राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान गरिरहेको छ।
यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो। आइतबार पाँचौंपटक म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो।
कात्तिक २ गते पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय दिएको थियो।
त्यसबीचमा रूपन्देहीमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई रूपन्देही लगेर बयानसमेत लिइएको थियो।
उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले लामिछानेसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी भएकोमा पूर्वडिआइजी छबिलाल जोशी र कुमार रम्तेललाई काठमाडौं ल्याएर बयान लिइसकेको छ। छबिलाल जोशीलाई शुक्रबार मात्रै कास्की फिर्ता गरिएको थियो।लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ।
यस्तै जिल्ला अदालत चितवनबाट पनि रवि लामिछानेविरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ।