कांग्रेसमा मन्त्री छनोट : सबै गुट सन्तुष्ट

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पार्टीका सबै शक्ति केन्द्र (गुट)लाई भाग दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा पार्टीका सभापति देउवाले सबै गुटको चित्त बुझ्ने गरी निर्णय लिएका हुन् ।

कांग्रेसले पाएका १० मन्त्रालयमा पार्टीका सात शक्ति केन्द्रबिच भागबण्डा भएको देखिन्छ । सभापति देउवा निकट ३, नेता शेखर कोइरालाको कोटामा २, महामन्त्री गगन थापाको १, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइरालालाई १÷१, उपसभापति पूर्णबहादुर खड्कालाई १ र राष्ट्रपति रामचन्द्र पौडेलको कोटामा १ जनालाई देउवाले पार्टीबाट सरकारमा पठाएका छन् ।

देउवा समूहबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा आरजु राणा देउवा, कानुनमन्त्री अजय चौरसियाले अवसर पाएका छन् । सभापति देउवाले आफ्ना विश्वास पात्र, संसदीय दलका प्रमुख सचेतक तथा पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य लेखकलाई शक्तिशाली मानिने गृह मन्त्रालयमा पठाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आफ्नी पत्नी आरजुलाई परराष्ट्र मन्त्री बनाउँदा मधेसबाट चौरसियाले कानुनमन्त्री बन्ने अवसर पाए । देउवाले मन्त्रीका लागि धेरै सांसदलाई बचन दिए पनि अन्तिममा लेखक, राणा र चौरसियालाई रोजेका हुन् ।

यस्तै शेखर कोइरालाले पर्यटनमन्त्रीमा बद्री पाण्डे र कृषि मन्त्रीमा रामनाथ अधिकारीलाई पठाउँदा प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन महामन्त्री थापा सफल भए । देउवाले शेखर–गगन समूहलाई चार मन्त्रीको भाग छुट्याएका थिए । उक्त समूहमा मन्त्री छनोटका लागि लामो रस्साकसीपछि पाण्डे, अधिकारी र पौडेलले बाजी मारेका छन् ।

शेखर–गगन समूहमा जीवन परियार, चन्द्र भण्डारी, हृदयराम थानी, सञ्जय गौतम, रामकृष्ण यादव, सरिता प्रसाईँ लगायतबिच मन्त्रीका लागि हानथाप थियो । शेखर कोइरालाले अधिकारी, थानी र प्रसाईलाई मन्त्री बनाउने इच्छा राखेका थिए । स्रोतका अनुसार महामन्त्री थापाले मन्त्री छनोटमा एक पदाधिकारी हुनुपर्ने प्रस्ताव राखे ।

‘मेरो मन्त्रीमा इच्छा छैन । धनराज दाइ यसअघि मन्त्री भइसक्नुभयो । अब दुई जना पदाधिकारीमध्ये एक जनालाई अहिले र अर्कोलाई पछि पठाउने गरी निर्णय लिऔँ,’ थापाको भनाइ थियो ।

महामन्त्री थापाको प्रस्तावमा नेता कोइराला पनि सकारात्मक भएपछि थानीको ठाउँमा सहमहामन्त्री पाण्डेले मौका पाए ।

पदाधिकारीलाई मन्त्री बनाउनुपर्ने महामन्त्री थापाको प्रस्ताव र शेखरको रोजाइले पाण्डे मन्त्री बन्ने अवस्था बनेको देखिन्छ । पाण्डे मन्त्री बन्दा सहमहामन्त्री जीवन परियार छुटेका छन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले परियार मन्त्रीमा छुट्दा समावेशी र भूगोलको सन्तुलन हुन नसकेको बताए ।

‘समावेशितामा केही गुनासो छ । साथीहरूबाट (शेखर–गगन समूह) समावेशितासहितको नाम आउँछ भन्ने थियो । आन्तरिक समीकरणमा समावेशी नाम आएन,’ उनले भने ।

शेखर कोइरालाले अधिकारीलाई र थापाले पौडेललाई बोक्दा उक्त समूहबाट अन्य सांसदहरू मन्त्रीको दौडबाट बाहिरिए । अधिकारीलाई मन्त्री बनाउन शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाको मुख्यभूमिका रहेका स्रोत बताउँछ । अधिकारी र थपलिया दुवै जना धादिङ निवासी हुन् ।

महामन्त्री थापाले संसदीय दलको चुनावमा साथ दिएका पौडेललाई मन्त्री बनाउनुपर्ने अड्डी कसे । थापाले यसअघि प्रचण्ड नेतृत्वको सरकारमै पौडेललाई मन्त्री बनाउन चाहेका थिए । शेखर कोइराला सकारात्मक नभएपछि पौडेललाई मन्त्री बनाउन थापा असफल भए । अहिले पूर्वस्वास्थ्यमन्त्री थापाकै जोडमा पौडेल स्वास्थ्यमन्त्री बनेका छन् ।

शेखर–गगन समूहका नाममा मन्त्री बनेका तेजुलाल चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले इच्छाएको व्यक्ति भएको कांग्रेसमा चर्चा छ । यसअघि राष्ट्रपति पौडेलको कोटाबाट सुरेन्द्र आचार्य मन्त्री बनेजस्तै यसपटक चौधरीले मौका पाएको देखिन्छ ।

यता पूर्वमहामन्त्री सिंह आफैँ पार्टीको नेतृत्व गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री बनेर ओली सरकारमा सहभागी हुँदा अर्का पूर्वमहामन्त्री शशांक कोइरालाले दिपक खड्कालाई ऊर्जा मन्त्री बनाए । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य खड्का शशांक कोइरालाका विश्वास पात्र मानिन्छन् । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि केदार कार्कीसहितको टोलीले विद्रोह गर्दा खड्काले शेखर कोइराला समूहलाई साथ दिएका थिए ।

कांग्रेसमा नयाँ गुटको अभ्यास गरिरहेका उपसभापति खड्काले ऐनबहादुर शाही ठकुरीलाई वनमन्त्री बनाएर आफ्नो कोटा सुरक्षित पारेका छन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट नेतृत्व गर्दै उपप्रधान तथा रक्षामन्त्री बनेका उपसभापति खड्काले मुगुका जिल्ला सभापति ठकुरीलाई मन्त्री बनाएका छन् ।

 

२०७९ चैतमा प्रचण्ड सरकारमा ९ मन्त्री पठाउँदा देउवाले शेखर कोइरालालाई मात्र भाग दिएका थिए । मन्त्री छनोटमा भाग नपाएपछि महामन्त्री थापा, प्रकाशमान सिंह, शशांक कोइराला लगायतले नेताहरू सभापति देउवासँग रुष्ट थिए । असार १७ मा कांग्रेस र एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि मन्त्रीको दौडमा आफ्नो निवास बुढानीलकण्ठ पुग्ने नेतालाई देउवाले ‘सबैलाई मिलाएर लैजाने’ बचन दिएका थिए ।

‘कसैलाई काखापाखा नगरी सबैलाई मिलाएर लैजान्छु । सबैलाई एकै पटक मन्त्री बनाउन सकिँदैन । केही साथीहरूको अर्को पटक पालो आउँछ,’ देउवाको भनाइ थियो ।

कांग्रेसका एक पदाधिकारीले भने, ‘यस पटक सभापतिले बचन अनुसारको व्यवहार गर्नु भएको छ । मन्त्री छनोटमा सबै शक्ति केन्द्र सन्तुष्ट देखिनु भएको छ,’ ती नेताले भने ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सबैको चित्त बुझ्ने गरी मन्त्री छनोटको निर्णय लिएको बताए । ‘सभापतिले सबैलाई खुसी हुने गरी नै काम गर्नुहुन्छ । समावेशिता र भूगोलको असन्तुष्टि सम्बोधन हुने गरी बाँकी मन्त्री छनोट हुन्छ,’ उनले भने ।

कांग्रेसले दलित समुदायका साथै गण्डकी र लुम्बिनी प्रदेशबाट एक जनालाई पनि मन्त्री बनाएन । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री नियुक्त गर्न बाँकी छ ।