथुममा तात्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ३ करोड सहयोगसहित, कियाचु कृषि सहकारी संस्था लि.को १ करोड ४३ लाख र म्याङलुङ नगरपालिकाको १५ लाख गरि कुल ४ करोड ४९ लाखमा लागतमा म्याङ्लुङमा शीतभण्डार बनेको हो । २०७७ पुसमा निर्माण कार्य सम्पन्न भएको १ हजार मेट्रिक टन क्षमताको शीतभण्डारले अहिले जिल्लाका किसानलाई धेरै राहत दिएको छ ।
शीतभण्डारमा ४ वटा कोठा रहेका छन् । १४ रोपनी ४ आना क्षेत्रफलमा निर्माण भएको शीतभण्डार जिल्ला सदरमुकाम म्याङलुङ बसपार्कबाट करिब ३ किलोमिटरको दुरीमा छ । सहकारी संस्थाका अध्यक्ष टंकमाया लिम्बूका अनुसार भवन निर्माण कार्य निर्धारित समयमा सकिएको भएपनि  यसको आन्तरिक व्यवस्थापन केही बाँकी भएकाले चालु वर्षबाट मात्र शीतभण्डार सञ्चालनम आएको हो । जिल्लामा पहिलो पटक प्रयोगमा ल्याएको कारण सञ्चालनमा धेरै चुनौतीसमेत रहेको उनको भनाइ छ ।

 

जिल्लाका म्याङलुङ फेदाप र मेन्छायाम् गाउपालिकासमेतलाई लक्षित गरि निर्माण गरिएको शीतभण्डारको पहिलो चरणमा नै आठराइ गाउँपालिका र लालिगुराँश नगरपालिकाका किसानले समेत किवि, आलु तथा सुन्तला ल्याएर राखेका थिए ।शितभण्डार ब्यवस्थापन उप समितिका संयोजक तथा  सञ्चालक संचालक समितिका सदस्य  मञ्जुलकुमार लिम्बूका अनुसार किसानको उत्साह हेर्दा शीतभण्डार सञ्चालन सहज रुपमा हुने देखिएको छ । पहिलो चरणमा रहेकाले उत्पादक कृषकहरुलाई आफ्नो सामान शीतभण्डारसम्म ल्याउने बानीको विकास गराउन स्टोर गरेको सामानको मूल्य पनि न्युन राखिएको छ । अहिले प्रतिकेजी प्रतिमहिना २ रुपैयाँ ५० पैसामा किसानले आफ्नो उत्पादन शीतभण्डारमा राख्न पाएका छन् ।

तेह्रथुम जिल्ला आलु, सुन्तला, किविलगायतका फलफुलको उत्पादन क्षेत्रको रुपमा चिनिन्छ । तर, किसानको उत्पादनले सिजनमा राम्रो मूल्य नपाउने अवस्था छ । कृषकले स्टोरको अभावमा व्यापारीले तोकेको मूल्यमै आफ्नो उत्पादन बेच्नुपर्ने बाध्यता थियो । यसअघि लागत मूल्यसमेत नपाउँदा पनि कतिपय समयमा उत्पादन बिक्री गर्नुपरेको अदुवा ब्यवसायी निर्मल खतिवडा बताउँछन् । शीतभण्डारको निर्माणले अब किसान र व्यवसायीले पनि राहात पाउने उनको विश्वास छ । 

कुल ४ वटा चेम्वर भएको शीतभण्डारमा यो वर्ष किवि स्टोर गरेर लाभ लिन सफल लालिगुराँश नगरपालिका ८ का किसान देविप्रसाद पोख्रेल आफुले ३ महिना किवि स्टोर गरेर उत्पादनको समयमा भएको मूल्यभन्दा दोब्बर मूल्यमा बिक्री गर्न सफल भएको बताए । यसले आगामी दिनमा थप खेती विस्तारको लागि प्रेरणा मिलेको उनको भनाइ छ । पोख्रेलले विगतमा धेरै किबि उत्पादन गर्ने गरेकोमा यो वर्ष उत्पादन कम थियो । तर, शीतभण्डारमा राखेर तीन महिनापछि किबि बेच्दा बिगतभन्दा बढि आम्दानी लिन सफल भएको उनी बताउँछन् । ‘बिगतमा उत्पादन हुनसाथ व्यापारीले तोकेको मूल्यमा बेच्नुपर्ने बाध्यता थियो’ उनले भने, ‘शीतभण्डारमा तीन महिना राखेपछि अन्यत्रको उत्पादन सकिएको मौकामा बजार पठाउँदा राम्रो मूल्य पाउन सफल भएँ । शीतभण्डारले धेरै राहत दिने रहेछ ।’

कियाचु सहकारी शीतभण्डारका व्यवस्थापक कुमारी लिम्बू शीतभण्डार सञ्चालनमा आएपनि यसको दीगोपनाका लागि उत्पादन भएको फलफुलको सिजनमा पकेट एरियामा गएर शीतभण्डारको बारेमा किसानलाई बुझाइरहेको बताउँछिन् । त्यसमा नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)ले सहयोग गरिरहेको छ । यो कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको उनले बताइन् ।

शीतभण्डारको उपयोगिताबारे नीति निर्माताहरुले बुझेकै कारण अहिले तीनै तहका सरकारले यसमा सहयोग गरेको देखिन्छ ।  नेपाल सरकारको विगत ३ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७८/७९ मा केन्द्र सरकारले मात्र २० करोड ८२ लाख शीतभण्डारमा विनियोजन गरेको थियो । त्यस्तै २०७९/८० मा ७ करोड र आर्थिक वर्ष २०८०/८१ मा १० करोड ८४ लाख रकम विनियोजन गरेको पाइन्छ । प्रदेश सरकार पनि शीतभण्डार निर्माणमा हौसिएर लागेको पाइन्छ । 

शीतभण्डार सञ्चालनमा चुनौति
कोशी प्रदेश सरकारले पनि शीतभण्डारलाई महत्व दिएको छ । हाल कोशी प्रदेशका विभिन्न जिल्लामा  २१ वटा शीतभण्डार निर्माण भएकोमा ६ वटा सञ्चालनमा रहेका छन् । ६ वटा सञ्चालनको अन्तिम तयारीमा छन् भने ९ वटा निर्माण कार्य सम्पन्न भइ केही समय सञ्चालन भएपनि अहिले बन्द रहेको नेपाल कृषि बजार विकास कार्यक्रमका परामर्शदाता कृष्णप्रसाद ढुंगानाले बताए ।

मोरङमै निर्माण भएकामध्ये आधा शीतभण्डार बन्द छन् । करिब ५ हजार टन क्षमताको रामजनकी कोल्स्टोर पिपलचोक विराटनगरमा रहेको कहिल्यै क्षमता अनुसार सञ्चालन नभएको सञ्चालक सुप्रिम रेग्मी बताउँछन् । किसानमा सचेतनाको अभाब हुँदा शीतभण्डार सञ्चालनमा समस्या रहेको उनको भनाइ छ । नजिकै रहेका २ हजार टन क्षमताका स्टर्न र गणेश कोल्ड स्टोर वरगाछीको अवस्था पनि उस्तै छ । विद्युत महशुलमा आधा छुट भएपनि क्षमता अनुसार सामान नआएपछि सञ्चालनमा समस्या छ ।

गणेश कोल्डस्टोर  त खुल्ने वित्तिकै बन्द भएको थियो । यस्तै मोरङकै रंगेलीमा नेपाल-भारत मैत्री समाजले २ दशक अगाडि निर्माण गरेको ५ हजार टन क्षमताको शीतभण्डार अहिले सम्मचल्न सकेको छैन । कोशी प्रदेश सरकारले २०७६/७७ मा १० करोड लागानी गरेर प्रदेशका केही स्थानमा कोल्डस्टोर स्थापना गरेको छ ।

एकतिर शितभण्डारको माग भइरहेको देखिन्छ भने अर्कोतर्फ बनेका शीतभण्डार पनि धमाधम बन्द हुँदै गएका छन् । यसको प्रमुख कारण राम्रोसँग स्थलगत अध्ययनविना लहडको भरमा निर्माण गर्नु रहेको विज्ञहरु बताउँछन् । अर्कोतर्फ विद्युतको नियमित आपूर्ति नहुनु र यसलाइ सञ्चालन गर्न जेनेटरको भर पर्दा लागत मूल्य बढि भएर सञ्चालनमा कठिनाइ भएको अवस्था पनि छ ।
शीतभण्डारसम्म किसानको पहुँच नहुने समस्या पनि रहेको छ । उत्पादित सामाग्री शीतभण्डारसम्म सहज ढुवानीको व्यवस्था नहुनु, भण्डारपछि किसानले उचित मूल्य नपाउनु जस्ता कारणले पनि किसानहरुले आफ्नो उत्पादन भण्डारण गरेका छैनन् । जसले गर्दा शीतभण्डार नै बन्द हुने अवस्था आउने गरेको छ । 

शीतभण्डार बन्द हुनुको आर्को कारण दक्ष स्रोतको अभाव पनि हो । सञ्चालन सम्वन्धि तालिमको अभाव छ । सामान कसरी स्टोरमा राख्ने, त्यसको तापक्रम व्यवस्थापन कसरी गर्ने जस्ता प्राबिधिक ज्ञानको अभाबले पनि शीतभण्डारमा राखिएको किसानको उत्पादन बिग्रने र अर्को पटकदेखि किसान शीतभण्डारमा नआउने अवस्था पनि देखिन्छ । विश्व बजारमा शीतभण्डार पनि आधुनिक प्रविधिमा प्रवेश गरिसकेको छ ।

नेपालमा भने पुरानो प्रविधिमार्फत नै सञ्चालन भइरहेका छन् । सामान्यतयः नेपालका शीतभण्डारको चेम्वरमा एकैचोटी सामान एउटा चेम्बर भरिने गरि राख्ने हो भने उत्पादित भएको सामान सिधै चेम्वरमा लागाइन्छ । तर, पटक-पटक गरेर लागउने हो भने पहिला फिकुलिनमा राखेर बाहिरको तापक्रमसँग भित्रको तापमानमा मिल्ने गरि राखेर मात्र चेम्वर अर्थात स्टोर कोठामा राखिन्छ । 

हालसम्म नेपालमा सञ्चालनमा रहेका शीतभण्डारहरु सिए वायुमण्डल नियन्त्रित (Control Atmosphere) प्रणालीबाट सञ्चालित रहेका छन् । जसमा तापक्रम र आद्रतालाइ मात्र नियन्त्रण गर्न सकिन्छ । हाल विकसित भइरहेका शीतभण्डारहरु हाम्रो छिमेकी देश भारतमा समेत प्रयोगमा ल्याइएका छन् । जसलाई मोडिफाइ एटमोष्ट फेयर कोल्ड स्टोर भनिन्छ । यस्तो भण्डारभित्र वातवरण नै आफूले चाहेजस्तो निर्माण गर्न सकिन्छ । परिमार्जत वायूमण्डल (Modify Atmosphere) प्रविधिमा अक्सिजन कार्वनडाइ अक्साइड र इथाइलिन लगायतका ग्यासहरुलाइ नियन्त्रण गर्न सकिन्छ । यस्तो प्रविधिको शीतभण्डार नेपालको कपिलवस्तुमा मात्र निजी लागनीमा निर्माण भइरहेको गोरखापत्रमा बैशाख ११ जानु पाण्डको लेखमा उल्लेख गरएिको छ । 

यसरी छिमेकी देशमा आधुनिक प्रविधिको प्रयोग भइरहेको अवस्थामा पहाडी जिल्लामा खुलेको  शीतभण्डारले कृषकको आयआर्जनमा बृद्धि गर्ने अवस्था भने देखिएको छ । तेह्रथुमको हरिसे चैते तथा मेन्छायम् र फेदाप पालिकाको उच्च भाग आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ भने साब्ला आम्वुङ पिप्ले सुन्तलाको पकेट क्षेत्र हुन् । त्यस्तै यहाँ अदुवा प्रसस्त उत्पादन हुन्छ । तर, समयमा नै बिक्री नगरे कुहिने भएकाले किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् । किसानहरुमा शीतभण्डारबारे सचेतनाको विस्तार गर्न सकेमा र त्यसको सञ्चालन प्रभाबकारी भएमा किसानको लागि तेह्रथुमको शीतभण्डार बरदान नै हुने विश्वास गर्न सकिन्छ । जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं इस्वोले परीक्षणको लागि आफ्नो किवि शीतभण्डारमा स्टोर गरेकोमा नतिजा राम्रो आएकाले सबै किसानले यसको सदुपयोग गर्नुपर्ने सुझाब दिन्छन् ।