सन्ध्या पन्धाक / रेडियो तेह्रथुम / फागुन २१- डच भाषाशास्त्रीद्धारा ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्याण्ड’ पुस्तकको म्याङलुङमा विमोचन भएको छ । म्याङलुङ नगरपालिकाको सहयोगमा एक कार्यक्रमबीच बुधबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुस्तकको विमोचन गरिएको हो । लेखक जर्ज भान ड्रिम विश्वका विभिन्न १० भाषाका विज्ञका रूपमा परिचितछन्।
सो पुस्तक विमोचन कार्यक्रमा नेपालको कुम्भकर्ण तथा धौलागिरि हिमाल क्षेत्रबाट सम्पूर्ण मानव जातिको विस्तार भएको भान ड्रिमको खोज प्रमाणित भएमा र तेह्रथुमको फेदापबाटै भोट बर्मेली भाषा परिवारको विस्तार भएको प्रमाणित भएमा संसारभरका मानवशास्त्री र भाषाशास्त्रीका अध्ययनको केन्द्रका रूपमा तेह्रथुम बन्न सक्ने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताए ।
पुस्तक फेदापे लिम्बू भाषा अध्ययन गर्न चाहनेका लागि उपयोगी हुने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । विश्व समुदायको दस्तावेजको इतिहासको रूपमा रहने यो पुस्तक तयार पार्ने लेखकप्रति आभारसमेत व्यक्त गरे ।
लिम्बू समुदायका नयाँ पुस्तामा भाषा हराउँदै गर्दा विदेशी नागरिकले फेदापे लिम्बू भाषाको ग्रामर समेटिएको पुस्तक प्रकाशन गर्नुले अव आफ्नो भाषा संरक्षणमा गम्भीर देखिनुपर्ने मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादववहादुर खापुङले बताए ।
हल्यान्ड निवासी जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ तत्कालीन तम्फुला गाउँमा छ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेका थिए । लेखक जर्ज भान ड्रिम आफू हल्यान्डस्थित भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्हरूको चिनियाँ भोट बर्मेली भाषाको पुरानो रूप लिम्बूवानमा भेटिन्छ भन्ने अनुसन्धानात्मक पुस्तक अध्ययनपछि प्रोफेसरहरूले आफूलाई नेपालको लिम्बूवान् क्षेत्रमा पठाएको स्मरण गरे । उनले स्थानीय नारायण लिम्बूको सहायतामा लिम्बू भाषाको अध्ययन गरेको उल्लेख गरे ।
सन् १९८७ मा जर्मनको ब्रिटर पब्लिसिङ हाउसले प्रकाशन गरेको सो पुस्तकको संस्करण नेपालस्थित स्विस राजदूतावासको सहयोगमा जगदम्बा प्रकाशन, काठमाडौंले प्रकाशित गरेको हो ।