एकिकृत समाजवादीको अध्यक्षमा खनालको समर्थन भुषाललाइ ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा घनश्याम भूसाललाई समर्थन गर्ने भएका छन्।

बुधबार दिउँसो खनाल निवास डल्लुमा भएको छलफलमा उनीहरूबीच एकतावद्ध भएर अघि बढ्ने सहमति भएको हो।

‘हामीबीच राजनीतिक, वैचारिक र सांगठनिक नेतृत्वमा एकतावद्ध भएर जाने समझदारी भयो,’ खनालले हामीसँग भने, ‘मैले उठाउँदै आएका राजनीतिक विचारहरू, वैचारिक कार्यदिशा बहन गर्न उहाँ सहमत हुनुभयो। त्यसपछि हामी एक भएर अघि बढ्ने निष्कर्षमा पुग्यौं।’

तपाईंले अध्यक्षको उम्मेदवारमा भूसाललाई समर्थन गर्नुभएको हो भन्ने प्रश्नमा खनालले भने, ‘मेरो राजनीतिक विचार नै उहाँले बोकेपछि म सहमत भएको हुँ।’

यही असार १६ गतेदेखि २० गतेसम्म एकीकृत समाजवादीले काठमाडौंमा महाधिवेशन गर्दैछ। महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपाल पनि उठ्ने तयारीमा छन्।

सम्मानित नेता खनाल पछि हट्ने देखिएसँगै अध्यक्षमा नेपाल र भूसालबीच प्रतिस्पर्धा हुने देखिएको छ। महाधिवेशनमा १८७८ जना प्रतिनिधि छन्। त्यसमध्ये अधिकांश निर्वाचित भइसकेका छन्। केही जनसंगठन र भूगोलका प्रतिनिधिको निर्क्यौल हुन बाँकी छ। 

महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वको रस्साकस्सी पनि चुलिँदै गएको छ। अध्यक्ष नेपालसहित नेताहरूले सहमतिमार्फत् नेतृत्व चयन गर्ने भने पनि प्रतिस्पर्धाको वातावरण बन्दै गइरहेको छ।

भूसाल समूहतर्फ महासचिवलगायत महत्वपूर्ण बाँकी पदहरूमा को-को उम्मेदवार रहने भन्ने छलफल हुन बाँकी रहेको एक नेताले बताए।